Skip to content

इच्छाहरू छाती भित्रै


इच्छाहरू छाती भित्रै, निसासिए जिन्दगीका
रहर जति खाँदमा परे, र भासिए जिन्दगीका

कल्पनाका शीशमहल, गर्ल्याम गुर्लुम ढले सबै
चोखा चोखा भावना नि, निराशिए जिन्दगीका

अशान्तिका घाउहरू, उगल्चिए बारम्बारै
पीडा हुँदा हाँसो खुसी, बतासिए जिन्दगीका

कैयौँ फूल झरे त्यसै, कैयौँ सुके ओइलाएर
सुवासिला बगैँचा नै, बिनासिए जिन्दगीका

नङ्ग्याएरै छोड्यो सधैँ, लोभी पापी संसारले
विश्वासिला हिस्सा समेत्, तलासिए जिन्दगीका

धाँजा फाट्यो हृदयमा, उपेक्षा र ताडनाले
चोखो मायाँ हुरी बन्दै, अकासिए जिन्दगीका

अभावमा पिल्सिएर, बाँच्नु पर्यो मर्दै मर्दै
बाध्यताले मनस्थिति, प्रवाशिए जिन्दगीका

रातोदिनै झरे यहाँ, विवशताका आँसु मात्रै
वेदनाले “कोमल” नयन, उदासिए जिन्दगीका

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *