क्या गजबको अम्मलले बानी बिगार्यो
पिरतीको तल्तलले बानी बिगार्यो
अब त सुध्रिन्छु कि भन्ने लाग्या थ्यो
सोल्टिनीको मिस्कलले बानी बिगार्यो
कलेज बङ्क गरी-गरी वनपाखा डुल्छु
ऐँसेलु र काफलले बानी बिगार्यो
तरुनी त्यो छोरीलाई साहुनी राखेर
भट्टिवाला अङ्कलले बानी बिगार्यो
त्यै मोरीको आँखासँग आँखा जुधाउँदा
दिलमा हुने हल्चलले बानी बिगार्यो
उठबस पनि उस्तै ट्यापे, मुन्द्रेसँग
संगतको त्यै फलले बानी बिगार्यो
फस्न पनि नराम्ररी फसियो नि गाँठे
कुलतको दल्दलले बानी बिगार्यो
– (16 March, 2014 / Trosmo-Norway)
