सहमति खोज्न होटल अनि रेष्टुरेन्ट धाऊ
भोलि मिल्छ मिल्दैन आऊ आज मिलेर खाऊ
किन लिने व्यर्थमा पीर नो टेन्सन यार
हामीलाई के मतलब डुबे डुबोस थोत्रो यो नाऊ ।
संविधान भनेको हाम्रो बोली हो
ऐन कानून भनेको हाम्रो गोली हो
जसरी भोग गरे नि हुन्छ हामीले
देश र जन्ता भनेको हाम्रो बाली हो ।
हिसाब किताब हाम्रो होला बरोबरी
आऊँ मिलेर म्याद थपौं अब जीवनभरि
आफ्नौ खुट्टामा आफै बन्चरो नहानौं ?
संविधान लेखे कहाँ चल्छ हाम्रो मनपरी ?
धारै नभए तरवार पो किन चाहियो
ओतै नमिले दरवार पो किन चाहियो
जतातता अस्त व्यस्त भयो भद्रगोल
देश नै नरहे सरकार पो किन चाहियो ?
