Skip to content

दौरा सुरुवाल नपठाइदिने भएँ !


स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामर्थ्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् । उप्रान्त यहाँ हामीलाई सञ्चै छ, तपाईंलाई काठमाण्डूको फेसने भूत लागेर टाउको टोपीसँग चपाई सक्यो भन्ने समाचार सुन्दा हामीलाई ज्यादै दिक्क लागेको छ । तपाईंले एकजोर दौरा सुरुवाल पठाइदेऊ भनी लेखेको पत्र हात पर्यो । ६ पैसाको टिकट टाँसेका पत्रबाट हामीलाई छ छक्का छत्तिस पैसाको छक्क लाग्यो । नेपाले सुचिकारले समेत दौरा सुरुवाल सिउन बिर्सिसके भन्ने तपाईंले लेख्दा तपाईं स्वयम्ले पनि दौराको तुना पिठिउँपट्टि बाँध्ने हो कि भुँडीपट्टि बाँध्ने हो राम्रै सम्झनु भएको होला भन्न म सक्तिनँ । अब बिनसित्ति रिन गरेर दौरा सुरुवाल त्यहाँ पठाइदिनु जरुरत छैन । किनभने हाँसको माझमा बकुल्लो बनेर पक्कै पनि तपाईं त्यहाँ दौरा सुरुवाल लाउनुहुन्न । तब यहाँ राखे पनि त्यहाँ राखे पनि आखिर पोको पारेर राख्ने नै बुझियो । त्यसो भए म यहीँ कुप्रिआमैको सन्दुसमा पोको पारेर थन्क्याइ दिउँला । कतै नेपाली लुगाको कुरा चल्यो भने मेरो पनि घरमा नभएको होइन भनी कड्किदिनू, कुरो टरिहाल्छ ।

तपाईंले यसरी दौरा सुरुवाल मागी पठाउँदा भाउजूको इज्जतको पनि विचार गर्नुपर्ने हो । त्यो मेनका र उर्वशीले इन्द्रको प्राइभेट रङ्गमञ्चमा बलडान्स गर्दा पनि लगाउन नपाउने नाइलिनको ऐना समान उज्यालो गुन्यु, मिर्गबाहुले शानदार पेरिसकट चोली, चिटिक्क परेको फुर्कादार फुलबुट्टे गलबन्दी लाएर काठमाण्डूका पीचरोडमा पुरेतले रेखिहाले झैँ पाउडर बुरबुर पारेर महिषासुरको रगतमा रङ्गिएको ओठ लप्लपाउँदै हिँड्ने चण्डी जस्तै चपर्चण्डी भाउजूका लागि घरबुने सुरुवाल भिरेको जुल्फीले ठ्याप्प छोपिने गरी कालो कौवा जस्तो टोपी लाएको देख्तै देउपुरबाट जुनार बेच्न आउने जिङ्रिङ्ग परेको मानिसलाई आफनो पतिदेव भनी परिचय गराउन कति शर्म लाग्ला । मुखभरी पाउडरको विगुत घसेर त्यो चुराहीन स्वच्छ हातमा प्लाष्टिकको झोली झुण्डाएर मानौ सौभाग्यको भीख माग्न हिँडे झैँ घरी रञ्जना घरी पारस घरी जनसेवा घरी कल्याणका ढोकाढोका चहारी हिँड्दा तपाईंले चाहिँ दौरा सुरुवाल लाएर पछि लाग्नु कहाँसम्म बेइज्जतीको उदाहरण देखिएला । त्यसप्रति पनि तपाईंले सोच्नुपर्ने हो । भाउज्यूको इज्जत बचाउनु कुनै पनि देवरको परमकर्तव्य भएकोले पनि मैले तपाईंलाई दौरा सुरुवाल पठाइदिन हिचकिचाएको छु । २००७ सालदेखि यता काठमाण्डूमा कतिसम्म नारी जागृति आइसकेको छ, त्यो तपाईंले नलेखे पनि म केही न केही बुझ्दछु । भानुभक्तको ‘अमरावती कान्तिपुरी नगरी’लाई सार्थक बनाउन कान्तिपुरका चपला–अवलाहरूले साँच्चैका परी बनी आफ्नो कपालको खुस्बु, वदनको खुस्बु, लुगाको खुस्बु चालढालको खुस्बु र मालामालको खुस्बुले साँझबिहान काठमाण्डूका गल्ली–गल्लीमा रहेका दुर्गन्धलाई सुवासमय बनाउने गरेका छन्, जसले गर्दा नगरपालिकालाई समेत बाटाघाटा कुनाकाप्ची कतै सफा गर्नै नपर्ने भएको छ रे ! यसर्थ यसरी तँछाड् मछाड् गरी दिन दुना रात चौगुना बढ्दै गएको नारी जागृतिको युगमा दौरा सुरुवाल लगाएर आँखाको कसिङ्गर बन्नु कति नमज्जाको कुरा हुन्छ ।

जहाँ आफ्प्नो अनादर हुन्छ त्यहाँ बिर्सेर पनि नजानु भनी शास्त्रकारले भनेका छन् । त्यहाँ तिम्रो ज्यादै अपमान हुन्छ नजाऊ भन्दाभन्दै सतीदेवी आप्फ्ना बाबुकहाँ गइदिएकोले आगोमा हामफालेर मर्नु पर्यो । तेत्तीस कोटि देवताका तस्वीर भएका बुससर्ट र भित्रबाहिर गर्दा पनि उर्गलको उच्चासन खोज्ने पाइन्ट तथा जुँगाको औताली पाएर मर्दनापन देखाउन कस्सिएका कण्ठे पुच्छरहरूको त्यस्तो महारिमीझिमीमा गजे कटुवालले सिएका घरबुने दौरा सुरुवालले कति भीषण अपमान सहनुपर्ला त्यो मैले सोचेको छैन र ? कतै महादेवले आफ्नी प्रेयसी खोजेझैं तपाईं पनि बौल्हाएर ह्वाङ्ल्याङ् ह्वाङ्ल्याङ दौरा सुरुवालको देहावशानमा डाँडैडाडा कुद्नु त पर्ने होइन ? इत्यादि कारणले गर्दा मैले दौरा, सुरुवाल र टोपी पठाइदिन सकिनँ, रिसानी माफ ।

“हालखबर”
२०१५ कार्तिक ८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *