अविवाहितले लिने व्रत-राम्रो वर पाउँ, भविष्यमा सुख होस भन्ने कामना । विवाहितले लिने व्रत-स्वामीको दीर्घायु र सुस्वास्थ्यको कामना ।
उत्तरपूर्व भारतमा फिलोसोफी अफ फियरिज्मको आधारमा बसिबियाँलो हुँदै आएको छ । भारत असमका रण काफ्लेले गर्दै आएको बसिबियाँलोको चौधौं शृंखला कार्विआङ्गलाङ्ग जिल्लाको तुम्रेङ्ग, हाल्डीपु्रङ्गमा यही २८ अगस्ट, २०१४मा सम्पन्न भयो ।
सनातनबाट मान्दै आइएको यस तीज पर्वमा अविवाहित कन्याले राम्रो वर नपाइने, भविष्यमा दुःख, कष्ट पाइने भयले र विवाहितहरूले श्रीमान्को दीर्घायु हुँदैन कि भन्ने भयले व्रत बस्ने प्रचलन छ । यस्तै भयहरूबाट मुक्ति पाउन, न्यून गर्न विवाहित, अविवाहित कन्याहरू व्रत बस्ने यो चलन आदिमकालबाट चल्दै आएको हो । भयवाद दर्शनमा रहेर रण काफ्लेले यसभन्दा अघि दशैं, तिहार, माघे संक्रान्ति बारेमा बसिबियाँलो गरिसकेका छन् । पौराणिक र आधुनिक संस्कारहरूको बीचको धर्मसंस्कार, परम्परा टुटेकोमा काफ्लेलाई बढी चिन्ता छ । धर्मसंस्कार लोप हुने, नासिने भयले उनले भयवाद दर्शनमा रहेर गाउँ डुल्दै परम्पराको जगेर्ना गर्न यो शृंखला चलाएका हुन् ।
यसै सिलसिलामा चौधौ शृंखला हाल्डीफ्रुङ्गमा सम्पन्न भयो । असम राज्यमा यो कार्यक्रम लोकप्रिय हुँदैछ । धेरैले सुनेका छन्, त्यसैले यसपटक पनि उत्साह जनकरूपमा करीब ५० जना महिलाहरूको उपस्थितिरहेको थियो । उनीहरूले एकछिन भएपनि आ-आफ्ना चिन्ता, पीर र भय बिर्से । उनीहरू घरको पीर, माइतीको कर, माइतीको माया, लोग्नेको अत्याचार, लोग्नेको माया, सासूको खटन, बुहारीको आधुनिकता, सम्पत्तिको लोभ, ईश्वरको आराधना, मनको आकाङ्छा सुनाउन, भुल्न, बिसाउन तीजमा भेला थिए ।
स्थानीय किर्तन मण्डलीको आयोजनामा सम्पन्न यस कार्यक्रम सबैलाई आफ्नो लाग्यो । सबैले खुलेर गीत गाए, नाचे । कहिले खुशी भए, कहिले भावुक । पूर्णकलादेवी, कमला गौतम, जयन्ती देवी, सुनिता पौडेल, देवी ढकालहरूले तीजको बसिबियाँलोमा भयवादी स्वाद पाए ।
बीचबीचमा छलफल, प्रश्नउत्तर भयो । सञ्चालक रण काफ्लेले सबैलाई प्रश्न गरे, “तीज मान्नुको कारण के हो ? ईश्वरको डर, भविष्यको डर, स्वामीको अल्पायुको डर या परम्परा नासिने डर ?”
जवाफमा मायापुरीले “परम्परा मासिने, स्वामीको अल्पायु हुने, ईश्वरलाई रिझाउन नसक्दा कष्ट हुने, परम्परा मासिने सबै डरको कारणले तीज मानिन्छ” भनिन् ।
कमला गौतमले तीजको महत्व बताइन्, पूर्णकला गौतमले परम्परा मासिने र आधुनिक परिवर्तनले दिने भयबारे विचार व्यक्त गरिन् । संस्कार, विसँगति, नारीका पीडामाथि धेरै चर्चा भयो । कार्यक्रमका पर्यवेक्षक उमादेवी गौतम गुहाटीबाट आएकी थिएन् । कार्यक्रमको समिक्षा शिक्षिका मिना पौडेलले गरेकी थिइन् । स्थानीय ग्राम प्रमुख रत्नबहादुर गुरागाँई र किर्तन मण्डलीकी पदमामाया पुरीलाई सञ्चालक काफ्लेले टोपी र खदा ओढाएर अभिनन्दन गरे । तुलसीको मठमा चौधवटा मैनबत्ती जलाएर रत्न बहादुर गुरागाँईले बसिबियाँलोको यो शृंखला उद्घाटन गरेका थिए । गुरागाँईले मन्तव्यको क्रममा “हर एक चेलीले, आमाले यो परम्परा बचाइ राख्नुपर्छ” भनेर आव्हान गरे । अन्त्यमा तीज गीत गाएर कार्यक्रम बिसर्जन भयो ।
रण काफ्ले
भारत, असम

