मनको घाउ, दुखेर रुन्छु, होइन तनको
भन्देउ प्रिया, होइन भनी, भिखारी धनको
प्यारी, पिडा मनको
मागेको थिएँ, पिरती तिम्रो, किन खै बुझिनौ
बगाई आँसु, हसाकै थिएँ, आखिर रुझिनौ
प्यारी, मर्म बुझिनौ
दिएर माया, हिजो र अस्ति, पागल बनायौ
लुकेर अनि, मलाई मार्न, खाडल खनायौ
प्यारी पागल बनायौ
बुझिनौ मेरो, मनको मर्म, तिमीले आखिर
रहिछौ स्वार्थी, दुखिको खोसी, खायौ नि जागिर
प्यारी तिमीले आखिर
अमृत भनी, तिम्ले मलाई, खुवायौ जहर
वैंशले गर्दा, एकलै तिम्ले, लुट्यौ नि शहर
सानु, दियौनी जहर
लुटेर गयौ, सर्वस्व सारा, पारेर जालमा
आयो नि काल, लिएर जान, यही सालमा
प्यारी, पारेर जालमा
रुदैछु आज, पिटेर छाती, जादैछु मरेर
सकिन तिम्रो, त्यो मन जित्न, केहीनी गरेर
सानु, जादैछु मरेर
जादैछु आज, खरानी बनि, हावामा उडेर
चाहेर पनि, सक्दिन फेरी, आउन फर्केर
सानु, हावामा उडेर
मरेर गयो, नभने प्रिया, श्वास चै चलेन
जलेर गयो, तन चै मेरो, आत्मा नि जलेन
कान्छी, श्वास चै चलेन
आँखाले आज, आँसुको मुल्य, किन खै बोलेन
मनको पिर, छातिले आज, खोल्दा नि खोलेन
दैव, किन खै बोलेन
लाग्दछ माया, जतिनै तिम्ले, हेला नि गरे नी
हासोको साटो, आँसु दिनेको, फेलामा परे नी
दैव, हेला नि गरे नी
कविता {१६ अक्षरे वार्णिक छन्द }
