Skip to content


दु:खसँगै उदाएको
मेरी आमाको कहानी
साँझासम्म पनि आफ्ना पसिना
खडेरीले सुकेर पट्पटी फुटेका
बाँझो बारीमा आफ्नो शरिरबाट
निस्केको पसिनाको नारायणीले
संचित गरेर दस नङग्राले
सपना खोस्रिदै
आलीको कान्लामा ठुसुक्क नगरी
घाम ओढार परेपछि
ढोकोसँगै सपना बोकेर
उही प्रिय गोरेटो हुदै
भोलिको दिनको कल्पना गर्दै
पुन फर्किन्छिन आफ्नै घर

दलिनसम्म पुग्दा नपुग्दै
च्यातिएको गुन्यु चारैतिरबाट
तानातान गर्दै छातीमै टाँसिएका
स्तन भेट्न हानथाप गर्छन
दुधे बालक,

दिनभरि एकमुठी परालले पेट भरि
दाम्लोंमै झुन्डिएर
मालिक्नी आउने बाटो हेरेर बसेका
गाई,बस्तु
मेरी आमाको आवाजसँगै
एकोहोरो कराउन थाल्छन ।

परानले मात्र धानिएकी
मेरी बृद्धा हजुरआमा
बुहारी आएपछि औषधी खानपाउने आशामा
मझेरीमा पटुकीको सिरानी राखेर
लामो सुस्केरासँगै सुतिरहेकी छन्,

दु:ख र वेदनाले भरिएका
कहानीहरू हृदयमा सजाउदै
आँखाबाट खसेका मूलले
प्यास मेटाउदै कैयौ चोटी
आफ्नो र परिवारको
प्राणको भिक माग्दै
अभावको झुप्रोमा
कैयौ रातहरू बिताइरहेकी छन्
मेरी आमा ।

रामकृष्ण पौडेल ”अनायास”
भरतपुर-१३,कविडाँडा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *