उनी आइन मेरो छेउ
र भनिन लामो श्वास फेर्दै
के नपुग्या हो कुन्नि
जति गर्दा नि भएन
भनेको मानेकी हुँ
अह्राएको नि गरेकी हुँ
सके जति आवश्यकता पुरा गरेकी हुँ
जति सक्या छु त्यति खुसी पार्न खोज्या हुँ
ऊ गर्छ बिराम मैले पाउँछु दोष
भए भरको कमी कमजोरी मै माथि
गोली हान्छ शब्दको
जवाफ दिंदा पाउँछु झटारो
मन मस्तिष्क भरी राज गर्छ बिकृति
त्यस पछि प्रहार गर्छ
र भन्छ मुख नचला
कति सहने सीमा नाघ्यो
म परें गृहणी घरको काम जान्दछु
दोषीको पात्र भै रहनु शायद नियति
ऊ संसार देखेको मान्छे
मैले नदेख्नु मेरो कमजोरी
यही कमजोरीको फाईदा उठाउँछ ऊ
कि वार कि पार भन्छु
लान्छनाको चट्याङ बर्सन्छ
यी सबै कुराहरू सुनाएर
शायद उनी आफ्नो मन हल्का
गर्न खोजेकी होली
अनि कुनै सल्लाह, सुझावको अपेक्षा
जसरी एउटा रोगीले डाक्टरबाट पाउँछ
जसरी एउटा पिडितले कानूनबाट पाउँछ
जसरी एउटा विद्यार्थीले शिक्षकबाट पाउँछ
राहतको खोजीमा छे उनी
या कुनै विकल्प
मैले के भन्नु ?
भन्न केही सक्दिन
अहँ सक्दै सक्दिन
झरेको आँशु पुछ्न बाहेक
सहानुभूतीका दुई शब्द दिन बाहेक
किन भने म पनि ती सबै कुराबाट
अछुतो छुइन र हुन सकिन त
कदापि हुन सक्दिन पनि
उनी र म त्यही परपिडकको
शिकार बनिरहेका छौं
र बनिरहने थुप्रै आमा, दिदी, बहिनीहरू छन्
दुःख, पीडा, समस्या तिनै हुन
फरक मात्र माध्यम हो
केवल फरक मात्र माध्यम हो
लागि परौं निकाश होस
हुनु पर्छ पनि ।
२०६८।९।२५
