कुनै पनि क्षेत्रमा राम्रो काम गरेर उल्लेख्य योगदान दिने व्यक्तित्वलाई कदरस्वरूप पुरस्कार दिइन्छ । पुरस्कार, पदक अथवा सम्मानले कर्मयोगीलाई थप ऊर्जा प्रदान गरेर कर्मक्षेत्रमा प्रोत्साहित तुल्याउँछ । पुरस्कारले पुरस्कृत व्यक्तिलाई मात्र जागृत, उत्तरदायी र सशक्त बनाउदैन । त्यो क्षेत्रका अन्य अभियन्ताहरूलाई पनि कर्मक्षेत्रमा उत्प्रेरणा जगाउँछ । पुरस्कार एकप्रकारको ‘रिचार्ज’ र ‘क्याटालिष्ट’ पनि हो । मान्छे जगाउने र ब्यूँझाउने एउटा सञ्जीवनी बुटी र रामवाण औषधी पनि हो पुरस्कार । पुरस्कार एउटा न्यायिक मूल्याङ्कन र प्रमाणिकरणका अतिरिक्त सामाजिक मान्यता प्रदान पनि हो । यस्तो अमूल्य र अपार महिमाको पुरस्कारको इज्जत जोगाउनु दातृ संस्थाको कर्म र धर्म पनि हो । सत्पात्रका हातमा पर्न गयो यदि भने दातृ निकाय र स्वय म पुरस्कार नै पुरस्कृत हुन्छ भने कुपात्रका हातमा पर्न गयो यदि त्यो भने पुरस्कार स्वय म र दाता नै दागिलो र कलङ्कित हुन्छ । पुरस्कारको अवमूल्यन हुन्छ र त्यसप्रति अरूको मोहभङ्ग भएर वितृष्णा जाग्छ । पुरस्कारप्रदायक संस्थाले ताली होइन गाली पाउँछ त्यो बेला ।
यो सतीले सरापेको मुलुकमा राम्रो गर्नेहरूको भलो हुँदैन । भीमसेन थापाजस्ता देशभक्त योद्धाले हृदयबिदारक आत्महत्या गरेको इतिहास पनि यहीँ छ । चोरलाई चौतारामा राखेर साधुलाई शूली चढाउनेहरू पनि हाम्रै समाजमा छाती फुलाएर हिंडिरहेछन् । दिनदहाडै कालोलाई सेतो र सेतोलाई कालो बनाउनेहरूले कोइलीलाई काग र कागलाई कोइली देख्नु त कुन अपराध भयो र ? यहाँ हुनु पर्ने कामहरू हुँदैनन् र नहुनु पर्ने कामहरू चाहिँ फटाफट भइरहेको दृश्य मैले यहाँ तपाईँहरूलाई देखाइरहनै पर्दैन ।
फटाहाहरू, जालीहरू, चम्चेहरू, भ्रष्टाचारीहरू, खुरापातीहरू, घुसखोरहरू, कामचोरहरू, टपरटुइयाँहरू…हरूको हूल सर्वत्र अगाडि बढिरहेछ । गोप्य हल्लामा सल्लाह मिलाउनेहरू, हात मोल्दै टाउको कन्याउनेहरू, तेल लाउनेहरू, सुटुक्क कोठामा धाउनेहरू, विन्तीपत्रे– भजन गाउनेहरू, अप्राकृतिक पिरती लाउनेहरू,…ले सहजै काम पट्याइरहेछन् । घुँडा टेकेर बस्नेहरू, झ्यालबाट भित्र पस्नेहरू, जोगीको स्वाङ्मा खरानी घस्नेहरू, अर्कालाई निषेध गरेर आफू भित्र पस्नेहरू,… धेरै पर, अगाडि पुगिसकेका छन् । अर्काको खुट्टा तान्नेहरू, पछाडिबाट घुच्चुकमा हान्नेहरू, मौसमी लयमा नाच्न जान्नेहरू, जसले जे भन्यो त्यही मान्नेहरू, … सबै–सबै उन्नतिको शिखर टेकिसके । यस्ताखाले हराम र हनुमानहरू यत्रतत्र सम्मानित भइरहेछन् यता भने राम र कृष्णहरू उता अपमानित भइरहेछन् ।
विद्यार्थीले पाइसकेको पुरस्कार गुरूलाई दिन नहुने हो । छोराले खाइसकेको पुरस्कार बाबुले खान नहुने हो । नातिले परार लिएको पुरस्कार हजुरबाले यसपटक हात थापिरहेछन् । विद्यार्थीको जूठो गुरूले कसरी खाने ? नातिको जूठो हजुरबाले खाँदाको अप्ठ्यारो कसरी व्यक्त गर्ने ? दाताको त सर्वस्व नै गयो, पुरस्कार प्रापकको भएको इज्जत पनि खरानी भयो । कीरा, फट्याङ्ग्राले लाइसकेको माला गोमन सर्पले लगाउनु स्वभाविक हुदैन । बुझ्नेले कुरा नबुझेपछि …लाईभन्दा देख्नेलाई लाज हुँदोरहेछ ।
पञ्चायतकालमा पञ्चे शिक्षकहरूले शिक्षापदक पाँउथे । राम्रो पढाउने अरू शिक्षकहरू अ.त. (अराष्ट्रिय तत्व)मा परेर कालोसूचीमा रहन्थे । भएभरका सेवा, सुविधा र शिक्षापदक कुम्ल्याउने उनै पञ्चायतका धुपौरे शिक्षकहरू हुन्थे । अरू इमान्दार र प्रगतिशील शिक्षकहरू शिक्षापदकको सपना पनि देख्दैनथे र प्राप्तिको कल्पना पनि गर्दैनथे । पछि, बहुदलकालमा सत्ताधारी पार्टीका शिक्षकहरू शिक्षापदकका खाँटी हकदार हुन्थे । राजनीतिक, आर्थिक, जातीय, निकट सम्बन्ध,… जस्ता विभिन्न पहुँचहरूले शिक्षापदक दिलाउने अह म भूमिका खेल्थे । अरूभन्दा पनि राजनीतिक पहुँच ज्यादै बलियो पहलमान हुन्थ्यो । मन्त्री, सचिव र सभासद्का आफन्तहरू त पहिलो नम्बरमा परिहाल्थे । एउटा इमान्दार, कर्तव्यनिष्ठ र सुयोग्य शिक्षक कहिल्यै कसैको आँखामा पर्दैनथ्यो, सधैँ ओझेलमा पर्दथ्यो । हरेक साल शिक्षापदक पाउनेहरूको नामावली गोरखापत्रमा पढ्दा शिक्षक, कर्मचारीहरूबीच हाँसोको भदौरे भल–बाढी चल्थ्यो ।
मेरो कथाकारले मलाई ए्उटा कथा सुटुक्क सुनायो । शिक्षापदक सम्बन्धी त्यही घतलाग्दो कथा यहाँ म तपाईं (पाठक)लाई सुनाउने अनुमति चाहन्छु – “यस वर्ष के होला ? सायद त्यही हुन्छ विगत वर्षहरूमान जे भयो । संस्कार हो, आखिर त्यही सर्दै जान्छ । ऊ त खालि फड्के किनाराबाहिरको एउटा मूकदर्शक साक्षी मात्र हो । पत्रकार भएको भए पत्रिकामा लेख्थ्यो, नेता भएको भए भाषणमा भन्थ्यो र लेखक भएको भए लेख वा किताबै लेख्थ्यो । पत्रकार, नेता र लेखक ऊ केही होइन । मात्र टुलुटुलु हेर्ने निरीह र निरूपाय एउटा गौप्राणीभन्दा पर ऊ केही होइन । हरामहरूले बाँदरहरूलाई पाकेका फल खुवाइरहेछन् यता भने उता राम, कृष्ण र बुद्धहरू भने खोक्रो पेटलाई पटुकाले कसिरहेछन् । हनुमानहरू आफ्नो कर्मक्षेत्रमा थाकेका छैनन् र ढेडुहरू हरेक वर्ष पगरी गुथिरहेछन् ।
परारको अघिल्लो साल पनि त्यो जिल्लाका तीनजना शिक्षकहरूले शिक्षापदक पाए । ती तीनैजना मापसे शिक्षकहरू थिए । पर्यवेक्षकहरूले बुझ्नै सकेनन्– “मापसे भएर कि सिफारीसकर्ता कर्मचारी आफन्त परेर उनीहरूले शिक्षापदक पाए ? परारको वर्षचाहिँ मुख्य तीन दलका नेताहरूले शिक्षापदक भागबण्डा गरे अनि आ–आफ्ना दलका शिक्षकहरूको नाम कार्यालयमा दिए । पोहोर सालको शिक्षापदक शिक्षकहरूका पेशागत संघ, संगठनका जिल्ला प्रमुखहरूले मिलेर एक–एक थान आफैँले लिने भनी कार्यालयमा निर्णय गराए ।
यो साल पनि शिक्षापदकका लागि नाम सिफारिश गरेर जिल्लाबाट मन्त्रालयमा पठाउने महिना, साउन आयो । त्यो मूकदर्शक साक्षी सोचिरहेछ –“यस वर्ष के होला ? के संस्कारजन्य पुनरावृत्ति बाहिर कुरो जाला ? गोरखापत्रमा शिक्षापदक पाउने शिक्षकहरूको नामावली पढ्न, ऊ भदौ महिनालाई पर्खिरहेछ ।”
मेरो प्रिय कथाकारले मलाई सुनाएको गोप्य कथा तपार्इंलाई कस्तो लाग्यो ? मोवाइल नं.९७५३००४३६०मा मलाई खबर गर्नुहोला है !
रामविक्रम थापा
बालकन्या उमावि स्रोतकेन्द्र, फाक्टाङ, खोटाङ
