ए समाचारका पेटाराहरू
मेरा इन्द्रियबाट छिरेर
मस्तिष्कमा नबज्र
उही बासी समाचार
टाउको दुख्ने समाचार
उप्m ! कस्तो समाचार !
पहाडका मनमनमा डढेलोको समाचार
तराईका वस्तीवस्तीमा आँधीको समाचार
हिमालका काखकाखमा पसिनाको समाचार
र, आँखाआँखामा आँसुको समाचार
पढ्न–हेर्न–सुन्न दिग्दार लागेर आउँछ।
अहो ! कस्तो नियति
विनाअर्थको खबरले धेरै थकित छु
थकित मान्छेले आराम खोज्छ
आराम भनेको निदाउनु पनि हो
अहिले म मस्त निद्राको खोजीमा छु
मलाई मीठो निद्रा देऊ।
पहाडको आगो निभेको
हिमालको पसिना सुकेको
तराईको आँधी रोकिएको
घर छोडेर उडेका पक्षीहरू गुँड फर्किएको
तराई–पहाड–हिमालले आपसमा अंकमाल गरेको
मान्छेको जात एउटै भएको
हिमाल हाँसेको
नेपाल बाँचेको
हो, यस्तै यस्तै समाचार
लोरी बनेर
मेरो कानमा गुञ्जिन देऊ
तब मात्र म मस्त निदाउन सक्छु
कृपया मलाई आमाको काखको निद्रा देऊ।
प्रताडित मुटुभित्र देश दुखेको बेला
देशै पनि अनिँदो हुँदोरैछ
हो, म त्यही अनिदो देश ओढिरहेछु
अनिदो आँखामा सपना नफुल्दो रैछ
चैनको रात सन्तुष्टिमा निदाउँछ
म चैनको निद्रा
सन्तुष्टिको निद्रा
शिशु निद्रा खोजिरहेछु
र, आमाको काखको निद्रा खोजिरहेछु
म ढुक्कले भररात निदाउन चाहिरहेछु
कृपया मलाई आनन्दको निद्रा देऊ।
