समरको एक दिन साझँ ढल्कँदै गर्दा ऊ मेरो घरमा आई । सुटुक्क मेरो छेऊमा बसी । एकोहोरो नियाली मलाई परदेशी र अपरिचित मानिसलाई झैँ । ऊ पुरापुर नौली भइसकेकी थिई । पुष्ट यौवन झोलिएको थियो । टिलिक्क टल्किएका र लहरै मिलेका दाँतहरूमा लेऊ भरिएका थिए । अनुहार चाउरिएर ऊ, भिन्न देखिन थालेकी थिई । जीर्ण र थोत्रिएको जीवन बोकेर अचानक ऊ फेरि मेरो ढोका हुँदै प्रवेश गरेकी थिई मझेरीमा ।
मलाई उसको प्रवेश त्यति अनौठो लागेन । तर यति चाँडै रुप थोत्रिएकोमा भने म आश्चर्य चकित भएको थिएँ । ऊ मेरो मझेरीमा आउनुको कारण उसको अन्त जाने ठाउँ सकिएको पनि त हुन सक्छ ।
जीवनले तीस थान हिँउद नकाट्दै उसको जीवन यति बिघ्न उराठ र पट्यार लाग्दो किन बन्यो ? किन निचोरिई ऊ निवुवा झैँ रुप र यौवनबाट ? कतै हिजोका बढप्पन र घमण्डहरूले त ऊ कमजोर भएकी हैन ? प्रश्न भुँईमा झर्न नपाउँदै ऊ अनायसै आशुँ मिश्रित बन्छे । तप्प तप्प आशुँका थोपा मझेरीमा झार्दै व्यथा ओकल्छे । भक्कानिँदै । च्यातिएका कितावका पानासरी ऊ आफैँबाट मेटिएको कथाकी अमूर्त पात्र झैँ खडा हुन्छे । म चुपचाप मुद्रामा उसलाई नियाल्छु । पुराना स्मृतिहरू एकसाथ अगाढी उभिन्छन् । पृष्ठभूमिमा झ्याउँकिरीहरू गाउँछन् वियोगान्त गीत । क्रमश : यादहरूमा बादलमा लाग्छ । मुहार तुवाँलोले ढाक्छ । वरिपरिका दृष्य धमिलिन थाल्दछन् । एक्कासी चुक घोप्ट्याएको अँध्यारो बढ्छ ।
हठात् ऊ भाव बदल्छे । पुराना याद मिल्काएर बाटो बदलौ भन्छे । समय अघिभन्दा अहिले निकै पर पुगेछ । यादहरू मेटिएछन् । नचाहेर बदलिएको बाटोमा भेट हुँदा चाहेर नि अपरिचित बन्नुपर्ने भएछ । साँच्चै म बदलिएको उसलाई थाहा नहुन सक्छ तर म ज्ञात छु म बदलिएँ । हो साँच्चै बदलिए म ।
जति बेला मेरो आशुँको ठुलो मोल थियो उसले मेरो आँशु लत्याएर आफ्नो अनमोल यात्रा रोजी । मेरो हृदयको भाव कुल्चेर त्योभन्दा ठूलो भाग खोजी । साँच्चै मेरो लागि त ऊ मरिसकेकी थिई । त्यो दिन देखि आज सम्मको यात्राको क्षती पूरण कसरी हुन्थो । आज उसले जुन धोका खाई, त्योभन्दा ठूलो चोट बेहोर्न मलाई बाध्य पारेकी थिई । उसको आशुँ बलेसीमा झरेको पानीभन्दा भिन्न थिएन मलाई झर्छ, भिज्छ सुक्छ र ओभानो हुन्छ आफैँ ।
उसले मेरो ध्यान बथानेर मनका व्यथा ओकली पुरापुर । के सोच्छे उसले आफूले आफूलाई ? उसको यौवन गन्धमा अब म लट्ठिन सक्छु ? हिजो यौटा समय थियो । मलाई उसको भर्भराउँदो यौवनले पोल्थ्यो । उसको यौवनको बाछिटाले म निथु्रक्क हुन्थेँ । सम्हालिन गाह्रो हुन्थो । म हरक्षण उसको प्राप्तिमा तड्पिन्थेँ । मैले उसलाई चाहेको बखत ऊ टाढिई मभन्दा राम्रोको खोजीमा । उसको ऊ पनि उभन्दा राम्रोको खोजीमा टाढियो होला ? के नै अप्रिय भयो र ऊ पनि त्यही ‘दोभाषे’ चरित्रकीभन्दा कहाँ भिन्न थिई र मेरा लागि । म किन उसको सहानुभूतिमा आफूलाई मारौँ अब फेरि ?
क्रमशः उसका आँखामा आशुँ सिद्धिए मेरो समवेदनाहरू पनि रित्तिए । ऊ आफैँ बाहिरी मझेरीबाट । म उद्देलित भएँ । कतै मेरा शव्दको भावबाट मृत्यु अँगाली भनेँ ? डर र करुणा एक साथ पलायो । पुरा रात ऐठनमा बित्यो झुल्के घाम दिन डाक्दै उठ्यो । उनी खै कता लागिन् ? सायद कतै, भित्तो चहार्दै होलिन् ।

mitho
Laghu-katha sundar lagyo.