‘गीत-गंगा’ र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना

  • by


कुनै एकदिन पेमला भाउजूसित नारायण दाइका बानी- व्यहोराबारे मैले कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- ‘भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम ‘गीत-गंगा’ रहोस् ।’ यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दै गर्दा मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकपि्रय गीत घुमिरहन्थ्यो ।

यसैगरी बिताइदिन्छु, दुई दिनको जिन्दगी हाँसो म लुटाइदिन्छु, आफू आँसुमा डुबी साँच्चै नारायण गोपालको भावनात्मक अभिव्यक्ति अजीवको थिएछ । नत्र तिनका गीत पछाडि हाम्रा मान्छे यसरी झुत्तिने थिएनन् । उनका भावनामा रमाउने जमातको संख्या अहिले पनि अकल्पनीय छ भन्ने ठान्छु । साथै म एउटा मान्यताको अनुयायी पनि छु- ‘मनको गहिराइको अभिव्यक्तिले प्रवाह गर्ने सम्प्रेषण र त्यसको वृत्त उत्तिकै प्रभावशाली र फराकिलो हुन्छ ।’ नारायण गोपालले निर्माण गरेको साहित्य र संगीतको सहकार्यको उदाहरण उनको मनको गहिराइको अभिव्यक्ति हो, जुन कहिल्यै साँघुरिने छैन । झन् फैलनेछ । उनको भौतिक अवसानको अठारौं वर्षमा म किन यो भन्दैछु ? केही अनुभवले मात्र न हो ! जो हरेक मोडमा भोगिँदै आइएका छन् । थोरै नै सही, मैले पनि त अरू धेरैले झैं सहरका फुटपाथ र गाउँका गोरेटाहरू घुमेको छु । घुम्नुलाई पढ्नु जत्तिकै ज्ञानबर्द्धक पनि त ठान्ने गर्छु । त्यसैले घुम्दा मात्र घुम्ने उद्देश्य लिन्न है ! वरिपरि केही भेटिए तिनको अवलोकन पनि गर्छु र क्षमताले भ्याएसम्म तिनको गहिराइमा पस्ने प्रयत्नसमेत गर्छु ।

घटना- १

मंसिर उन्नाइस । दिन हुन्छ, नारायण गोपालको अवसानको । घण्टाघर छेउको फुटपाथमा म र मेरो मित्र सौरभ हिँड्दै हुन्छौं । हाम्रा छातीभित्र ओइलिएका मन र हातमा भने फक्रिएका फूल हुन्छन् । मान्छेको लाम एकेडेमीबाट सुरु भएर घण्टाघरसम्म तन्किएको हुन्छ । ठीक त्यही बेला एउटा हामीभन्दा अलिक पाको उमेरको सुट-बुटमा सजिएको बटुवा हाम्रासामु उभिन्छ र प्रश्न गर्छ- ‘ए भाइ ! यो केको हुल हो हँ ?’ बाहिरी स्वरूपले ऊ पढैया नै देखिन्थ्यो र लवजले भने काठमाडौंको स्थानीय भन्ने खुल्थ्यो । मैले उसको जिज्ञासा मेट्ने धेयले भनेँ- ‘डाइ ट खबर मरुला ? नारन् डाइ मण्ट नि !’

-दाइलाई थाहा छैन ? नारान् दाइ रहनुभएन नि ! मेरो सिकारु भाषाको भेउ पाएरै हुनुपर्छ, ऊ नेपालीमै प्रतिप्रश्न गर्छ- ‘को नारन् दाइ ?’ म पनि कस्तो ? नारन् त कति छन् कति नि ! तुरुन्त बोल्छु- ‘नारायण गोपाल के ! गायक !’- हाम्रो ‘खोज पत्रकारिता’को विकासले हो या ‘थर-प्रेमी’को प्रचार अभियानले हो, हिजोआज पुराना कलाकारको नाममा अनिवार्य रूपले थर जोडिन थालेको छ । मलाई भने त्यसबेलासम्म नारायण गोपालको थर थाहै थिएन र अहिले पनि महत्त्व दिन्न है ! मेरो अनुमान हुन्छ- नारायण गोपालको मृत्युको खबरले बटुवाको मुहारमा पक्कै केही समवेदना फैलाउला । तर एकनिमेषमै मेरो अनुमानको पर्खाल डङग्रङ्गै ढल्छ । ऊ त ‘हयाऽऽऽऽ’ आवाज निकाल्छ र बेवास्ता जनाउँदै आफ्नै बाटो लम्कन्छ । छ नि ! मलाई यो घटनाले निक्कै ठूलो असर गरेछ । त्यसैले त यद्यपि त्यसलाई सम्झेकै छु । सम्झेको मात्र होइन, त्यो बटुवाको माध्यमबाट मैले हाम्रो समाजमा साहित्य र संगीतलाई बेवास्ता गर्ने तप्का पनि त रहेछ भन्ने जानकारी पनि पाएको छु । जुन अहिले पनि पक्कै कायम छ भन्ने ठान्छु ।

घटना- २

मंसिर उन्नाइस । त्यही दिनको दोस्रो घटना । मैले नजिकबाट चिनेको एकजना आदरणीय, एकेडेमीको प्राङ्गणमा भेटिन्छन् । नारायण गोपालका गीतका श्रोता त उनी हुन् भन्ने मलाई स्पष्ट थाहा थियो । साथै आफ्नो सिद्घान्तका भने कडा प्रतिपालक । नारायण गोपालका विषयमा चर्चा चल्दा उनले बढी उच्चारण गर्ने शब्दमा ‘बुर्जुवा’ र ‘अप्रगतिशील’जस्ता शब्द पर्थे । अझ उनी नारायण गोपालको निजी जीवनका समेत कडा आलोचक थिए । नारायण गोपालका ‘फयान’हरूका भीडमा रुमल्लिएका उनको क्रियाकलाप म राम्ररी निहारिरहेको हुन्छु । त्यतिबेलै नारायण गोपालको शवयात्रा आरम्भ हुन्छ । तिनै महोदय, जो आफ्नो झोलामा भूमिगत राखिएको फूलको थुंगा निकाल्छन् र नारायण गोपालको शवतर्फ हुत्याउँछन् । त्यसबखतको उनको हाउभाउले के भान परिरहेको थियो भने- उनको उक्त क्रियाकलाप कसैले पनि प्रस्ट गरी देख्न नपाओस् । यो घटनाले त अघिल्लो घटनाले भन्दा झन् धेरै चक्मा पो दिन्छ त मलाई ! मैले यो घटनाको माध्यमले भनेँ- नारायण गोपालको अन्तरमन केन्दि्रत कलाको शक्ति र हाम्रो समाजको आडम्बर -जसले हाम्रा व्यक्ति-व्यक्तिको अन्तरमनलाई दह्रो गरी गाँजेर बसेको हुन्छ या छ भनौं ! लगायतका धेरै सामाजिक आयामलाई बुझ्ने अवसर पाएँ भन्छु ।

घटना- ३

दिन फेरि मंसिर उन्नाइसकै । यो घटना त्यति पुरानो त होइन, तर नयाँ पनि त होइन । विगत केही वर्षदेखि चल्दै आएको एउटैखाले पटयारिलो क्रियाकलाप । नारायण गोपाल र पेमलाको संयुक्त मिहेनतले निर्माण गरेको घरको प्राङ्गण । जुन ठाउँमा नारायण गोपालले ‘गीत-गंगा’को परिकल्पना गरेर गएका हुन् । त्यही ठाउँ र उनको नाममा सञ्चालित ‘नारायण गोपाल संगीत-कोष’ । जसले हरेक वर्ष नारायण दाइको एउटा औपचारिक सम्झनाको आयोजना गर्छ । कुनै एक साधकलाई सम्मान गर्छ । यसपाली पनि गर्‍यो । निम्ता थियो । म पनि पुगेथेँ । भाषण सुनेथेँ । प|mान्समा बसेका नरेन्द्र बाटाजू भाषणबाटै सम्मानित भए । उनलाई हाम्रा मूर्धन्य मान्यजनहरूले ‘सितार सम्राट’को पगरी गुँथाए । राजनीतिबाट राजा पलायन भएका बखत संगीतमा ‘सम्राट’को खोज ! अचम्म मानेँ । हरेक वर्षझँै ‘गीत-गंगा’ र नारायण गोपालका सपनाकै कुरा पनि भए । परार, पोहोर र यसपाली । उही, उस्तै । विलकुल निरीह । कोषमा रहेका सबकै आदरका पात्र हुन् । मान्छौं । कसरी कुरा काटुँ र खै । सबै ‘स्वनामधन्य’ । मूर्धन्य । सिर्जनशील । उद्यमी । आफ्नो क्षेत्रका सफलतम व्यक्तिहरू । तर ‘गीत-गंगा’ र नारायण गोपालको अर्केष्ट्राको सपना भने अझै विफलताको शृङखलामा ! नारायण गोपालजस्तो साझा र सर्वमान्य नेपाली ‘आइकन’को नाममा समेत यत्रो लामो विफलता ! अचम्म मान्नुबाहेक केही पनि त छैन ।

यो मंसिर उन्नाइस पनि पाठै सिकाउनमात्र आएजस्तो । छ नि त हाम्रोमा संस्थाहरू धेरै बन्छन् । तर सफल कमै । होलान्, तिनका अनेक कारण । पहिलो त हामी कवि कलाकारसित मिसाएर केही सिपालु व्यापारीलाई समेट्दै व्यवस्थापन जिम्मा लगाउन खोज्छौं । कवि कलाकार र व्यवस्थापन त नदीका विपरीत किनारजस्तै हुन् । यो विश्वमै समेत स्थापित मान्यतासरह नै छ । सस्तो व्यापारी सोचचाहिँ सिर्जनशीलताको मानमर्दन र निजी पोल्टातिरको ध्यानमा केन्दि्रत । चौतर्फ यस्तै खाले निरन्तरता त देखिन्छ

नि ! हेरुँ न हौ ! चाहे त्यो राष्ट्रिय प्रज्ञा-प्रतिष्ठान गठन गरेर होस् या निजी कोषहरू गठन गरेर, वर्षौंदेखि असफलता र गुनासामात्र थुपार्दै त आएक छौं नि ! हामीले यो शैलीलाई कहिले फेर्छौं कुन्नि ! नफेरुन्जेल त हाम्रो अवस्था बिग्रेको घडीको सुइजस्तो अड्कन्छ नै, या अड्किएकै छ भनौं न । घडी बिगार्दैमा समय त रोकिन्न नि ! समयको त नियति नै हो, हरक्षण फुत्किरहने । यस्तोमा एकपलमात्र नै सही । सोचे हुने नि तिनले गाएजस्तो-

यसैगरी बिताइदिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाइदिन्छु, आफू आँसुमा डुबी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *