“बा ! भन्नु के खानुहुन्छ । म त अब कमाउन सक्ने भइसके नि ।” धेरै पछि हजुरबुवालाई देखेपछि मन एकदमै खुसी भयो ।

“थाहा छ । थाहा छ, म पनि हेरिरहेको छु ।” भन्नुभयो हजुरबाले । त्यतिभन्दा अनुहारमा केही खुसी देखिरहेको थिए मैले ।

लगभग ६ वर्षपछि बालाई भेटेको थिएँ । कहिलेकाहीं सपनामा देखे पनि यति लामो समयसम्म बोलचाल हुन पाएको थिएन ।

पहिले पहिले यसो ट्युसन पढाएर पकेट खर्च हुँदा बालाई कहिलेकाहीं म कपडा किन्दिने गर्थे । नराम्रो भए पनि राम्रो मान्नु हुन्थ्यो । उहाँलाई मन पर्ने जेरी किनेर दिँदा झन् कति मुस्कान देखिन्थ्यो त्यो अनुहारमा । अहिले सम्झिदा आँशु झर्छ ।

बालाई बुढेसकालमा कुनै दुःख नहोस् भन्ने मेरो सोच थियो । सायद बाले नै मलाई सानै उमेरदेखि हेर्नु र माया गर्नुभएकोले होला बाप्रति मेरो माया यति धेरै थियो कि कुनै शब्दले बयान गर्न सक्दैन ।

धेरपछिको त्यो भेटमा बाको अनुहारमा केही खुशी केही हर्ष त केही विछोडको पीडा स्पष्ट देखिन्थ्यो । मेरो आँखा भने अनायासै रसाए र मुखबाट आफै शब्दहरू निस्किन थाले, “बा, तपाईंलाई तपाईंको नातिको सानो प्रगति भए पनि देखाउन मन थियो । मेरो कमाइले तपाईंलाई तीर्थ घुमाउन मन थियो । तपाईंलाई मन पर्ने सबै मिठाई खुवाउन मन थियो बा ।”

यति भन्न नपाउँदै बाले गाली गर्नुभयो, “म तँसँग नभएर के भयो त ! तँलाई मेरो आशीर्वाद सधैं छ नाति ।”

त्यति भनेर बा बिलाउनु भयो र म झल्याँस्स ब्यूँझिएँ । ब्यूँझिँदा आँखाभरि आँशु थिए । मनमा एउटै सोच थियो, “बा आजसम्म मेरो साथमा हुनु भएको भए कति खुसी हुनु हुने थियो ।”

कृष्ण तिमील्सिना
रूपनगर, सप्तरी, नेपाल ।

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *