ऊसित चमचम चम्कने धारिलो खुकुरी छ। ऊ त्यसलाई हरदम बोकेर चोक, गल्ली र टोलबजार घुम्ने गर्छ। ऊ बाटोमा हिँड्दा पनि कुनै हिंस्रक जन्तुझैँ फर्कीफर्की यताउति घुर्दै घुर्दै हिँड्ने गर्छ। उसको कुरा नसुन्ने, उसलाई नमान्ने जोसुकैलाई पनि ऊ भेटेकै ठाउँमा अँठ्याउँछ। त्यसैले टोलबजार छरछिमेकका सबै ऊसित सतर्क छन् र उसको सामु पर्नासाथ अदबपूर्वक नमस्कार गर्छन्। ऊ जहाँबाट गुज्रन्छ त्यहाँ करतलध्वनि बज्छ। स्वस्तिको लहर चल्छ।

एक दिन उसले बाटामा हिँडिरहेको एकजना निर्दोषलाई आफ्नो खुकुरीले हान्यो। कारण थियो त्यस अपरिचितले उसलाई स्वस्ति गरेन। अनि त के चाहियो उसले खुकुरी उज्याएर प्रहार गरिहाल्यो।

र यस्तो घटना प्रायशः भइरहेकै हुन्छ।

टोलबजारमा उसको हैकम चल्छ। ऊ कुनै पनि बखत कसैलाई केही पनि गर्न सक्छ। कसैलाई पिट्न, थुन्न, झुन्ड्याउन, घोक्र्याउन र दण्ड दिन सक्छ। ऊसित धारिलो खुकुरी छ। सबै त्यो खुकुरीको धारिलोपनबाट ध्वस्त छन्।

यसरी धेरै वर्षसम्म उसको हैकम चल्यो तर एक दिन उसको हतियार भुत्ते भयो, त्यसमा खिया लाग्यो। ऊ स्वयम् पनि कमजोर र अशक्त देखिन थाल्यो। तर अझै पनि टोलछिमेकका मान्छेहरू उसको सामु पर्दा स्वस्ति गर्न बिर्सँदैनन्।

एक दिन बीचबजारमा कसैले उसलाई स्वस्ति गर्नु त कताकता जानाजान धक्कासमेत दियो। उसले रिसले आँखै देखेन। क्रुद्ध भएर आफ्नो हतियार निकालेर त्यसलाई हान्न हात उज्यायो।

बजारमा धेरै दिनपछिको त्यो घटना देखेर मानिसहरू भयले काम्न थाले। तर त्यसले भने खासै वास्तै गरेन। उसले आफूमाथि उज्याइएको हातलाई सहज रूपले ट्याप्प समातेर खुकुरी थुत्यो र नजिकैको नालामा फुत्त फाल्यो।

‘जानुस् तपाईँ, खिया लागेको र भुत्ते हतियार बोकेर तर्साउने युग गइसक्यो।’

उसले केही भन्न सकेन, केही गर्न पनि सकेन। त्यही बेला सबैले देखे साँच्चिकै उसको हतियार भुत्ते भइसकेको थियो। कति दिनदेखि खिया लागेर कामै नलाग्ने भइसकेको थियो।

त्यसै दिनदेखि उसलाई कसैले नमस्कार गर्नु त के महत्त्वसमेत दिएन। उसका लागि नमस्कार गर्न उठ्ने हातहरू त अचेल त्यो अर्कोलाई पो नमस्कार गर्न थालेका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *