मेरो लेखाइ र बाचनको तारीफमा तारीफ गर्दैथी ऊ
फेरि पढ्दा पढ्दै भावुक हुन्थी अनि सुन्दा सुन्दै मत्र मुग्ध हुन्थी ।
बेला बेलामा उस्को हँसीलो मुहार,
अनि मनै लोभ्याउने मोती झैँ दन्त लहर
लाग्थ्यो
अनियन्त्रित गतिमा चलिरहेको
मुटुका धड्कनहरूले गती पाए जस्तो,
अँझ मलाई हेर्दै लजाउँदै झुकेका अधरहरूले
मेरो जीवनलाई सफल बनाए जस्तै ।
ऊ भावुक भै आँखाभरी आँशु पार्दै
मेरो मुहार एकोहोरो हेर्दै एक तमासले
मेरो आवाज सुन्दै
तिम्रो आवाजमा म संसार भुल्दैछु भन्थि !
जति पढ्यो उती पढौँ पढौँ लाग्ने ।
अनि जति सुन्यो उती सुनौ सुनौ लाग्ने
यस्तै यस्तै
मेरो प्रशंसामा ऊ बिना आधारका पुलहरू बाध्दै थीइ
म पानी माथि नै थिएँ ।
आफ्नो प्रशंसा कसैको मुखबाट सुन्दा कस्तो कस्तो
तर ममा घमण्ड सवार गराउनु थिएन मलाई ।
म मुख फोर्न बाध्य भएँ ……
यती सारो पनि माथि नचढाउन प्रिय !
लाग्छ तिमी नशा झैँ चढ्दैछौ म माथि
फेरि म माथि नशा चढ्यो भने उत्रिन गारो पर्छ
यसै पनि म त नपिउने मान्छे ।
ऊ कहाँ कम थिई र !
झन् थप्दै थिई प्यालामा रक्सीको धारा थपे. झैँ !
ऊ भन्थी, माथि चढाएको हैन प्रिय !
साँच्चै तिम्रो शब्द शब्दमा मिठास छ
लठ्ठ बनाउने जादु छ, यस्तै यस्तै ।
म जनाउ दिँदै थिएँ उस्लाई
फेरि पनि तिमी ?
ममा नशाको मात्रा बढ्दै छ
यस्तो नहोस् कि म थेगीनै नसकुँ ।
त्यत्तीकैमा उस्ले एक मुस्कान थपी ।
लजाउँदै अधर झुकाउन थाली ।
साँच्चै मलाई बास्तवमै नशा चढ्दै थियो ।
उस्ले पनि यो महशुश गर्दै थिई
म लठ्ठीन थालेँ ! ऊ भावुक हुँदै थिई !
भन्दैथी !म के गरुँ ?
सोध्दै थिई ! के गरे नशा उत्रिन्छ ?
मैले उस्लाई लठ्ठ भएरै हेरेँ र भने
ममा चढेको नशा उतार्न तिम्रो के सामर्थ ?
उस्ले पनि यो कुरा स्वीकार्दै भनी
ठिक भन्यौ मेरो के सामर्थ ।
मैले भने तिमी यो मेरो नशा उतार्न पनि चाहन्नौ ।
किन कि मेरो लागि के गर्न सक्छौ तिमी ?
ऊ च्याँठिन थाली ! बिन्ती भन म के गरुँ ?
भन्दैथी
तिमी जे भन्छौ म त्यही गर्छु !
अब म थोरै गम्भिर हुँदै भने
त्यसो भए के तिमी ती दन्त लहर खोलेर हाँस्न छोडी दिन्छौ ?
अनि के ती अधर झुकाइ लजाउन छोडी दिन्छौ ?
ऊ आँखा भरी आँशु पार्दै भक्कानिदै भन्दै थिई
हुन्छ बरु म हाँस्न छोडी दिन्छु
अनि लजाउँदै अधर झुकाउन पनि ।
तर म तिमी नशामा डुबेको हेर्न सक्दिन ।
यत्तीमै मैले उस्लाई रोकेँ ।अनि भने ।
सायद तिमीलाई थाहा होला !
कि यीनै हुन् मेरा जिउने आधारहरू
(तिम्रा मोती झैँ ती दन्त लहरहरूले भरिएको हाँसो, अनि लजाउँदै झुकेका अधरहरू )
तिमीलाई यो थाहा छ ।
त्यसैले त मेरै खातीर तिमी यी सबै गर्छौ
तर म ?उफ् !
तिमीले जे गर्छौ मेरै लागि ।
तर म तिमीलाई यी सबै नगर्न भन्छु ।
तिमी म नशामा भएको हेर्न सक्दिनौ ।
अनि म ती नशा बिना सायद बाँच्न सक्दिन ।
ऊ मुरमुरिदै थीई,
म दोधारमा परेँ तिमी भन म के गरुँ ?
साँच्चै ऊ दोधारमा थिई !
त्यसै बेला मैले उस्लाई छोटो ब्यङ्ग्य गर्न भ्याएँ !
यस्तै यस्तै दोधारबाट गुज्रिनु पर्छ जिन्दगी !
तिम्रो के छ र ? यहाँ त मेरो जिन्दगीको सवाल छ ।
मर्नुभन्दा बौलाउनु निको !
तिमीलाई के लाग्छ ?
अनि कसरी तिमी मेरा जिउने आधारहरू मबाट खोस्न सक्छौ ?
ऊ भावुक बन्दै रुँदै कराउँथी बस अब भो !
तिमी मेरा लागि अमूल्य छौ ।
तिम्रो जीवनको लागि म दन्त लहर खोलेर हाँस्छु
तिम्रो मात्र तिम्रो लागि म अधर झुकाई लजाई दिन्छु ।
केवल तिम्रो लागि मात्र तिम्रो लागि ।
यो मेरो बाचा भयो तिमीलाई !
म फेरि पनि रोक्छु उस्लाई !
आज म र मेरा नशाका बिचमा
मेरा जिउने आधारहरू निसासिँदै छन्,छट्पटाउँदै छन्, अनि म तड्पिँदै छु ।
अब ऊ पनि मलाई रोक्छे !
अनि उस्का आँखा भरी टलपल–टलपल आँशुहरू
परेला बिचबाट बुर्लुक्क–बुर्लुक्क बल्ड्याङ खान्छन्,
साथै रुन्चे मसीनो स्वरमा विलौनादायी आवाज निस्किन्छ !
के तिमी मलाई आज साँच्चै रुवाउँछौ ?
(मलाई पनि मुटुका धड्कन रोकिएर छाती ढक्क फुले झैँ हुन्छ ।)
ऊ अब बोल्न सक्दिन भक्कानिदै घोप्टो पर्छे ।
म पनि स्वय म नियन्त्रणबाट बाहिरिन्छु तैपनि
म उस्को अन्तर आत्माबाट भने दूर हुन सक्दिन ।
अनि म उस्लाई सम्हाल्दै भन्छु !
त्यसो भए बिन्ती ! तिमी हाँस्न नछोड,
अधर झुकाउँदै लजाउन नछोड ।
बरु म ती नशामै डुबेर
बेहोसीमै पुरै जीवन बिताउन तैयार छु ।
तर तिमीले मेरो सामु
सधँ दन्त लहर खोलेर हाँसी दिनु
अधर झुकाउँदै लजाई दिनु ।
बस मलाई यत्ती भए पुग्छ ।
पुस्कल पौडेल(—प्रतिक)
