नयाँ खेती

  • by
20200416_PeshalAcharya-Interview

गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।

ननिको छ –गोविन्दे । गाउँमा अँझै हुने नहुने सबै काम गर्छ । जवनीमा आँखा देखेन । अहिले जवानी घर्किन थाल्दै बूढो देखिएको छ । साह्रै चञ्चल छ । केही न केही उपध्रो गरिरहनु पर्ने । राम्रा काम अरूका भागमा परेकाले नराम्रो जति सबै काम ऊ आफैँ गर्छ । बाउआमा छउञ्जेल भनेको मानेन । एसएलसी उँभो पढेन । इलममा पनि लागेन । न आफूले जान्यो न भनेकै मान्यो ।

गोविन्दे अहिले पछुतोमा छ । केही विगत्को पछुतो । केही वर्तमानको पछुतो । अहिले भने गोविन्देलाई वर्तमानको पछुतोले बढी चिलेको छ । चिलेको मात्र हैन । भत्भती पोलेको छ । अर्थात् बलक्बलक् नै गरेको छ ।


सहरमा लोड सेडिङ्को साम्राज्य कायम छ । अँधेरोले राज गरेको छ जताततै । घरमा भएको सस्तो चाइनिज ब्याक अपले भान्सा र केटाकेटी पढ्ने कोठाँ मात्र बत्ती बल्न सक्छ । ऊ बैठकमा बसेरै उङिरहेको छ । त्यसैले पनि ऊ वेचैनीमा छ । चैन उसले आफैँले हराएको हो । यसरी अनेक प्रश्नहरू उसका मनमा झुत्ती खेल्न लागेका छन् जसरी कुनै फतक्क गलेको फर्सीमा किराहरू स्याउँस्याउँ गर्छन् । पानीका फोहोरा भुइँबाट माथितिर उठेझैँ । फेरि जमिनतिरै ढुन्मुनिँदै झरेझैँ ।

बैठकमा मधुरो प्रकाश छर्दै मैनबत्ती बालिएको छ । जसबाट कोठामा भएका सामानलाई डिठ्याएर मात्रै हेर्न सकिन्छ । अखबार र किताब पढ्न भने सकिन्नँ । पल्लो कोठामा केटाकेटीहरू पढ्दै छन् । सायद् स्कुलको होमवर्क गर्दै होलान् । स्वास्नी भान्सामा भात पकाउन थालेकी छे ।

गोविन्देकी स्वास्नी पनि उसँग ठुस्किएकी छे । एक साताजति भयो उसकी स्वास्नी उसँग ठुस्किएकी । उसले अनेक तरहले फकायो । मनाउन खोज्यो । उसकी स्वास्नी उसँग झन्झन् परपर हुँदै गई तर्सुवा गाई झैँ ।

त्यो दिनचाहिँ ऊ पर सरेकी भर्खर पाँच दिन मात्र भएको थियो ।

मनको पर र तनको पर दुवैले गोविन्देकी स्वास्नी उसको छैवै पर्दिन । मनको परका लागि गोविन्देलाई जिम्मेवार देखी । तनको पर त नियमित प्रकृया हो याने स्त्रीयोचित प्रकृति ।

गोविन्दले मोबाइल उठायो ।

मोबाइलमै रवीन्द्रलाई फोन लायो । लागेन । मोबाइल बिजी छ । उताबाट बिजी टोन आइरा’को छ । रिङ् जाँदा पनि उठाएन –मोरो रवीन्द्रेले । बिजी छ कि बिजी टोनमा राख्या हो । गोविन्देले थाहै पाएन । आजकलका केटाहरू मोबाइलमा नानाथरी गर्छन् । कहिले नलाग्ने बनाउँछन् । कहिले ब्लक गर्छन् । गोविन्देलाई यो मोबाइलका अनेकओली केही थाहा पनि छैन । जान्दै जान्दैन ।
गोविन्दे चुपो लाग्यो ।

धेरै भएको छैन । करिब एकसाता भयो । गोविन्दको मुड अफ् भा’को । मुडअफ अरूका कारणले भा’को हैन । आफ्नै कारणले भएको हो । गाली अरूलाई गर्नु पर्दैन । आफैँलाई गर्दा हुन्छ । एक्लैएक्लै धुम्धुम्ती बसेर आफैँले आफैँलाई गाली गर्यो । आफैँले आफैँलाई मुख लोपार्यो । पुलुक्क चारैतिर हेर्यो । कसैले त देखेन । कसैले त देखेन । अहँ ! बैठक कोठामा कोही पनिरहेनछ । ढुक्क भयो । धन्न कसैले देखेन । देखेको भए के भन्थ्यो होला ? ‘सोमत बिग्रेको मान्छे’ भनेर गिज्याउँथ्यो होला । गोविन्दे बैठकमा एक्लै भएकोमा सन्तोसको सास फेर्दै खुसी भयो । उसको खुसी बलेँसीको पानी फोकाझैँ एकैछिन पनि नरही फुट्यो ।


गोविन्दले गर्नु गर्यो ।

बुढापाकाहरू त भन्थे –नजाने गाउँको बाटो नसोध्नु । बेकारमा कुकुरले टोक्छन् । यहाँ आज उसलाई तिनै बुढा पाकाहरूको अर्तीले चिल्न थालेको छ । किराहरू त छैनन् –यहाँ । बद्लामा प्रविधिले नै चिल्न लागेको छ ।

दिउँसो चिया पसलमा रामबिस्ने भेट भएको थियो । भन्दैथियो –‘गोविन्दे तँ आजकल निकै फेसबुक कोट्याइरहन्छस् नि । भेटिस् इनाम ।’

जवाफमा गोविन्देलाई पनि रामेको मुखभरि जवाफ दिन नआएको त होइन । तर केही भन्न सकेन । मनमनै भन्यो –‘मनको कुत्कुति मेट्ने इच्छा । के गरूँ । आफैँ फँसियो ।’ दन्तेकथाको बाँदरले काठको बाकलमा राखेको फेसो फुकाल्न लाग्दा आफ्ना अण्डकोश चेपेर मेरेको थियो रे !

गोविन्देको मनको बुद्धितत्वले मनकै मूर्खतत्वलाई सम्झायो । आफूभन्दा जान्ने सुन्नेलाई सोध्नु छैन । खाइस् कि ? दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले । खुच्चिङ् । अब परिस् फेला ।

गोविन्देका साथीहरू कोही काम लाग्ने छैनन् । दिनभरि चउरमा बसेर तास फिस्ने । साँझ भट्टीमा गएर घाँटी तङ्काउने काम मात्रै गर्छन् । एक रूपैयाँको कमाइ छैन तीन रूपैयाँको खर्च भनेझैँ गर्छन् ।

गोविन्दे भने घर अघिको बजारमा सानो तर्कारी पसल चलाउँछ । पसल पनि स्वास्नीको करकरले गर्दा गरेको हो । आफ्नो बुताले त गोविन्देले केही काम जीवनमा गरेन । भला, पसलले उसको भातभान्सा र घर चलाएको छ ।

गएको हिउँदमा उसले पसलबाट भएको नाफाले टच स्क्रीनवाला मोबाइल किन्यो । सामसुङको मोबाइल । ठ्याम्मै पन्ध्र हजार तिर्यो । अनि भक्ते र प्रमेशसँग मोबाइलका अनेकओलीका टिरिकहरू सिक्यो । कसैले म्यासेञ्जर सिकाइदिए । कसैले भाइबर खोल्न लगाए । स्काइपमा बोल्दा त फोटो पनि आउने । पैसा पनि नलाग्ने भएको देखेर गोविन्दे तीन छक्क पर्यो ।

उसले मोबाइल किनेको अर्को महिना स्वास्नीले पनि करकर गर्न थाली । उसले स्वास्नीलाई पनि सात हजारमा जिओनी कम्पनीको मोबाइल किनिदियो । औंलाले छुँदा चल्ने मोबाइल पाएर दुवै जोइपोई मख्ख परे । स्वास्नी तरकारी पसलमा हुँदा गोविन्दे घरको काम गर्थ्यो । त्यसबेलाँ दुई जोईपोई कहिले म्यासेञ्जरमा च्याट गर्थे । लोग्ने पसलमा हुँदा स्वास्नी छोराछोरीका स्याहारमा हुन्थी । त्यसबेलाँ पनि लोग्नीस्वास्नी भर्खर बिहे गरेका नव विवाहिता झैँ स्काइपमा इत्तरिन्थे ।

ग्राहक आएर पसलमा लाम लाग्थे । कहिले गोविन्दे वास्ता गर्दैनथ्यो । उधारो माग्न आउँदा उसकी स्वास्नी नाक चेप्य्राउँथी । ऊ लोग्नेसँग मक्सिरहेकी हुन्थी ।

मोबाइलका कखरा दुवै लोग्ने स्वास्नीले सिके । कसैले फेसबुक एकाउन्ट खोली दिए । कसैले सिकाए –नयाँनयाँ फोटा खिच्ने अनेक टिरिक । हल्लने फोटालाई भिडियो भनी चिनाए । नहल्लने फोटालाई स्टिल फोटा भनी बुझाए ।

यसैगरी अब उनीहरू मोबाइल साक्षरबाट अघिको यात्रामा बढिरहेका थिए । गाउँले कच्ची धूलेबाटो अघि बढ्दै गएपछि जसरी ग्राभेल हुँदै पिचबाटोमा गएर हराउँछ त्यसैगरी गोविन्देका जोइपोई पनि मनका धूले बाटामा हुँदा लोग्नेस्वास्नी मात्रै थिए । जब यात्रा बेस्कन कुद्न थाल्यो अनि फेसबुकका ग्राभेल हुँदै पिच बाटोमा आइपुग्दा दुवैका दुईदुई हजार साथीहरू भैसकेका थिए ।

गोविन्दे छक्क पर्याथ्यो –सुरूसुरूमा ।

बिस्तारैबिस्तारै गोविन्देले तरकारी पसलमा ग्राहक नआउँदा खूब मोबाइल खेलायो । नआएका कुरा साथीहरूले सिकाए । आएका कुरा दोहोर्याई तेहेर्याई गर्यो । मान्छेको जात सिकी छाड्यो । रूचिले सिकायो –अलिअलि । आवश्यकताले सिकायो अलिबढी । क नआउने जोरीपारीहरू पनि मोबाइलको मस्तीमा झुम्मिएका थिए ।

गोविन्देको दुनियाँ एक्चुअलबाट क्रमशः भर्चुअल हुँदै गयो । मानिसहरू घरभरि हुँदा पनि कोही कसैसँग नबोल्ने आफ्ना मोबाइल मात्रै कोट्याइरहने देखिन थाले । गोविन्देका लोग्नेस्वास्नी पनि मोबाइल कोट्याइरहने भए । नशा लाग्यो । लत बस्यो । आजआज भोलिभोलि भन्दाभन्दै दुवै एक्चुअल दुनियाँभन्दा भर्चुअल दुनियाँमा पौरी खेल्न थाले । पोखरीमा पस्न मात्र गाह्रो । पसिसकेपछि छ पानीले नै मानिसलाई चाल मार्न सिकाउँदो रहेछ ।

सिक्दासिक्दै गोविन्देले मोबाइलमा धेरै कुरा सिक्यो । सिक्ने कुरा पनि सिक्यो । नसिक्ने कुरा पनि सिक्यो । अहिले घोसेमुन्टो लगाएर सोच्दैछ । उसले सिक्ने कुरा कम सिक्यो । नसिक्ने कुरा बढी सिक्यो ।

चाहिएको कुरा थियो –मोबाइल बैङ्किङ् सिकेन । मोबाइलबाट पैसा पठाउन सिकेन । मोबाइलबाट बिजुलीको बिल तिर्न सिकेन । उसले साथीहरूका लहैलहैमा परेर फोटा खिच्न र पोष्ट गर्न सिक्यो । लाइक गर्नु, कमेन्ट गर्नु र सेएर गर्नु त उसको देब्रे हातको खेल भैदियो । त्रिताले थिई उसकी स्वास्नी । उसले पनि मिलिक्कै गरी सिकी ।

गोविन्देको मोबाइल यात्रामा अब स्वास्नी अभिन्न पथिक हुन छाडेकी थिई । उसले फेसबुकमा फेला परेका राम्राराम्रा र विभिन्न पेसाका मान्छे साथी बनाएको थियो । उसले आफ्नो वालमा राम्रो र तन्नेरी वयको फोटो राखेको थियो । केही विवरण साँच्चै र केही ढाँटेर फेसबुकमा आफूलाई स्मार्ट देखायो । बजिया फोटोजेनिक रहेछ । ह्वारारार्अ फ्रेण्ड रिक्वेस्ट आउँथे । तरूनीबरूनी देखेपछि झ्वाट्टै एसेप्ट गरिहाल्थ्यो ।

दुनियाँ नै स्मार्टका पछि लागेको थियो । लाग्छ । लागेको छ ।

गोविन्दे झट्ट हेर्दा उति राम्रो थिएन । मोरो फोटोजेनिक भने थियो । नराम्रा मान्छेको फोटो राम्रो आउँछ भन्थे मान्छेहरू । हो, रै’छ । गोविन्देलाई हेर्दा त्यो कुरा साँचो हुन्थ्यो । बद्लामा उसकी स्वास्नी वास्तविक रूपमा हेर्दा खँदिली र दोहोरो आँङ्जीउ भएकी थिई । रियलमा राम्री भएर के गर्नु उसैको फोटो राम्रो आउँन्थेन । विचरी फोटोजेनिक नपरेकिरहिछे ।

अनेरमार्क, गेट्सेट र गो भन्दै दुवैले आफ्ना साथी बढाउने दौड सुरू गरे । दुवैलाई थाहा थिएन । कसका कति साथीहरू बनेका छन् । एक्लाएक्लै दौडिए । जब उनीहरू कालोपत्रे बाटामा आइपुगे । बाटोले दुवैलाई बाठो बनाएछ । स्पीडमा दौडिन थाले । दुवैको हातमा आफ्नाआफ्नै भर्चुअल दुनियाँको स्टेरिङ् थियो ।

जतिसुकै दौडिए पनि दौडको अन्त्य हुन्छ । चाहे चोरबाटो दौडियोस् –कोही । या घुमाउरो बाटो ।

गोविन्दे पनि चोरबाटो दौडिएको थियो ।

उसकी स्वास्नी घुमाउरो बाटो दौडिएकी थिई ।

फरक के थियो भने गोविन्दे कम पढेको भए पनि टाठो थियो । गोविन्देकी स्वास्नी ऊभन्दा बढी पढेकी भए पनि सुस्त थिई । मानौं लोग्ने बल्ब र स्वास्नी ट्युब लाइट । बल्बले थिचिसकेपछि प्रकाश थोरै दिए पनि स्वीच थिच्नासाथ बल्ब बल्छ । ट्युब लाइट धेरै प्रकाश फ्याँकेर बले पनि बल्न समय लिन्छ ।


साथीहरूले एकदिन गोविन्देलाई लाइभ भिडियो खिच्न र पोष्ट गर्न सिकाएछन् । उसले त्यसलाई आफ्ना दैनन्दिन काम गरेका भिडियो खिच्न उपयोग गर्यो । कहिले भात खाएको । नुहाएको । दारी काटेको । दसैँमा खसी काटेको । टीका लगाएको । ससुराली गएको । सबै खिच्यो । हुँदाहुँदा मेमोरी सिद्धिएछ । पत्तै पाएन । साथीहरूसँगै सिकेर डिलिट गर्न सिक्यो । ऊ फोटा खिच्न, राख्न र हटाउन सक्ने भयो ।

अब उसलाई सजिलो भयो । पसलका तर्कारीदेखि लिएर सरकारी कार्यालयसम्मका ससाना लाइभ भिडियो खिच्न भ्यायो –उसले ।

उसकी स्वास्नी उसलाई आफूले नजानेको सोध्थी । तर ऊ नजानेको बहानामा टार्ने गर्थ्यो । सबै सिकाए पनि भिडियो खिच्नचाहिँ उसका हातले उसकी स्वास्नीलाई सिकाएनन् । भलै उसले पनि उसका महिला साथीहरूबाट भने सिकिसकेकी थिई । त्यो कुरा गोविन्देलाई पत्तो थिएन । ऊ भन्दिनथी ।

समय सुलुलु गर्दै बित्दै गयो ।

गोविन्देलाई रामबिस्नेले एकदिन आफूले सिकाएका कुराहरू परीक्षण गर्ने विचारले सोध्यो –तँ पनि अब मोबाइलमा चेम्पियन भइस् हैन् ।’

उत्तरमा गोविन्देले भन्यो –‘भएँ । अब आफ्ना सबै काम गर्न सक्छु ।’

छट्टु थियो रामबिस्ने । भन्यो –‘अब यी बिनासित्ती फोकटका भिडियो खिचेर हुन्नँ हेर । अब पैसो कमाउनु पर्छ । पैसो ।’

चिल्लो नघसीकन रामबिस्नेले भनेको कुरा नबुझेरै गोविन्देले फेरि भन्यो –‘सिधासिधा बोल । किन घुमाउरो बोल्छस् ।’

‘सिधा औंलाले घिउ आएको कहिल्यै देखेको छस् ?’ रामबिस्ने कड्कियो ।

‘छैन ।’ छेपाराले जस्तै गोविन्देले टाउको हल्लायो ।

रामबिस्ने उमेर र अनुभवमा पनि गोविन्देभन्दा जेठो थियो । जेठो मात्र होइन बाठो थियो ।

स्वीकृतिको सूचक टाउको हल्लाएको देखेर रामबिस्नेले कहिरन थाल्यो – ‘मान्छेहरू अहिले अरूका भिडियोलाई आफ्ना नाममा ससाना कम्पनी बनाएर यु ट्युबमा पोष्ट गर्छन् । जति धेरै मानिसले हेर्छन् । त्यति धेरै नाम र दाम कमाउन सकिन्छ । बुझिस् गोविन्दे ।’

‘बुझेँ ।’ कख सिक्दै गरेको आज्ञाकारी शिशुझैँ गोविन्देले सुस्तरी भन्यो ।

‘खुरूखुरू मैले भनेको मान । मैले भनेको मानिस् भने तँ पनि मालामाल । म पनि मालामाल । कति गर्छस् यो जाबो तर्कारी पसल । पन्ध्र वर्ष भयो हैन । अब एकदुई बर्खमा करोडपति बन । गोविन्दे करोडपति बन । बुझिस् हैन । मैले भनेको ?’ –रामबिस्नेले सानोतिनो रामायणको अध्याय नै कह्यो ।

‘बुझ्न त बुझ्थेँ । तपैँले भन्नुभा’को छैन । के बुझ्नु भन्या ।’ –केही भोल्युम ठुलो पार्दै गोविन्देले रामबिस्नेकासामु पाठ बुझाएर सन्तोष भएको विद्यार्थीले झैँ भन्यो ।

‘ए । हो है ! भनेकै छैन । ल ! अब सुन । तैँले तेरा र भाउजूका एकान्तमा भएका गोप्य क्रियाकलापहरू सबै तेरो मोबाइलमा खिच अनि राखिराख । ससाना धेरैवटा त्यस्ता मजाका भिडियोहरू खिचेपछि मलाई भन्नु अनि म तँलाईं पैसाको बोट देखाउँला । मोरा पैसा देख्न जति सजिलो छ टिप्न उति गाह्रो छ ।’

‘हुन्न है हुन्न । लोग्ने स्वास्नीका त्यस्ता कुरा काहीँ खिच्नुहुन्छ । केही गरी त्यो कसैले फेला पार्यो भने बित्याँस पर्दैन ? राम्रो र गतिलो कुरा सिकाउँछ भन्या त यो दाजु पनि के साह्रो मात्तिएको हो ।’ अब भने गोविन्दे च्याँठ्ठियो ।

रामविष्णुले फेरि फकाएर पाठ दियो –‘कुरा बुझ् न गोविन्द । कुरा बुझ । मैले तिमेरूले एकान्तमा गरेका कुरा मैले खिच्ने भनेको हो त ? मूलाङ्खरे आफैँ खिच पो भनेको त । पहिले आफू खिच्नु । अनि कैल्यैकाहीँ बुढीलाई खिच्न लगाउनु । कुरो बुझिस् । सानासाना र मजाका पोज खिच्नु । अनि मान्छेले हेर्छन् । छन्छनी पैसा झर्छन् –ब्याङ्कबाट । पैसो लिने काममा म सहयोग गर्छु नि मोरा तँलाईं । किन डराउँछस् ?’

गोविन्दे बोलेको थिएन । मौका परेकाले रामविष्णुले फेरि भन्यो –‘हुन्न ।’

गोविन्देले बुज्जकी भएर भन्यो –‘हेरू म । स्वास्नीले के भन्छे ?’

‘के भन्नु नि पैसा आउँछ मोरा । गरीबी स्वात्तै घट्छ । अनि घरघडेरी जोड्नु । छोराछोरीलाई राम्रा बोडिङ्मा पढाउनु । आफू पनि टु ट्वान्टीको पल्सर चढेर हिँड्नु । कति दुःख गर्छस् मोरा । तर्कारी पसल छ । ताजाताजा अरूलाई बेच्छस् । जहिल्यै पनि बासी र ओइलाएका मात्र आफू खान्छस् । ओइलाएका तर्कारी खाँदाखाँदा मोराको बुद्धि पनि ओइलाई सक्यो । आजै भन बुढीलाई । काम थाल । भटाभट् काम सक्नु अनि मलाई दिनु । म ब्लु टुथबाट मेरो मेमोरीमा सार्छु अनि यु ट्युबमा राख्दै गर्छु । ढिलो नगर ।’ यसपटक रामबिस्नुले पूरै भिडियो पूराण सुनायो ।

त्यो रात गोविन्दे राम्ररी सुत्न सकेन । ओल्लोकोल्टो पल्लोकोल्टो गर्दै उसले चार प्रहर रात झिमिक्कै नगरी बितायो ।

भोलिपल्ट पनि उसले स्वास्नीलाई रामबिस्नु प्रदत्त सल्लाहको नयाँ खेती गर्ने काइदा सुनाउन सकेनँ । ओच्छ्यानमा छट्पटाएको स्वास्नीले थाहा पाइहाली । उसैले कुरा उठाई । भनी –‘तँपाईंलाई सञ्चो छैन जस्तो पनि छ । मनभरि पेटभरि भएर मलाई केही कुरा लुकाइरहनु भएको त छैन । साँझ खाना पनि रूचाएर खानु भएन । के हो ? मलाई किन नभनेको तपैँले ?’

पहिले त गोविन्देले ‘केही होइन । केही होइन’ भनेरै टार्न खोज्यो । अलिपछि स्वास्नी एकाएक च्याँठ्ठिई । उसको आवाजलेसँगै सुतेका छोराछोरीहरू उठ्ने डरले गोविन्दे अलि डरायो । जुरुङ्ग हुँदा उसका शरीरमा भएका रौं ठाडा भए । उसले स्वास्नीका कानमा मुख जोडेर हिजो दिउँसो रामबिस्नुले भनेका सबै कुरा एकै सासमा भनी सिध्यायो ।

खुसीका केही उच्छवास् छाडेर उसले स्वास्नीका मुखमा हेरेको मात्र थियो । स्वास्नी भित्रभित्रै रिसले मुर्मुरिएकी रै’छे के थाहा ? पाकेका गोलभेँडाजस्ता राताराता आँखा पार्दै एक्कासि लोग्नेका गालामा ‘चड्याम्म’ हानी ।

गोविन्देले राति पनि तोरीको फूल देख्यो । स्वास्नी अर्को कोल्टे फर्केर नब्बोलीकन सुती । छोराछोरी सुतिसकेका थिए । धन्न कसैले थाहा पाएनन् । नत्र बित्याँस पर्ने ।

भोलि भयो । स्वास्नी धुम्म परेको दिनजस्तो भएकी थिई । गोविन्दे चियै नपिई पसल गयो । पूरै दिन उसले मोबाइलको ठाँडो छुँदै छोएन । निमेष, पल, मिनेट, घन्टा हुँदै फेरि रात पर्यो । रात त परो । जो पर्नु नै थियो । तर स्वास्नीका घैँटामा घाम लाग्छ कि भन्ने तुस गोविन्देलाई मनको अन्तरकुन्तरमा छँदै थियो ।

डराएको गोविन्दे आज डराईडराई सुत्ने तर्खरमा लाग्यो । निचाल र निशब्द ऊ आरामका लागि कोसिस गर्दै आफ्नो भागमा परेको एक चौथाई ओच्छ्यानमा लुसुक्क ढल्कियो । थाकेको जीउ थियो । मूढो लडेझैँ डङ्रङ्ग के पल्टिएको थियो । छिनभरमै निदायो ।

भाते निद्र्रामा गोविन्दे फ्वाँफ्वाँ गरेर सुतिरहेको थियो । पिसाबले जोडले चेपेछ । ब्यूँझियो । ब्यूँझदा स्वास्नी पनि कोल्टे फेर्दै सुत्न नसकेको भेउ पायो । बत्ती बाल्यो र घडी हेर्यो । रातको सवा बाह्र भएको रै’छ ।

स्वास्नी मसिनो आवाजमा कराई –‘निभाउनु नि बत्ती । ह्याँ निद्रा परेकै छैन ।’

उसले सोध्यो –‘किन सञ्चो भएन ?’

‘छ, तर पटक्कै निद्रा परेन । तपाईंका हिजोका कुरा मनमा झुत्ती खेले ।’ – उसको भनाइको मेहेरोबाटै गोविन्देले स्वास्नी केही भन्न खोज्दैछ भन्ने लख काट्यो ।

गोविन्दे स्वास्नीको नजिक गयो । पाखुरामा समातेर कपाल मुसारीदिँदै साउतीका स्वरमा भन्यो –‘भन् न त भन् । के भन्न खोज्दैछेस् ? सप्पै भन् । मैले मेरा लागि मात्र भनेको होइन क्यारे ! फाइदा हुन्छ भन्छ रामबिस्ने । परिवारैको कल्याण हुन्छ भने नयाँ खेती गरौं भनेको मात्र हूँ । मलाई पनि सप्पै कुरो त कहाँ था’छ र ! हामी उसलाई भनेबमोजिमका फोटा दिऊँ । बाँकी काम उसैले फत्ते गर्छु भनेको छ । बालखैदेखिको साथी हो । नाफा भयो भने आधाआधा हिसाब मिलाऊँला भनेको छ । भनेको मान्छेस् भने आजैदेखि खेती सुरू गरौं । भन के भन्छेस् ?’

मानिसको जात लोभ देखाउँदा नलोभिने कुरै भएन । मानी । उसकी स्वास्नीले उसका कुरा सप्पै मानी । गोविन्देका आँखामा भागेको निद्राका ठाउँमा आसाका इन्द्रेणी लागे । दुवै आँखा चम्किला भएर आए । यतिखेर उसले स्वास्नीलाई पनि उज्याली देख्यो ।

साउतीकै सुरमा उसले पनि लोग्नेसँग जिज्ञासा राखी –‘सधैंको जस्तो कि फरक हुन्छ रमेशका बाउ …..?’ यति भनेर उसले लोग्नेलाई बत्ती निभाउन भनी ।

गोविन्देले कुरा बुझायो । केही प्राविधिक निर्देशन गर्यो । माउ बत्ती निभाएर बच्चो बत्ती बाल्यो । मोबाइलबाट फोटा खिचेर सनातनदेखि चल्दै आएको क्रीडा केलीमा दुवै आनन्दपथ हुँदै परमानन्दका यात्री भए । रमाए । स्वास्नी धर्ती भएर फैलिई । लोग्ने आकाश भएर बर्सियो । खेती गराइ विगतकै शैलीमा थियो । आगतमा प्रविधिले केही लौह उत्तेजनाका बिजुली मिलिक्क चम्किए । मेधका नादमा दुवै नटराज र नटराज्ञी भए । आरम्भमा पुरुषको ताण्डव नाच नाँचियो । अन्त्यमा महिलाको लास्य भाव । आदिम सत्यलाई प्रविधिको फड्के साक्षी राखेर नथाकुञ्जेल जिज्ञासाका पर्वतारोहणमा दुवै जब्बर आरोही भए । कतिञ्जेल वर्षा भयो ? कतिञ्जेल चट्याङ् पर्यो ? दुवैले हेक्का राखेनन् । रात्रिकालीन झरी बिदो भयो । पानी परेर भिजेको माटाको जस्तो स्निग्ध बास्ना कोठैभरि छरियो । सुत्ने यत्न गर्दा ‘कुखुरी काँ’ गरेको सुनियो । दुवैले तीन प्रहर रात पत्तै नभई बितेको बल्ल पत्तो पाए ।

‘रामबिस्नेले कतै तराजुको पल्ला ऊतिर मात्रै भारी त गर्दैन ?’

‘आफ्नो हात काटेर दिएपछि के विश्वास ?’

‘धत् ! मैले बहकाउमा लागेर कतै नगर्ने काम त गरिनँ ?’

‘रामबिस्नेले मात्र केरा खाएर बोक्रा हामीतिर फेक्योँ भने ?’ –यी र यस्तैयस्तै जिज्ञासु प्रश्नका पोयाहरूमा बाटिँदै र डरका यमानका लठाराहरूमा हल्लिँदै शनैःशनैः गोविन्दे रातभरि जाग्रामरूपी अनिदोमा पिङ खेल्दै रह्यो । अघि उत्सुकताले निदाउन नसकेको गोविन्दे अहिले डरका मारे निदाउन सकेन ।

धेरै पैसो कमाउने सपना अँझै बाँकी भएको रातमा देख्न सकिन्छ कि भनी स्वास्नी बीचमा छोराछोरी राखेर विपरित दिसातर्फ फर्केर सुती । जसरी केही प्रहर अघि गोविन्दे सुतेको थियो । अर्कोतर्फ गोविन्देलाई काम फत्ते गरिसकेपछि पनि भित्री मनमा आफूले नकाम गरेँ कि भन्ने भावले चिमोटिरह्यो ! चिमोटिरह्यो !!

।। समाप्त ।।

पेशल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *