बाबाले सम्झनु एक पाहुना झैं थियो सुत
आमाले नरुनु कैल्यै कतै टाढा गएँ म त
केहि वर्ष सँगै बस्दै काम गर्ने श्रमीक झैं
सम्झनु एक झिल्को त्यो हरायो केहि बेरमै
दाजु र भाईका निम्ति घनिष्ट मित्र सम्झनु
द्यौराली खर्क चौतारी सहयात्री भनिदिनु
चेलीको दृष्टिमा प्यारो सप्तरङ्गी टिका अनि
प्यारा छन् तीज तिहार कसरि बिर्सनु भनि
यात्रामा प्रीयको भेट केहि माईल मात्र भो
घनिष्टता बढ्यो आफैं नमेटिने चिनो रह्यो
आज या भोली छ पक्कै छुट्नुपर्ने कसैगरी
हिजो थ्यौ एकलै भोली हिड्नु एक्लै उसैगरी
बन्धु बान्धव छन् सारा गाउँका अगुवा जन
मित्र वा प्रीयजन् कोहि भयो नाटक झैं किन
थिएनन् कोहि आफन्त न कोहि दुष्मनै थिए
भोटिए पथमा हिड्दा आफ्नो बाटो सबै गए
बाटोको यात्री झैं आयो भेट्यो चौतारीमा अनि
गाँसियो मनको नाता प्यार माया गढ्यो पनि
साथ भो दुखका केहि क्षण मात्रै भएपनि
बिर्सिनु सपना जस्तै प्यारो लाग्दै गएपनि
जसरी आउँछन् ज्यामी ज्यालामा काम खातिर
त्यसरी सम्झनुहोला पर्दछ जानु आखिर
रोएर हुन्छ के कैल्यै फर्कंदैनन् गएपछि
साथ प्यारो त को हुन्छ जाने एक्लै भएपछि
