कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी दौडाउँछ, त्यसलाई कुमार भनिन्छ भनी तिमीले जो भन्यौ त्यो मनासिवै हो । तर कुमारको यो अर्थ त्यस बेला मात्र लाग्ने छ, जब सभ्यताको चरमचुलीमा पुगेको मान्छे पुनः प्राकृतिकतातिर फर्कन लाग्छ । त्यसमाथि पनि यौनिक स्वतन्त्रतातिरको प्रत्यावर्तन विकसित देश, सभ्य समाज र संभ्रान्त परिवारका कुमार कुमारीहरू नकस्सिई संभव हुँदैन । त्यसैले हे अगस्त्यमुनि ! म जस्ता कुमारहरू त्यसबेला मात्र तिमीले लगाएको परिभाषामा पुग्न सक्नेछन्, जब सागरदेखि सगरमाथासम्म अनेकानेक अवतारहरू लिएर कामदेवका भान्जाभान्जीहरू पश्चिमबाट ओइरो लाग्ने छन् । हिप्पी हिप्पिनी नामधारी यी बहुभेषीहरूको वाहुल्य भएपछि वास्तविक अर्थमा दक्ष प्रजापतिको परजन्य मत्र्यमण्डलमा सार्थक हुनेछ ।

कुमारजीको यो भविष्यवाणी सुनी अगस्त्यमुनि प्रश्न गर्नुहुन्छ– हे कुमारजी ! तपाईं त्रिकालदर्शी कुमार हुनुहुँदो रहेछ । तर तपाईंले मलाई स्वस्थानीको कथा बताउँदा दक्ष प्रजापतिको परजन्मबारे केही पनि सुनाउनु भएको थिएन । अहिले संयोगवस प्रशङ्ग उक्किएको बेला सो पनि सुनाइ दिनु भए म बूढाको थोत्रो जिज्ञासा पूरा हुने थियो । अगस्त्यमुनिको यो प्रश्न सुनी कुमारजी आज्ञा गर्नुहुन्छ– हे महर्षि ! जब वीरभद्रले बोकाको टाउको ल्याई दक्षप्रजापतिको गिँडमा गाँसेर कृत्रिम शीरजडानको कठिन शल्यक्रिया सम्पन्न गरेथे, दक्षप्रजापति जुरुक्क उठेर यताउति गर्दै ‘म्याययय’ गरी कराउन थाले । उनकी विधवा भइसकेकी पत्नी विरणीले पुनः सधवा हुन पाएकोमा दुई थोपा हर्षाश्रु नत्थसम्म झारिन् । अनि, हत्त न पत्त उनले आफ्ना पुनर्जीवित पतिलाई स्वागत गर्दै दुबाको माला के पहिराउन लागेकी थिइन्, दक्षप्रजापतिले पत्नीको हातमै थुतुनो लगेर माला चपाई दिए । विरणी जिल्ल परी टोलाइन् । टाउको पछाडि फर्केका र खुट्टा अगाडि फर्केका उनका पतिदेव भरखरै विध्वंश भएको मण्डपमा आइमाईको गन्ध सुँघ्दै लरबरिन थाले । तर दृष्टि र गति बेग्लाबेग्लैतिर फर्केकाले उनको लरखर विचित्र भयो । जब उनी सिङ् उज्याएर कसैलाई झम्टन खोज्थे आफ्नै गोडाले उनलाई अर्कोतिर पुर्याइदिन्थ्यो । जब उनी गोडा उफारेर दगुर्न खोज्थे आफ्नै दृष्टिले उनलाई धोका दिन्थ्यो । फलस्वरूप उनी बराबर भ्याङल्याङ भ्याङलाङ लड्थे, विरणी हात समाएर उठाउँथिन् । उठिसक्ना साथ उनी पत्नीको हात टोकी उफ्रेर भाग्न खोज्थे तर फेरि भुईंमा भ्याङ्ल्याङ्ग पछारिन्थे र घिच्रो पसारेर म्याँ गर्थे । प्रजापतिको जिउ र अजापतिको टाउको लिएका दक्षको यो दशा देख्ता उपस्थितहरूलाई हाँस्नु न रुनु भयो । विरणीले साह्रै दिक्क भएर वीरभद्र र महाकालीसित पुनः प्रार्थना गरिन्– यसरी मान्छेलाई बोकाको टाउको जडिदिएपछि भोलिका शाखा सन्तान कस्ता होलान् त्यो विचार गरी मनुष्य जातिको भविष्य विकृतिबाट बचाइ दिनुभए हुन्थ्यो ।

तहा“ उप्रान्त हे अगस्त्यमुनि ! महाकालीले दक्षप्रजापतिकी पत्नीको माथमा हात राखी भनिन्– तिम्रा पतिले मति अनुसारको गति पाएकाले त्यसमा परिवर्तन गर्न मिल्दैन । बरू तिम्रो मातृत्वको ख्याल राखी म कतिसम्म वरदान दिन सक्छु भने तिमीलेपछिपछि पाउँदै जाने सन्तानहरूमा स्वभाव बोकाकै भए पनि स्वरूप मान्छेकै रहने छ । यति वरदान दिएर महाकाली र वीरभद्र अन्तध्र्यान भए, उप्रान्त हे अगस्त्यमुनि ! विरणीले आफ्ना अजमुखी पतिदेवलाई डोर्याउँदै वैठकमा लगिन् र शान्तिपूर्वक वालिष्टमा विराजमान हुन अनुरोध गरिन् । तर दक्षप्रजापति कोठामा जथाभावी विघ्न विध्वंश गर्दै भौतारिन थाले । मालसामान भताभुङ्ग र नष्ट–भ्रष्ट भई केही समयभित्रै प्रजापतिको खोपी अजापतिको खोरमा परिणत भयो । पतिदेवका थुक र पिशावले निथ्रुक्क भिजेकी विरणी साँच्चै विरहिणी भएर एउटा कुनामा घोत्लिन थालिन् । घोत्लिँदा घोत्लिँदै आफ्नो देशकालबाट टाढाटाढा कताकता पुगेर उनको चेतना घुम्न थाल्यो । उनी स्वयं हजारौं हजार बोकामुखी सन्तानकी आमा, हजूरआमा र जिजुआमा बनिसकिछन् । उनका सन्ततिहरू विचित्र प्रकारका देखिन्थे । उनीहरूको आँखा विकासतिर फर्केको थियो भने खुट्टा ह्रासतिर, मुख शान्ति पाठ गरिरहेको जस्तो देखिन्थ्यो भने हात शस्त्र निर्माण गरिरहेको । समाजको यौनाचार झण्डै–झण्डै बोका–बाख्राकै जस्तो थियो । आहारको तानातान र अहंको हानाहानले घरिघरिमा थरिथरीका भित्री–बाहिरी युद्धहरू हुन्थे । सबैतिर हाहाकार मच्चाउँदा बडेबडे जखमले बोकाहरू एक अर्कासित सिङ जुधाइरहेको देख्दा विरणी आफैमा झस्याङ्ग तर्सिन् । तर्साहटले उनको तन्द्रा खुल्यो र उनले आफैसित प्रश्न गरिन्– के मेरो आगामी पुस्ताहरूको समाज त्यस्तै बोकाको समाज होओइन त ? उनी खलखली पसिना काढेर पछारिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *