Skip to content
MatiPrasadDhakal


आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)द्वारा लिखित सातकाण्डी रामायण अन्तर्गतको पहिलो बालकाण्डको सर्वप्रथम प्रकाशन गर्ने काम मोतीराम भट्ट (१९४१)ले गरेका भए पनि सम्पूर्ण रामायणको सर्वप्रथम प्रकाशन भने डमरुवल्लभ पोखर्‍याल (१९४२)ले नै गरेका हुन् । इतिहासकै गर्भमा लुकिरहेका यी दुवै संस्करणहरूलाई नेपाली वाङ्मयका पाठकसामु सर्वप्रथम परिचित गराउने श्रेय चाहिं कमल दीक्षित (२०१४ र २०१७)लाई नै छ । सूर्यविक्रम ज्ञवालीले भानुभक्तीय रामायणका विभिन्न संस्करणहरूको तुलनात्मक अध्ययन गरी विविध पाठभेद र टिप्पणीसहित भानुभक्तको रामायण (१९८९ र २०११) को सम्पादन गर्दा यी दुवै संस्करणहरूको उपयोग गरेका थिएनन् भने भानुभक्तीय रामायणका हस्तलिखित कुनै पनि प्रतिहरूको उपयोगसमेत उनको अध्ययनमा हुन सकेको थिएन । वर्तमान समयमा बहुप्रचलित साझा प्रकाशनद्वारा प्रकाशित भानुभक्तको रामायण (२०३९—२०५८) ज्ञवाली संस्करण (२०११) मैं आधारित भए पनि यी दुवै संस्करणका बीचमा समेत हुबहु समानता कायम रहन सकेको छैन । यसै सन्दर्भमा कमल दीक्षित (२०५६ र २०६१)ले भानुभक्तीय रामायणको मूलपाठमा एकरूपता कायम हुनुपर्छ र यसका लागि ज्ञवालीले खनिदिएको बाटोमा नया भाषाप्रेमी साहित्यिक पुस्ताले पाइला चालिदिनुपर्छ भनेर चेतना जगाइदिएका हुन् । फलस्वरूप उनकै चेतनाले ब्यूँझिएर भानुभक्तीय रामायणका पाठभेदहरू (२०६३) नामक पहिलो पाइलो चाल्न खोजिएको थियो, जसलाई उनै कमल दीक्षितले डोर्‍याएर जनसमक्ष ल्याइदिएका छन् । यसै क्रममा अहिले विविध पाठभेद र टिप्पणीसहित सम्पादित भानुभक्तका लघुरचनाहरू नामक दोस्रो अनुसन्धान प्रस्ताव जनसमक्ष प्रस्तुत गर्न खोजिएको हो ।

१.लघुरचनामा एकरूपताको आवश्यकता

वर्तमान समयमा हामीहरूले भानुभक्तका लघुरचनाहरू भन्नाले बाइस श्लोके भक्तमाला, अठचालीस श्लोके प्रश्नोत्तरमाला, प्रस्तावनासहितको छत्तीस श्लोके वधूशिक्षा र उनन्चालीस ओटा फुटकर रचनाहरू बुझ्दै र पढ्दै आएका छौं । मोतीराम भट्ट (१९४१) देखि मुक्तिनाथ आचार्य (२०६३)सम्म भानुभक्तीय लघुरचनासङ्ग्रहहरूको सम्पादन तथा प्रकाशनको लामो शृङ्खलामा यी रचनाहरूमा विभिन्न पाठभेदहरू, श्लोकसङ्ख्याक्रममा घटबढ एव म विभिन्न टीकाटिप्पणीहरू पनि हुँदै आएका छन् र एउटै सम्पादकले समेत आफ्ना दोस्रा–तेस्रा चरणका अध्ययनहरूमा एकरूपता ल्याउन सकेको देखिंदैन ।

मोतीराम भट्ट (१९४१) देखि कालक्रमिक रूपमा प्रकाशित हुँदै आएका भानुभक्तका लघुरचनासङ्ग्रहहरू पनि वर्तमान समयमा प्राय: दुर्लभ हुँदै गइरहेका छन् र केही दशक यता साझा प्रकाशनद्वारा प्रकाशित भानुभक्तको रामायण (२०३९–२०५८)मा सङ्गृहित भानुभक्तका लघुरचनाहरूलाई नै नेपाली विद्वान् अनुसन्धाता र पाठकहरूले आधिकारिक र प्रामाणिक ठहर्‍याउँदै आएको पाइन्छ ।

भाषाका भक्त भानुभक्तले प्रयोग गरेको भाषा र उनका लघुरचनाहरूको यथार्थ स्वरूप ठम्याउन भानुभक्तीय लघुरचनाहरूमा आधारित ऐतिहासिक सङ्ग्रहहरूको विशेष महत्त्व हुनसक्छ । त्यसैले उपलब्ध हुनसक्ने यस्ता ऐतिहासिक लघुरचनासङ्ग्रहहरू र प्रचलित लघुरचनाहरू (२०५८)का बीचमा देखापर्ने पाठभेदहरूको तुलनात्मक अध्ययन गरी भानुभक्तका समग्र लघुरचनाहरूको मूलपाठमा यथासम्भव एकरूपता ल्याउनुपर्ने आवश्यकता देखिएको हो ।

२. लघुरचनाको रचनाकाल

२.१ वधूशिक्षा
मोतीराम भट्ट (१९४८ : १९)ले वधूशिक्षाको रचना वि.सं. १९१९मा भएको उल्लेख गरेका थिए र जसलाई सबै जीवनीकार विद्वान्हरूले समर्थन गर्दै आएको पाइन्छ ।

२.२ प्रश्नोत्तरमाला
मोतीराम भट्ट (१९४८ : १८)ले यसको रचना रामायणको समाप्तिपछि र वधूशिक्षा (१९१९) अघि भएको बताएका छन् भने शम्भुप्रसाद ढुङ्ग्याल (२०४९ : ३६)ले मोतीराम भट्टकै भनाइलाई अनुकरण गरेका छन् । बाबुराम आचार्य (२००३ : ९८)ले यसको रचना वधूशिक्षा (१९१९) पछि र भक्तमालाभन्दा अघि भएको आशय प्रकट गरेका छन् । नरनाथ आचार्य (२०१७ र २०३६)का अनुसार भानुभक्तले यसको रचना काशीमा पढ्न बस्दा गरेका र यसको समाप्तिचाहिा रामायणको अनुवाद थाल्नु (१९९५)भन्दा अघि नै गरिसकेका थिए, जसलाई व्रतराज आचार्य (२०५८ : ९१)ले पनि समर्थन गरेका छन् । इन्द्रबहादुर राई (२०२६ : ७९)ले रामगीतासहितको हस्तलिखित रामायण (च ३१०, ३२ ख) भेटिएको हुँदा प्रश्नोत्तरमाला भानुभक्तको अन्तिम कृति हो कि ∕ भन्ने आशय व्यक्त गरेका छन् । साथै प्रश्नोत्तरमालाको छत्तीसौं श्लोकमा छन्द बदलिएका कारण राई (२०२६ : ७०)ले यसको रचना समयको दुई व्यवधानमा भएको थियो भन्ने पनि जनाएका छन् । यसका आधारमा प्रश्नोत्तरमालाको प्रारम्भ नरनाथले उल्लेख गरेझैं काशीमा गरिएको र त्यसको पूर्ति चाहिा बाबुरामले भनेझैं वधूशिक्षापछि र भक्तमालाअघि सम्भवत: वि.सं. १९२१तिर भएको हुनसक्छ ।

२.३ भक्तमाला
मोतीराम भट्ट (१९४८ : १८) र शम्भुप्रसाद ढुङ्ग्याल (२०४९ : ३६)ले प्रश्नोत्तरमाला सँगसँगै यसको रचना भएको जनाएका छन् भने बाबुराम आचार्य (२००३ : ९८)ले प्रश्नोत्तरमालापछि यसको रचना भएको आशय प्रकट गरेका छन् । नरनाथ आचार्य (२०१७ र २०३६)ले यसको प्रारम्भ प्रश्नोत्तरमालाका साथ काशीमैं भए पनि अन्त चाहिा १९२१/१९२२तिर भएको हुनु सम्भव छ ।

२.४ फुटकर रचना
भानुभक्तका फुटकर कविताहरूको रचनाकालका बारेमा पूर्णत: यकीन गर्न सकिंदैन तापनि कविताका प्रथम सूचकहरूले जेजस्तो जानकारी प्रदान गरे, त्यसैका आधारमा केही कविताहरूको रचनाकाल निश्चित गर्न सकिन्छ, जसलाई यसै सङ्ग्रहअन्तर्गत फुटकर कविताहरूको टिप्पणीमा उल्लेख गरिएको छ ।

३. लघुरचना–सङ्ग्रहहरूको प्रकाशन शृङ्खला

भानुभक्तका लघुरचनाहरूलाई सर्वप्रथम प्रकाशनमा ल्याउने सक्रियता मोतीराम भट्ट (१९४१)ले नै देखाएका हुन् र त्यसपछि अन्य विद्वान्हरूले यस कार्यलाई निरन्तरता दिँदै आएको पाइन्छ ।

३.१ प्रश्नोत्तरमाला र भक्तमाला (१९४१)
तेजबहादुर रानाको प्रकाशकत्वमा वि.सं. १९३१ आश्विन शुक्ल तृतीया सोमवारका दिन अम्बिकाचरण चट्टोपाध्यायको अमर यन्त्रालय (प्रेस)मा प्रश्नोत्तरमाला र भक्तमालाको संयुक्त प्रकाशन भएको हो । यस पुस्तकमा मोतीराम भट्टको नाम नभेटिएकै कारण यसमा उनको संलग्नता थिएन भन्न सकिँदैन । सम्भवत: मोतीराम भट्टले यसको सम्पादन गरेका हुन सक्छन् र बालकाण्डको सर्वप्रथम संस्करण (१९४१)मा झैं यसमा पनि उनको नाम छुटेको हुन सक्छ । “…बालकाण्ड रामायण प्रष्णोत्तर भक्तमाला छपायौं…” भन्ने तेजबहादुर रानाद्वारा लिखित बहुवचनमा आधारित समर्पण वाक्यांशका आधारमा पनि यसको प्रकाशनमा मोतीराम भट्टको संलग्नता थियो होला भन्न सकिन्छ । भानुभक्तीय प्रश्नोत्तरमाला र भक्तमालामा आधारित प्राचीन लेखोटहरू प्राप्त गर्न नसकिएकोले यही सङ्ग्रह नै प्रश्नोत्तरमाला र भक्तमालाका सम्बन्धमा हालसम्मको आधिकारिक र प्रामाणिक सङ्ग्रह ठहरिएको छ तापनि यो सङ्ग्रह हाल दुर्लभ नै छ ।

३.२ कवि भानुभक्तको जीवन चरित्र (१९४८)
मोतीराम भट्टद्वारा लिखित एव म बाबू रामकृष्ण वम्र्माद्वारा सम्पादित यस पुस्तकको सर्वप्रथम प्रकाशन वि.सं. १९४८ भाद्र कृष्णाष्टमीका दिन भारतजीवन यन्त्रालय (प्रेस) काशीमा भएको थियो । यसै जीवन चरित्रमार्फत् मोतीराम भट्टले भानुभक्तको जीवनीका प्रसड्डमैं वधूशिक्षाको प्रस्तावनाका तीन श्लोक, “भानूभक्त भनी…” इत्यादि कविताका साथै प्रचलित फुटकर रचनामा पढिँदै आइएका १, २, ३, ४, ५, ६, ८, १०, १२, २१, २८, २९, ३२ र ३४ औं गरी चौध ओटा भानुभक्तीय फुटकर रचनाहरूलाई सर्वप्रथम प्रकाशमा ल्याएका थिए । साझा प्रकाशनले वि.सं. २०३९ देखि हालसम्म यसका थप तीन संस्करणहरू प्रकाशित गरेर यसलाई नेपाली पाठकका सामु सर्वसुलभ बनाउँदै आएको छ ।

३.४ भाषा नवरत्न (१९९१)
मोतीराम भट्ट (१९२३–१९५३)ले आफ्नो जीवनकालको अन्तिम तेह्र वर्षको अन्तरालमा आफूले प्राप्त गर्न सकेका भानुभक्तका समस्त रचनाहरू सर्वप्रथम प्रकाशमा ल्याएका थिए र त्यसपछि अरुहरूले तिनका के–कति थप संस्करणहरू निकाले ? भन्ने बारेमा यस अध्ययनमा पूर्ण जानकारी प्राप्त गर्न सकिएको छैन तापनि सम्भवत: मोतीराम भट्टपछि फुटकर रचना बाहेकका तीन लघुरचनाहरूको प्रकाशनमा बाबू माधवप्रसाद शर्माकै योगदान रहयो होला । उनले प्रकाशमा ल्याएका भाषा नवरत्नका दुई संस्करणको उपयोग यस अध्ययनमा गरिएको छ । सम्भवत: पहिलो संस्करण वि.सं. १९९१ कै हुनुपर्छ, जसमा ४८ पृष्ठ छन् भने दोस्रो संस्करण ५२ पृष्ठको छ र यसको मुखपृष्ठ उपलब्ध हुन नसकेकोले प्रकाशनकाल अवगत हुन सकेको छैन । मोतीराम भट्टले सर्वप्रथम प्रकाशमा ल्याएका भानुभक्तका लघुरचनाहरूलाई नै आधार मानेर बाबू माधवप्रसादले लघुरचनाहरूको प्रकाशन गरेको हुनुपर्छ तापनि दुवैका अध्ययनहरूको तुलनात्मक अध्ययन गर्दा धेरै पाठभेदहरू देखिएका छन् र भाषा नवरत्नका दुवै संस्करणहरूका बीचमा समेत पाठभेदहरू देखापरेका छन् । बाबू माधवप्रसाद शर्माले नै वा प्रूफरिडर जसले भए पनि भाषा नवरत्नका पाठभेदहरू सोद्देश्यमूलक रूपमा संशोधन गर्दा देखिएको हुनुपर्छ ।

३.५ भानुभक्त मणिमाला (१९९८)
भानुभक्त आचार्यकी नातिनी विष्णुमायाले आफ्नै व्यक्तिगत खर्चमा वि.सं. १९९८मा यस पुस्तकको प्रकाशन गरी नि:शुल्क रूपमा वितरण गरेकी थिइन् र यसमा भानुभक्तका सातकाण्ड रामायण, वधूशिक्षा, प्रश्नोत्तरमाला, भक्तमाला र सत्र ओटा फुटकर रचनाहरूका साथै भानुभक्तका पुत्र रमानाथका केही कविताहरू पनि सङ्गृहित छन् । विष्णुमायाले यस सङ्ग्रहमा प्रचलित फुटकर रचनाहरूमध्ये मोतीराम भट्टले सूचित नगरेका सातौं, नवौं र तेह्रौं रचनालाई सर्वप्रथम प्रकाशमा ल्याएकी हुन् भने ब्रह्म शमशेर (१९९५ :२१)द्वारा सर्वप्रथम सूचित गरेको एघारौं रचनालाई समेत यसमा प्रकाशित गरेकी छन् । साथै उनले भानुभक्तका प्रचलित ३३, ३६, ३७ र ३८ औं फुटकर रचनाहरू सर्वप्रथम प्रकाशन गरेकी भए पनि यिनलाई उनले भानुभक्तका पुत्र रमानाथ आचार्यका रचना हुन् भनेकी छन् । यस सङ्ग्रहमा फुटकर रचनाहरूबाहेक भानुभक्तका अन्य लघुरचनाहरूको सङ्ग्रहस्रोत भाषा नवरत्न (१९९१) बाटै ग्रहण गरिएको देखिन्छ ।

३.६ पुराना कवि र कविता (२००३)
बाबुराम आचार्य (२००३ : ८७–१२४)द्वारा लिखित तथा सम्पादित यस सङ्ग्रहमा पुराना अन्य कविहरूका झैं भानुभक्तका लघुरचनाहरू पनि प्रकाशित छन् । यसमा भानुभक्तका वधूशिक्षा, प्रश्नोत्तरमाला, भक्तमालाका साथै एक्काइस ओटा फुटकर रचनाहरू सङ्गृहित छन् । भक्तमालाका अघिल्ला पन्ध्र श्लोकहरूको संस्कृत अनुवाद पनि यसै सङ्ग्रहमा उपलब्ध छ । बाबुरामले यस सङ्ग्रहमा आफ्ना पूर्वज मोतीराम भट्ट आदिले सूचित तथा प्रकाशित नगरेका तीन ओटा फुटकर कविताहरू सर्वप्रथम प्रकाशमा ल्याएका थिए, जसलाई नरनाथ आचार्य (२०३६) र प्रचलित फुटकर रचनासङ्ग्रह (२०३९—२०५८)ले १४.२, १८ र ३१ औं रचनाका रूपमा पढ्दै आएका छन् । साथै उनले यसै सङ्ग्रहमा “भर्जन्म घाँसतिर…” इत्यादि दुई श्लोकको रचना मोतीराम भट्टले र “भानूभक्त भनी…” इत्यादि एक श्लोकको रचना भानुभक्तका कुनै मित्रले बनाइदिएको हुँदा यी दुवै रचना भानुभक्तका होइनन् भन्ने जानकारी दिएका थिए । यस अध्ययनमा उपयोग गरिएका भानुभक्तका लघुरचना–सङ्ग्रहहरूमध्ये तुलनात्मक रूपमा बढी पाठभेदहरू बाबुराम आचार्यद्वारा लिखित तथा सम्पादित यसै सङ्ग्रहमा फेला परेका छन् र यसरी सोद्देश्यमूलक रूपमा पाठसंशोधन गर्नुको कारण चाहिा उनले खुलाएको पाइँदैन ।

३.७ भानुभक्त ग्रन्थावली (२००९)
पारसमणि प्रधानद्वारा सम्पादित यस सङ्ग्रहमा भानुभक्तीय रामायणका सातै काण्ड, भक्तमाला, प्रश्नोत्तर, वधूशिक्षा र सात ओटा फुटकर रचनाका साथै मोतीराम भट्टद्वारा लिखित कवि भानुभक्तको जीवन चरित्र (१९४८) समेत प्रकाशित छन् । यसमा लघुरचनासङ्ग्रहको स्रोत बाबुराम आचार्य (२००३) कै अध्ययनबाट ग्रहण गरिएको भए पनि यसमा समेत थप केही पाठभेदहरू पाइन्छन् ।

३.८ आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र (२०१७)
नरनाथ आचार्यद्वारा लिखित यस सङ्ग्रहमा भानुभक्तको जीवन चरित्र वर्णन गर्ने सन्दर्भमा वधूशिक्षाका केही श्लोक र अठ्तीस ओटा फुटकर रचनाहरूको रचनासन्दर्भ र पूर्णपाठ प्रकाशित गरिएको छ । नरनाथले प्रचलित फुटकर रचनाहरूमध्ये १४.१, १५, १६, १७, १९, २०, २२, २३, २५, २६, २७, ३० र ३५ औं गरी तेह्र ओटा भानुभक्तका फुटकर कविताहरू सर्वप्रथम यसै सङ्ग्रहमा प्रकाशित गरेका हुन् भने विष्णुमाया (१९९८)ले रमानाथका भनी प्रकाशित गरेका ३३, ३६, ३७ र ३८ औं फुटकर कविताहरूसमेत भानुभक्तकै हुन् भनी यस सङ्ग्रहमा प्रकाशित गरिएका छन् । साथै यसमा मोतीराम, ब्रह्म शमशेर, विष्णुमाया र बाबुरामले सूचित एव म प्रकाशित गरेका अपूर्ण एव म अपरिमार्जित कविताहरूलाई पूर्ण रूपमा परिमार्जन गरी प्रकाशन गरिएको छ तापनि यसमा सङ्गृहित फुटकर कविता र वधूशिक्षामा समेत धेरै पाठभेदहरू भेटिएका छन् ।

३.९ भानुका लघु कृतिहरू (२०२३)
प्रा.जुननाथ शर्मा पण्डितको सम्पादकत्वमा भानु सेवा समितिद्वारा वि.सं.२०२३मा प्रकाशित यो सङ्ग्रह भानुभक्तका लघुरचनाहरूको यथासम्भव शुद्ध संस्करण निकाल्न खोजेको पहिलो प्रयास हो । यसमा नेपाली भाषाका सन्दर्भमा भानुभक्तीय भाषाको ऐतिहासिक सर्वेक्षण गर्दै अन्तमा केही पाठभेदहरूका बारेमा चर्चा गरी सम्पादकद्वारा लेखिएको गहन भूमिका छ । त्यसपछि क्रमश: वधूशिक्षा, प्रश्नोत्तर र भक्तमालाको पाठ पढी अन्तमा नया उपलब्धिका रूपमा अठ्तीस ओटा फुटकर रचनाहरूको रचनासन्दर्भसहित पाठ प्रस्तुत गरिएको छ । प्रा.जुननाथ शर्माकै पुत्र डा.प्रयागराज पण्डितद्वारा वधूशिक्षा, प्रश्नोत्तर र भक्तमालाको अङ्ग्रेजी भाषामा अनूदित अंश पनि मूलपाठसाँगै यस सङ्ग्रहमा प्रकाशित छ । यस सङ्ग्रहमा देखिने पाठभेदहरूको तुलनात्मक अध्ययन गर्दा विशेषत: बाबू माधवप्रसाद शर्मा (१९९१), विष्णुमाया (१९९८) र नरनाथ आचार्य (२०१७)का अध्ययनबाटै यस सङ्ग्रहमा भानुभक्तीय लघुरचना पाठको स्रोत ग्रहण गरिएको हुनसक्ने सम्भावना देखिएको छ ।

३.१० भानुभक्तका कृति अध्ययनहरू (२०२६)
इन्द्रबहादुर राईद्वारा सम्पादित तथा नेपाली साहित्य परिषद् दार्जीलिङद्वारा भानुभक्तीय शतवार्षिक प्रकाशनका सन्दर्भमा वि.सं. २०२६मा प्रकाशित यस सङ्ग्रहमा भानुभक्तका पाँच ओटा छुट्टाछुट्टै कृतिहरूका बारेमा गम्भीर अध्ययन–अनुशीलन गरी लेखिएका लेखहरू समावेश गरिएका छने । यही सङ्ग्रह (पृ.२)ले भानुभक्तीय रचनाका सन्दर्भमा “अँझसम्म आधिकारिक संस्करणको महत्त्व र प्रकाशनमा कसैको ध्यान गएको छैन” भनी उद्घोष गरेको थियो । यस सङ्ग्रहका लघुकृतिसँग सम्बन्धित प्रत्येक लेखको अन्तमा परिशिष्टका रूपमा सम्बन्धित मूलपाठ मूलत: बाबुराम आचार्य (२००३) कै अध्ययनमा आधारित भए पनि यसमा समेत केही पाठभेदहरू फेला परेका छन् ।

३.११ आदिकवि भानुभक्त आचार्यको सच्चा जीवन चरित्र (२०३६)
नरनाथ आचार्यद्वारा लिखित जीवन चरित्रको यो दोस्रो संस्करण परिष्कृत र परिवद्र्धित रूपमा प्रकाशित भएको छ । यसमा हरिहर भट्टराई (२०३०)ले सूचित गरी प्रकाशमा ल्याएको “क्याले भुल्छौ…” इत्यादि फुटकर रचना थप गरिएको छ, जसलाई प्रचलित सङ्ग्रहले उनन्चालीसौं फुटकर रचनाका रूपमा पढ्दै आएको छ । वधूशिक्षा, प्रश्नोत्तरमाला र भक्तमालाको मूलपाठ मोतीराम भट्ट (१९४१ र १९४८) कै अध्ययनमा आधारित भए पनि शिवराज आचार्य आदि यसका सम्पादकहरूले मोतीराम संस्करणका कमी–कमजोरीहरू औंल्याउँदै टिप्पणी र पाठभेदहरूसमेत दिने प्रयास गरेका छन् । भानुभक्तका लघुरचनाहरूका बारेमा गरिएका आलोचनाहरूको परीक्षण गर्दै तिनको खण्डन तथा मण्डनसमेत यसमा गरिएको छ । जीवनीकै सन्दर्भमा भानुभक्तका लघुरचनाहरूको अत्यन्त गहन अध्ययन–विश्लेषण गरिएको ग्रन्थ भएर पनि यसमा तत्कालीन समयमा समुपलब्ध भानुभक्तका लघुरचनाहरूमा देखापरेका पाठभेदहरू औंल्याउने प्रयास चाहिा हुन सकेको छैन र पहिलो संस्करण (२०१७)मा प्रस्तुत वधूशिक्षाको पाठसँग यस संस्करणका वधूशिक्षाका पाठको तुलनात्मक अध्ययन गर्दा केही पाठभेदहरू भेटिएका छन् ।

३.१२ आदिकवि भानुभक्ताचार्यको जीवन चरित्र (२०४९)
शम्भुप्रसाद ढुङ्ग्यालद्वारा वि.सं. १९६९मा लेखिएको भए पनि वि.सं. २०४९मा आएर मात्र शरद्चन्द्र शर्मा र घटराज भट्टराईको सम्पादकत्वमा नीहार प्रकाशन गृह काठमाडौंले यसलाई प्रकाशित गरेको हो । मोतीराम भट्टद्वारा लिखित भानुभक्तको जीवन चरित्रसाग यसको तुलनात्मक अध्ययन गर्दा कतिपय वाक्यांश, वाक्य र अनुच्छेदहरू नै समेत यसमा हुबहुजस्ता लाग्छन् । मोतीराम भट्टले चर्चा गरेका सबै फुटकर रचनाहरू यसमा पनि छन् । यसका अतिरिक्त भानुभक्तकै भनी चलन–चल्तीमा आएको “जस्द्वारा जतिमा जहा…” इत्यादि सत्रौं रचनासँग सम्बन्धित श्लोक र “रामायण् छ अगम्…” इत्यादि श्लोक पनि यसमा भानुभक्तकै भनी पढिएको छ । यस सङ्ग्रहमा प्रचलित फुटकर कविताहरूमध्ये ४, ५, १०, १७ र ३४ औं रचनाअन्तर्गत क्रमश: २, ७, १, १ र ३ गरी चौध ओटा थप श्लोकहरू भेटिन्छन् भने हालसम्म अन्यत्र चर्चा–परिचर्चा हुन नसकेका पच्चीस ओटा नया फुटकर रचनाहरूअन्तर्गत सत्ताइस श्लोकहरू सर्वप्रथम यसै सङ्ग्रहमा प्रकाशित भएका हुन् र थप तथा नया समेत एकचालीस ओटा श्लोकहरूमध्ये अधिकांश श्लोकहरू भानुभक्तको रचनाशैलीसँग मेल नखाने खालका भए पनि केही चाहिा भानुभक्तका फुटकर रचनाभित्र समावेश गर्न सकिएला । भानुभक्तका त्यस्ता एकचालीस श्लोके थप तथा नया फुटकर कविताहरू तुलनात्मक सम्परीक्षणका लागि यसै सङ्ग्रहको परिशिष्ट (छ)मा राखिएको छ । यस सङ्ग्रहको मुखपृष्ठमा शम्भुप्रसाद ढुङ्ग्यालकै हस्ताक्षरको “भक्ति धारि बिदारी पाप मनले…” इत्यादि श्लोकलाई सम्पादकद्वयले “भक्ति भाव बढाइ स्वच्छ मनले…” भनी संशोधन गरिदिएझैं यसमा प्रकाशित भानुभक्तीय केही रचनाहरू पनि सच्याइएका हुनसक्छन् । यस जीवनचरित्रको लेखोट उपलब्ध हुन सकेमा भानुभक्तीय वर्णविन्यासका साथै भानुभक्तीय फुटकर रचनाको यथार्थ स्वरूप ठम्याउन सकिने केही आधारहरूसमेत यसले प्रदान गर्नसक्ने प्रबल सम्भावना रहेको छ ।

३.१३ भानुभक्तको रामायण (२०३९—२०५८)
भानुभक्तीय समग्र रामायणका साथै भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र उनन्चालीस ओटा फुटकर रचनाहरूसमेत समावेश गरी साझा प्रकाशनद्वारा वि.सं. २०३९ देखि प्रकाशन हुँदै आएको यस सङ्ग्रहका हालसम्म चार ओटा संस्करणहरू प्रकाशित भइसकेका छन् र यही सङ्ग्रह नै नेपाली पाठकहरूका बीच सर्वसुलभ पनि छ । यस सङ्ग्रहका फुटकर रचनाहरू नरनाथ आचार्य (२०३६)का अध्ययनमा तथा अन्य लघुरचनाहरू मूलत: बाबुराम आचार्य (२००३)का अध्ययनमा आधारित छन् तापनि यसका चारै संस्करणका बीचमा र अरुले नै प्रकाशित गरेका भानुभक्तीय लघुरचनासङ्ग्रहहरूसँग यसको तुलनात्मक अध्ययन गर्दा यसमा धेरै पाठभेदहरू देखिएका छन् ।

३.१४ भानु दर्शन (२०६३)
प्रा.दैवज्ञराज न्यौपाने र प्रा.डा.व्रतराज आचार्यद्वारा सम्पादित एव म भानु प्रतिष्ठान काठमाडौद्वारा वि.सं. २०६३ असारमा प्रकाशित भानुदर्शन पत्रिकाको आठौं पूर्णाड्ढलाई भानुका लघुकृति विशेषाड्ढ भन्ने नाम दिइएको छ । यस विशेषाड्ढलाई दुई खण्डमा विभक्त गरिएअनुसार पहिलो खण्डमा भानुभक्तका लघुकृतिका रूपमा फुटकर कविता, प्रश्नोत्तरमाला, रामायण महात्म्य, भक्तमाला, वधूशिक्षा, रामगीता र पाण्डुलिपिहरू प्रकाशित गरिएको छ भने दोस्रो खण्डमा भानुभक्तको जीवनी, काव्ययात्रा र पाण्डुलिपिका सम्बन्धमा सम्पादकद्वयकै तीन ओटा लेखहरू समावेश गरिएका छन् । यो सङ्ग्रहमा व्रतराज आचार्यको अघिल्लो अध्ययन आदिकवि भानुभक्त जीवनी र कविताको सम्परीक्षण (२०५८) को प्रभाव परेको र तुलनात्मक रूपमा उनको यो पछिल्लो अध्ययन केही परिष्कृत भए तापनि पाठालोचनको सैद्धान्तिक मान्यताअनुसार विभिन्न संस्करणहरूमा देखापर्ने पाठभेदहरू नदिइकन सम्पादन गरिएको यो सङ्ग्रहसमेत अपूर्ण र अधूरै देखिन्छ ।

३.१५ भानुभक्तको रामायण (२०६३)
भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले राष्ट्रिय अभिलेखालयस्थित ल.सं.च ३१०, वि.सं. ३२ ख सङ्ख्याको भानुभक्तकै हस्ताक्षरको लेखोट भनी पद्मराज काफ्ले (२०६२)द्वारा प्रमाणित गरिएको हस्तलिखित रामायणलाई आधार मानी व्यक्तिगत लगानीमैं २०६३ माघमा यसको प्रकाशन गरेका हुन र यसमा भानुभक्तका भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा तथा एकतिस ओटा फुटकर कविताहरूसमेत सङ्गृहित छन् । मुक्तिनाथ आचार्यले यसभन्दा अघि भानुको भावना (२०२९) र आदिकवि भानुभक्त : खोजपूर्ण जीवनी (२०४२)का माध्यमबाट पनि जीवनीकै सन्दर्भमा भानुभक्तका लघुरचनाहरूको प्रकाशन गरेका थिए । अघिल्ला अध्ययनमा उलने हाल पढिँदै आइएका फुटकर रचनाहरूमध्ये २३, ३३, ३६, ३८ र ३९ औं रचना भानुभक्तका नभई रमानाथका हुन् भनेका थिए भने बाइसौं रचनालाई समेत अभानुभक्तीय ठहर्‍याउँदै उन्नाइसौं र सैंतीसौं रचनाका बारेमा कुनै चर्चा नै गरेका थिएनन् । त्यसैले उनका तीनै अध्ययनले हाल पढिँदै आइएका आठ ओटा फुटकर रचनाहरू भानुभक्तका होइनन् भन्ने प्रमाणित गर्दै एकतिस ओटा फुटकर रचनाहरूलाई मात्र भानुभक्तका रचना ठहर्‍याएका छन्, जसका बारेमा गम्भीर अध्ययन–विश्लेषण हुनु जरुरी छ । उनका अघिल्ला दुई अध्ययनहरूमा लघुरचनाहरूको स्रोत विष्णुमाया (१९९८), नरनाथ (२०१७) र जुननाथ (२०२३)का अध्ययनहरू थिए भने उनको पछिल्लो अध्ययन मूलत: साझाको संस्करण (२०५०) बाटै प्रभावित भएको देखिन्छ । साथै उनका तीनै अध्ययनमा कहीा पाठभेदीय समानता नै पाइन्छ भने कहीा चाहिा तीनै थरी पाठभेदहरू पनि देखिन पुगेका छन् ।

यस अध्ययनमा उपयोग गरिएका उपर्युक्त लघुरचना–सङ्ग्रहहरूका अतिरिक्त विभिन्न समयमा विभिन्न विद्वान्हरूले विभिन्न ठाउँबाट भानुभक्तीय लघुरचनाहरूका थप विभिन्न संस्करणहरू पनि प्रकाशित गरेका हुन सक्छन्, जसका कारण भानुभक्तीय लघुरचनाका पाठभेदहरूको वृद्धि हुँदै जानसक्ने सम्भावना छ तापनि यहा चाहिा उपलब्ध यिनै सङ्ग्रहहरूमा देखापर्ने पाठभेदहरूको तुलनात्मक अध्ययन गरी सम्भावित शुद्ध पाठ प्रस्तुत गर्ने प्रारम्भिक प्रयासमात्र गरिएको छ ।

४. वधूशिक्षाको लेखोट

हालसम्मको अध्ययन–अनुसन्धानमा नेपाली भाषामा लेखिएका वधूशिक्षा शीर्षकसँग सम्बन्धित दुई ओटा लेखोटहरू मात्र फेला परेको कुरा प्रकाशमा आएको छ । तीमध्ये पहिलो लेखोट सत्रश्लोके वधूशिक्षासँग र दोस्रो लेखोट तेत्तीसश्लोके वधूशिक्षासँग सम्बन्धित रहेको पाइन्छ ।

४.१ सत्कविको सत्रश्लोके वधूशिक्षा
वीर पुस्तकालयमा फेला परेको वि.सं. १९१३मा सत्कविद्वारा विरचित सत्रश्लोके वधूशिक्षाको लेखोटलाई सर्वप्रथम बालकृष्ण पोखरेल (२०२१)ले प्रकाशमा ल्याएका हुन् र उनले यसैलाई भानुभक्त आचार्यको वधूशिक्षा हो भन्ने बारेमा आफ्ना तर्कहरू प्रस्तुत गरेका छन् तापनि यसको संरचना भानुभक्तीय शैलीसँग मेल खाने खालको नभएको हुँदा जुननाथ, राजनारायण प्रधान (२०२६), नरनाथ आदिका अध्ययन–अनुसन्धानहरूले सत्रश्लोके वधूशिक्षा भानुभक्तको होइन भन्ने निष्कर्ष निकालेका छन् । तुलनात्मक विचार विमर्शका लागि सत्रश्लोके वधूशिक्षाको मूलपाठ यसै अध्ययनको परिशिष्ट (क)मा दिइएको छ ।

४.२ तेत्तीस श्लोके वधूशिक्षा
व्रतराज आचार्य (२०५८ र २०६३)का दुवै अध्ययनहरूले तेत्तीस श्लोके वधूशिक्षाको लेखोटलाई सर्वप्रथम जनसमक्ष ल्याएका हुन् । भानुभक्तका ठाहिँला बाबु गड्डादत्त आचार्यका सन्ततिहरूको घरबाट वि.सं. २०४० सालतिर चुँदीरम्घास्थित भानु पुस्तकालयमा यो लेखोट प्राप्त हुन आएको थियो र यही लेखोटको परीक्षण गर्दै हस्ताक्षर तथा औंठाछाप विशेषज्ञ पद्मराज काफ्ले (२०६२ : २८)ले “वधूशिक्षामा परेका हस्तलिपि आदिकवि भानुभक्ताचार्यको नै हो” भन्ने निष्कर्ष निकालेका छन् । व्रतराज आचार्यले यसैलाई आधार मानी वधूशिक्षाको पाठसम्पादन गर्ने प्रयास गरेको भए पनि विविध पाठभेद र टिप्पणीहरू औंल्याउँदै यसको सम्पादन गरिनुपर्नेमा उनको अध्ययन यसतर्फ अग्रसर भएको पाइँदैन । यस लेखोटमा प्रचलित वधूशिक्षामा नपाइने “फर्मायस् कुछु सासूको…” इत्यादि दुई पङ्क्ति र “विछाउना लाइ…” इत्यादि चार पङ्क्तिको श्लोक पाइन्छ भने प्रचलित वधूशिक्षा (२९.३/४)का “यस्तो भो यसरी गर्‍या…” इत्यादि दुई पङ्क्तिहरू यस लेखोटमा उपलब्ध छैनन् । भानुभक्तकै हस्ताक्षरमा आधारित भनेर प्रमाणित भए पनि यसको अन्तरड्ड परीक्षण गर्दा देखापरेका कतिपय कमी–कमजोरीहरू र यसै लेखोटको अन्तमा अस्पष्ट रूपमा उल्लिखित मति सड्ढेत शब्दले यो लेखोट भानुभक्तको हस्ताक्षरकै हो भन्ने कुरामा शड्ढा उब्जाउँछ तापनि यस लेखोटको संरचना र वर्णविन्यासको स्वरूप हेर्दा यसमा भानुभक्तकालीन ऐतिहासिक तत्त्वहरू फेला पार्न सकिने सम्भावना छ र पाठालोचनको सैद्धान्तिक मान्यताअनुसार पनि यसै लेखोटलाई आधार बनाएर यस अध्ययनमा वधूशिक्षाको पाठसम्पादन गरिएको छ ।

५. एकचालीस श्लोके भक्तमाला

भानुभक्तीय भक्तमालामा अरु श्लोकहरू पनि थिए भन्ने सर्वप्रथम जानकारी हरिहर भट्टराई (२०३०) र काशीनाथ तमोट (२०३१)ले दिइसकेका हुन् तापनि हालसम्म भक्तमालाका बाइस श्लोकहरूको पाठमात्र बहुप्रचलित हुँदै आएको छ । भक्तमालाका थप श्लोकहरूबारे सूचनाको स्रोत भानुभक्तका कान्छा बाबु इन्द्रविलासका पनाति पं. ज्ञानीशड्ढर आचार्यबाट भट्टराई (२०३०) र तमोट (२०३१)लाई प्राप्त भएको थियो । यसै आधारमा हरिहर भट्टराईले मधुपर्क मासिकको २०३० फागुन अड्ढ (पृ.६१)मा एकचालीस श्लोके भक्तमाला र काशीनाथ तमोटले मधुपर्क मासिककै २०३१ वैशाख अड्ढ (पृ. ३२)मा भक्तमालाका अरु श्लोकहरू शीर्षकका लेखहरू प्रकाशित गरेका हुन् । यी दुवै लेखहरू पढिसकेपछि नरनाथ आचार्यले मधुपर्क मासिककै २०३१ श्रावण अड्ढमा भक्तमालाका विषयमा थप प्रकाश पारेका थिए । भानुभक्तले काशीको विद्यार्थीकालदेखि चुँदीरम्घाको गृहस्थी अवस्थासम्मको विभिन्न कालखण्डमा रचना गरेका भक्तमालाका श्लोकहरूलाई एकत्रित गर्दा एकचालीस श्लोक बन्न पुगेका र भानुभक्तले आफ्नै दृष्टिमा अपरिष्कृत र अनाकर्षक लाग्ने श्लोकहरूलाई हटाएर बाइस श्लोकलाई मात्र लोकमा प्रचार गर्न योग्य ठहर्‍याएको हुनसक्ने धारणा नरनाथ आचार्य (२०३१)ले प्रस्तुत गरेका छन् ।
नरनाथ आचार्यकृत आदिकवि भानुभक्त आचार्यको सच्चा जीवन चरित्र (२०३६ : ११९—१२२)का सम्पादक शिवराज आचार्य आदिले भट्टराई (२०३०) र तमोट (२०३१)का अध्ययनको समीक्षात्मक टिप्पणी गर्दै छन्दोभड्ड भएका ठाउँमा आवश्यक संशोधन गरी भक्तमालाका थप श्लोकहरूको पाठ प्रकाशमा ल्याएका छन् । भट्टराई र तमोटका अध्ययनले तेइसौंदेखि एकचालीसौं श्लोकसङ्ख्या कायम गरी भक्तमालाका थप श्लोकहरू प्रकाशित गरेको भए पनि तेइसौंदेखि सत्ताइसौं श्लोक तथा चौंतीसौं र चालीसौं श्लोक चाहिा प्रचलित भक्तमालामा क्रमश: अठारौंदेखि बाइसौं श्लोक तथा बाह्रौं र एघारौं श्लोकका रूपमा पढिँदै आइएको हुँदा बाह्र ओटामात्र नया श्लोक पाइएका र बाँकी सात श्लोक प्राप्त गर्न नसकिएको टिप्पणी नरनाथ आचार्य (२०३६) को अध्ययनका सम्पादकहरूले गरेका छन् । साथै उनीहरूले यी बाह्र ओटा श्लोकहरू भद्दा र अनाकर्षक भएकै कारण भानुभक्तले काँटछाँट गरेको हुँदा महत्त्पूर्ण नभए पनि पाठकीय कौतुहल निराकरण गर्न प्रकाशमा ल्याएको बताएका छन् ।
डा.व्रतराज आचार्य (२०५८ र २०६३)ले पनि बाइस श्लोके भक्तमालामा नपरेका श्लोकहरू भनी थप श्लोकहरू प्रकाशमा ल्याएका छन् । पहिलो अध्ययनमा उनले बाइस श्लोके भक्तमालाका एघारौं र उन्नाइसौं श्लोकलाई क्रमश: चालीसौं र चौबीसौं श्लोकका रूपमा दोहोर्‍याएका छन् भने दोस्रो अध्ययनमा बाइस श्लोके भक्तमालाको एघारौं श्लोकलाई चांैतीसौं श्लोकका रूपमा दोहोर्‍याएर भक्तमालाका जम्मा पैंतीस श्लोक देखाएका छन् तापनि चौंतीस श्लोकमात्र उपलब्ध हुन सकेका छन् ।
यसप्रकार प्रारम्भिक तुलनात्मक अध्ययन गर्दा भक्तमालाका थप बाह्र ओटा श्लोकहरू प्रचलित भक्तमालामैं समावेश गरी पढ्नुपर्ने देखिन्छ तापनि यिनको विशेष सम्परीक्षण गर्न बाँकी नै रहेको हुँदा यस अध्ययनमा भक्तमालाका यी बाह्र ओटा श्लोकहरू परिशिष्ट (ग)मा उल्लेख गरिएका छन् ।

६. लघुरचनाको संस्कृत र अङ्ग्रेजी अनुवाद

नरनाथ आचार्य (२०१७)ले वधूशिक्षाको संस्कृतमा अनुवाद भएको थियो भन्ने उल्लेख गरे पनि उनका अध्ययनमा वधूशिक्षाको एउटा पङ्क्ति (२०.१) मात्र उपलब्ध छ । नरनाथ (२०१७)ले नै “रोज् रोज्…” इत्यादि र “जागिर् छैन…” इत्यादि दुई फुटकर रचनाको उपलब्ध संस्कृत अनुवाद प्रकाशमा ल्याएका छन् । प्रश्नोत्तरमाला शड्डराचार्यकृत संस्कृत मणिरत्नमालाको नेपाली अनुवाद हो र मूल संस्कृत रचनालाई इन्द्रबहादुर राई (२०२६)ले तुलनात्मक अध्ययनका क्रममा प्रकाशित गरेका छन् । भक्तमालाका अघिल्ला पन्ध्र श्लोकको उपलब्ध संस्कृत अनुवाद सर्वप्रथम बाबुराम आचार्य (२००३)ले प्रकाशित गरेका हुन् र यो नरनाथ आचार्य (२०३६)का अध्ययनमा समेत उपलब्ध छ । वधूशिक्षा, भक्तमाला र प्रश्नोत्तरमाला तीन लघुकृतिको सर्वप्रथम अङ्ग्रेजी अनुवाद गर्ने काम डा.प्रयागराज पण्डितले गरेका हुन् र यो भानुका लघु कृतिहरू (२०२३)मा प्रकाशित भएको छ । यसका अतिरिक्त क–कस्ले, कुन–कुन भाषामा भानुभक्तका लघुरचनाहरूको अनुवाद गर्ने प्रयास गरेका छन् ? त्यसबारे जानकारी प्राप्त गर्न सकिएको छैन । यस अध्ययनमा भानुभक्तीय लघुरचनाहरूको उपलब्ध संस्कृत अनुवादलाई परिशिष्ट ख, घ र ङमा समावेश गरिएको छ ।

७. पाठभेद र टिप्पणीहरू औंल्याउने पूर्वप्रयास

भानुभक्तीय लघुरचनाहरूको पाठसम्पादनका क्रममा पाठभेद र टिप्पणीहरू औंल्याउने सर्वप्रथम प्रयास मोतीराम भट्ट (१९४८)बाट नै भएको हो । उनले भानुभक्तको जीवनीसँगै उनका फुटकर रचनाहरू प्रकाशमा ल्याउने सन्दर्भमा एउटा पाठभेद र पाँच ओटा टिप्पणीहरू उल्लेख गरेका थिए । उनले औंल्याएको “गजाधर् सोतीका…” इत्यादि कविताको गुज्रान पाठान्तर नै यस अध्ययनमा भानुभक्तीय प्रयोग ठहरिन पुगेको छ ।
भानुभक्तका लघुरचनाहरूको पाठसम्पादनका क्रममा पाठभेद र टिप्पणीसहित अर्थनिर्देश गर्ने दोस्रो प्रयास बाबुराम आचार्य (२००३)बाट भएको देखिन्छ । उनले भानुभक्तका फुटकर रचना, वधूशिक्षा, प्रश्नोत्तरमाला र भक्तमालाअन्तर्गत क्रमश: ७, २७, २० र ११ गरी जम्मा ६५ ठाउँमा पाठभेद र टिप्पणीसहितको अर्थनिर्देश गरेका छन् । “चपला अबला…” इत्यादि कविताका सन्दर्भमा टिप्पणीसहित उनले औंल्याएको माल्भरि पाठलाई यस अध्ययनमा भानुभक्तीय प्रयोग ठहर्‍याउन सकिने सम्भावना व्यक्त गरिएको छ ।
जुननाथ शर्मा पण्डित (२०२३)ले भानुभक्तका लघुकृतिहरूको सम्पादनका क्रममा प्रश्नोत्तरमालाको “कुन् हुन् बडा…” इत्यादि श्लोक र “गजाधर् सोतीका…” इत्यादि फुटकर रचनाका सम्बन्धमा सामान्य टिप्पणीमात्र गरे पनि उनले आफ्नो सम्पादकीय भूमिकामा भानुभक्तका लघुकृतिसँग सम्बन्धित केही पाठभेदहरू औंल्याएको पाइन्छ । उनले सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित वधूशिक्षा (१९४८)का पाँच पाठहरूको उल्लेख गरी तिन्मा (१५.३) वा जम्मा पाठ उचित हुनुपर्छ भन्दै आफ्नो सम्पादनमा अशुद्ध जिम्मा पाठ छापिएको जनाएका थिए । हस्तलिखित वधूशिक्षामा तिन्मा पाठ नै पाइएकोले तुलनात्मक अध्ययनका क्रममा यहा तिन्मा पाठलाई नै उपयुक्त ठहर्‍याइएको छ । साथै उनले अर्थ लगाउन सजिलो परेको भन्दै त गरीभन्दा न गरी पाठलाई शुद्ध ठानेका थिए तर यस अध्ययनमा वधूशिक्षाको उपलब्ध लेखोटअनुरूप न गर्‍या पाठलाई उपयुक्त मानिएको छ । उनले नै प्रश्नोत्तरमालाको अन्यत्र प्राय: अनुपलब्ध “कुन् हुन् बडा धीर…” इत्यादि श्लोकलाई भानुभक्तकै मौलिक कविता ठहर्‍याउन सकिन्छ भन्दै प्रकाशित गरेका थिए भने प्रश्नोत्तरमालाको अन्तमा पाइने “भानूभक्त भनी…” इत्यादि श्लोकमा प्रथमपुरुषको प्रयोग भयो भन्दैमा भानुभक्तको होइन भन्न नसकिने धारणा व्यक्त गरेका छन् । यस अध्ययनमा तुलनात्मक रूपमा “कुन् हुन् बडा धीर…” इत्यादि श्लोकलाई प्रश्नोत्तरमालाको बीसौं श्लोकसङ्ख्या कायम गरिएको छ भने “भानूभक्त भनी…” इत्यादि श्लोकलाई अभानुभक्तीय रचना ठहर्‍याइएको छ । भक्तमालामा असार (१.१) र श्रीकृष्णको (१.४) पाठभेद पाइन्छ भन्ने उल्लेख गरे पनि उनले यसका बारेमा कुनै निर्णय दिएका थिएनन्, यस अध्ययनमा असारलाई अनुपयुक्त र श्रीकृष्णको पाठलाई उपयुक्त ठहर्‍याइएको छ । साथै उनले फुटकर रचनाअन्तर्गत बाबुराम आचार्य (२००३)ले औंल्याएको माल्भरि पाठ आफूलाई राम्रो लाग्छ भनेका थिए, जसलाई यस अध्ययनमा पनि उपयुक्त ठहर्‍याउने प्रयास गरिएको छ ।

मोतीराम (१९४८), बाबुराम (२००३), जुननाथ (२०२३), शिवराज (२०३६) र मतिप्रसाद (२०६३)का अध्ययन–प्रयास बाहेक अरुले पनि पाठभेद र टिप्पणीहरू औंल्याउने प्रयास गरेका हुन सक्छन् तापनि यी र यस्तै अरु अध्ययनहरूले भानुभक्तका लघुरचनाहरूका समग्र पाठभेद र टिप्पणीहरू औंल्याउन सकेको पाइँदैन । त्यसैले यस अध्ययनमा त्यस अभावको परिपूर्ति गर्न खोजिएको छ ।

८. पाठसम्पादनको सैद्धान्तिक आधार

डा.गोविन्दनाथ राजगुरु (१९८७ : १—७६)ले पाठालोचनको सैद्धान्तिक मान्यताका सन्दर्भमा पाठको स्वरूप, पाण्डुलिपिको आकार–प्रकार, लिपिकको कर्म, प्रतिहरूको सड्ढलन र पाठ संशोधनका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गरेका छन् । पाठ भन्नाले “परम्पराप्राप्त लिखित सामग्रीका विविध रूपहरूमध्ये कुनै एक अथवा एकभन्दा बढी लिपिबद्ध रूपहरूलाई बुझाउँछ” भन्ने उल्लेख गर्दै उनले उपलब्ध पाण्डुलिपिहरूको परीक्षण अन्तरड्ड र बहिरड्ड दुवै प्रकारले गरिनुपर्ने बताएका छन् । उनले अक्षर या पाठभेद देखिनुका कारणहरूलाई मुख्यत: अड्डशैथिल्यजनितव्यत्यय र प्रमादजनितव्यत्यय गरी दुई वर्गमा विभाजन गरेका छन् । वृद्धावस्थामा पुगेको लिपिकले अक्षर, मात्रा, विन्दु, अनुस्वार आदिलाई वास्तविक रूपमा प्रतिलिपित गर्न नसक्दा पाठभेदहरू देखिन पुग्छन् भने वृद्धावस्थामा नपुगेको लिपिकले पनि असावधानीका कारण स्वरव्यञ्जनव्यत्यय, स्वरव्यञ्जनलोप, सड्ढेताक्षरहरूको भ्रान्तवाचन, अक्षर–शब्दहरूको भ्रान्त स्थानान्तरण र किनाराका लेखको पाठमा अपमिश्रण गरिदिँदा पाठभेदहरू देखिन्छन् । त्यस्तै लिपिकले जानाजान कुनै विशेष उद्देश्यले पनि पाठलाई तलमाथि पारिदिनसक्छ, जसलाई उनले सोद्देश्यपाठव्यत्यय भनेका छन् । साम्प्रदायिक आग्रह र वैयक्तिक मान्यताहरूलाई लिपिकले मूलप्रतिमा आफ्नो तर्फबाट क्षेपकका रूपमा समावेश गरिदिँदा पनि पाठभेदहरू देखिन पुगेका हुन्छन् भने यसका विपरित मूलप्रतिमा रहेका पाठलाई सोद्देश्यरूपमा लोप गरिदिँदा पाठभेदको समस्या देखापर्छ, जसलाई उनले क्रमश: क्षेपक र सोद्देश्यपाठलोप भनेका छन् । यसै सन्दर्भमा उनले “क्षेपक तथा सोद्देश्यपाठलोपको समस्या पाण्डुलिपिहरूको एक गम्भीर समस्या हो, यस समस्याको समाधान पाठको तुलनात्मक अध्ययनद्वारा नै गर्न सकिन्छ, कुनै अनियमित संशोधनद्वारा गर्न सकिन्न” भन्ने ठहर गरेका छन् ।

गोविन्दनाथ (१९८७ : ५०—५१)ले कुनै पनि हस्तलिखित ग्रन्थ वा लेख आदिको प्रतिलिपि मूलप्रतिभन्दा उत्तरोत्तर भिन्न हुँदै जाने, आदर्श लिपिकले पनि मूलप्रतिलाई यथावत् प्रतिलिपित गर्न नसक्ने र मूल लेखकले नै पनि आफ्नो रचना केही समयपछि प्रतिलिपित गर्न खोज्दा यत्र–तत्र परिवर्तनको आवश्यकता महसूस गर्ने हुँदा पाठसम्पादन गर्न खोजिएको सम्बन्धित ग्रन्थ, लेख अथवा अभिलेखहरूका उपलब्ध हुनसक्ने विभिन्न प्रतिहरूको सड्ढलन अनिवार्य रूपमा गरिनुपर्छ भन्ने उल्लेख गरेका छन् ।
गोविन्दनाथ (१९८७ : ६५–७५)ले पाठालोचनको अर्थ उपलब्ध पाठको संशोधन हो र यो अपेक्षित अनुसन्धान तथा विवेचन–विश्लेषणबाटै सम्भव हुन्छ भन्ने बताएका छन् । साथै उनले पाठअनुशासनको प्राथमिक अपेक्षा शुद्ध, शुद्धतर एव म शुद्धतम पाठको निरन्तर खोज गर्नु हो र यो खोज कार्य पाठका विभिन्न प्रतिहरूको पर्यालोचनबाटै सम्भव छ भनेका छन् । पाठसंशोधन तथा सम्पादनका सन्दर्भमा निष्कर्ष रूपमा उनले आफ्नो अध्ययनमा प्रस्तुत गरेका विचारहरूलाई निम्नलिखित बुँदाहरूमा उद्धरण गर्न सकिन्छ ।
क) “…पाठको शुद्धताका लागि पाण्डुलिपिहरूमा उपलब्ध पाठान्तरहरूमाथि तुलनात्मक पद्धतिद्वारा गम्भीर विचारगर्नुपर्छ । ठिक त्यस प्रकारले जसरी न्यायालयमा सुयोग्य न्यायाधीश प्रस्तुत साक्ष्यहरूलाई बारम्बार पढ्छ र अनेक दृष्टिहरूद्वारा त्यसको मूल्याड्ढन गर्दछ । पाठका अनुसन्धातालाई पनि पाण्डुलिपिहरूका साक्ष्यमा त्यति नै तटस्थता तथा तलस्पर्शी दृष्टिद्वारा विचार गर्नुपर्छ ।…” (पृ.७१)
ख) “वस्तुत: वस्तुनिष्ठ अनुसन्धाताका लागि पाण्डुलिपिहरूमा उपलव्ध पाठसामग्री एक लक्ष्मणरेखा हो । यसको उल्लङ्घनले पाठअनुशानका क्षेत्रमा अनेक प्रकारका भ्रान्तिहरूलाई जन्म दिन्छ ।” (पृ.७२)
ग) “यदि पाण्डुलिपिहरूमा उपलब्ध पाठान्तर शुद्धतर पाठसम्म पुग्नका लागि सहायक सिद्ध हुन सकेन भने अन्य पाण्डुलिपिहरूको खोज गर्नुपर्छ । कुनै कृतिलाई हडबडीमा प्रकाशित–सम्पादित गर्ने भूल हिन्दीका कैयौं सम्पादकहरूले दोहोर्‍याएका छन् । पर्याप्त श्रम तथा समयपछि पनि यदि शुद्ध पाठ उपलब्ध हुन नसकेको खण्डमा मात्र अनुमानद्वारा पाठ सम्पादित गर्ने जोखिम उठाउनुपर्छ । त्यस अवस्थामा पाठसम्पादनको सम्पूर्ण प्रकृया पाठान्तरका माध्यमद्वारा स्पष्टत: निर्दिष्ट गर्नुपर्छ ।” (पृ.७२)
घ) “पाठ संशोधन पाठअनुशासनको सबैभन्दा कठिन परन्तु सबैभन्दा सरल कार्य पनि हो । सरल त्यसका लागि हो कि रचयिताका सम्बन्धमा सर्वज्ञ हुने दम्भ पालेर आफ्नो निरड्ढुश कल्पनाका आधारमा कुनै पनि शब्द वा पूरै पङ्क्तिलाई अनधिकृत रूपले सम्पादित गरिदिनु अथवा पाठबाट निर्वासित गरिदिनु कदाचित् यस क्षेत्रको सरलतम कार्य हो ।” (पृ.७२–७३)
ङ) “…उपलब्ध पाठमा प्रत्येक प्रस्तावित संशोधनका सबै कारणहरूको सप्रमाण प्रस्तुतिले नै पाठअनुशासनलाई वैज्ञानिकताको सुदृढ आधार प्रदान गर्न सक्छ ।” (पृ. ७५)
पाठसम्पादनका सन्दर्भमा यस बाहेक अरुहरूले पनि विभिन्न दृष्टिकोणसहित सैद्धान्तिक आधार प्रस्तुत गरेका हुन सक्छन् तापनि यस अध्ययनमा यथासम्भव गोविन्दनाथ राजगुरु (१९८७)ले चर्चा गरेका उपर्युक्त विचारहरूलाई आधार मानेर पाठसम्पादन गर्ने प्रयास गरिएको छ ।

९. उपसंहार

पाठ संशोधनका क्रममा पाठसंशोधी अनुसन्धाताले न्यायालयको न्यायाधीशले झैं तटस्थ भएर उपयुक्त पाठका पक्षमा निर्णय दिनुपर्ने हो तर यस प्रारम्भिक अध्ययनमा त्यसो गर्न सकियो कि सकिएन ? सम्बद्ध विद्वान्, अनुसन्धाता र बौद्धिक पाठकहरूबाट प्राप्त हुने आलोचनात्मक सुझाउहरूलाई मार्गनिर्देशकका रूपमा सहर्ष स्वागत गर्न चाहन्छु ।

–मतिप्रसाद ढकाल
२०६४ वैशाख १७ उपप्राध्यापक
चुँदीरम्घा, तनहुँ ।
https://www.facebook.com/matiprasad.dhakal

(आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह चलिरहेको यसवर्षभरि । यसै सन्दर्भमा मैले २०६४ असार २९ गते चुँदीरम्घामा नै विमोचन गरी सार्वजनिक गरेको यो पुस्तक धेरैले नपढेजस्तो लाग्यो । साझा प्रकाशनका शाखाहरूमा यो पुस्तक सबैले किनेर पढ्न सकून् भनेर पठाएको थिएँ तर पढेजस्तो लागेन । मैले नै व्यक्तिगत रूपमा निःशुल्क वितरण गरेको यो पुस्तक पनि पढेँ भनेर भन्नसक्ने अग्रज वा अनुज कोही भेट्न सकिन । त्यसैले यसलाई धेरैले देखून् र थोरैले पढे पनि पढून् भनेर फेसबुकमा राख्ने प्रयास गरेको छु । यसलाई क्रमशः १ सम्पादकीय वा भूमिका २ बधूशिक्षा ३ प्रश्नोत्तरमाला ४ भक्तमाला र ५ फुटकर रचनाका रूपमा राख्दै जानेछु । इच्छुक महानुभावले पढेर प्रतिक्रिया लेख्न नभुल्नु होला है ।)

1 thought on “भानुभक्तका लघुरचनाहरू : १) सम्पादकीय”

  1. मेरो पुस्तकको सम्पादकीय विचार
    मेरो पुस्तकको सम्पादकीय विचार समावेश गरिदिनुभएकोमा मझेरी डट कमलाई हार्दिक धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *