१.
जब असल मान्छे सप्रिन्छ
भनिन्छ तब ऊ कवि बन्छ
जब कवि बिग्रिन्छ
तब ऊ शब्द-वैज्ञानिक बन्छ
र
तौलिन थाल्छ
आफ्नै छायाको वजन ।
२.
जब कवि बिग्रिन्छ
तब रन्दा लगाउन थाल्छ मुटुमा
आकाशमा या फूलमा
वा
आँशुका ढिक्कामा
सपनाको जहाज चलाउन थाल्छ
र
जोख्न थाल्छ कल्पनाको वजन ।
३.
जब कवि बिग्रिन्छ
तब पूर्वलाई पश्चिम र
पश्चिमलाई पूर्व देख्न थाल्छ
फूलमा ढुङ्गा र ढुङ्गामा फूल लेख्न थाल्छ
उसलाई देखेर हाँस्नेहरू देखेर
रुन थाल्छ
उसलाई हेरेर रुनेहरू देखेर
हाँस्न थाल्छ
र
तौलिन थाल्छ
हृदयको वजन ।
४.
जब कवि बिग्रिन्छ
कोरिहिँड्छ असीमको सीमा
र
जोख्न थाल्छ फूलको बासनाको वजन ।
५.
उसको हृदयको डिजिटल तराजुमा
अटाउँछन् सबै अदृश्य चीजहरू
र आँखाको स्क्रिनमा देखिन्छन्
अलग अलग चीजहरूका
अलग अलग वजनका अङ्कहरू
आफू निर्भार रहेर
धर्तीको भार घटाउँछ हेर ।
६.
जब कवि बिग्रिन्छ
झन् सुन्दर कविता बन्छ ।
नरेन्द्र पराशर
http://narendraparasar.blogspot.jp/2014/01/blog-post.html
