Skip to content

शहिदहरूको सम्झनामा



ए ! शहिद हो
तिमी मरेर के भयो ?
हाम्रो पीडा उस्तै, व्यथा उस्तै
देश अव्यवस्थामा नै रह्यो

तिमी हाँस्दै फाँसि चढ्यौ
शिर उँचो पार्दै गोली खायौ
व्यवस्था बदलिए, व्यथा त्यही
पात्र बदलिए, प्रवृत्ति उही
खै, हामीले के पायौँ ?

तिमी त एकचोटी मरेर गयौँ
हामी पलपल मरेर जिइरहेछौँ
तिमी त हाँसी हाँसी बिदा भयौँ
हामी त पीडाका आँशु पिइरहेछौँ
तिम्रो बदिलदानबाट देशले के पायो ?

राष्ट्रियता झिनो बन्दैछ
सहानुभूति साँघुरो हुँदैछ
सद्भाव टुक्रिँदैछ,
चित्कार उस्तै छ,
समाज त्यस्तै छ
खै, देश के भयो ?

फगत तिम्रा नाम भजाएर
निमुखाहरूलाई
शहिदका पंक्तिमा उभ्याएर
सत्ताका सिँढी उक्लनेहरूले
पाए होलान् /खाए होलान्
तर
तिमी जस्तै लाखौँ अनुहारहरू
अँझै गरिबीसँग निर्मम जुधिरहेछन्
अभावमा पिल्सिरहेछन्
पलपल मरिहेछन्
जिँउदो लास बनेर बाँचिरहेछन्
रत
तिम्रो मृत्युको घोर अपमान भो
तिम्रो स्वाभिमानको बदनाम भो
मेरो देश साँच्चै गुमनाम भो
मेरो देश साँच्चै गुमनाम भो ।

शहिद दिवसको सन्दर्भमा सम्पूर्ण ज्ञात/अज्ञात शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *