Skip to content


नित्य उदाउने घामको लागि
आएन कहिल्यै नयाँ दिन
हर रात चम्कने ताराहरूका लागि
आएन कहिल्यै नयाँ रात
न त जुनले खोज्यो नौलो गोधूलि कहिल्यै
न त्यसको प्रकाशले भेट्यो नौलो आभा
अनि हामीलाई के लाग्दैछ नौलो यो परिवेशमा
र मनाउदैछौं नयाँ वर्ष

प्रकृति आफ्नै गतिमा छ सधैं
हावा अफ्नै वहावमा चलिरहेको छ
खै खोलानाला पनि
नयाँ रुपमा कहिल्यै उँभो बगेनन्
विना बादल पानी कहिल्यै परेन
विना पानी न देखिन्छ इन्द्रेणी
अनि सधै दोहोरीने एउटै चक्रमा
कुन छ नयाँ दिन
के छ नयाँ परिवेश
र मनाउदैछौं नयाँ वर्ष

हरेक दिन नयाँ दिन हुन्छ
तर कहिल्यै बिहानभन्दा पहिले मध्यान्ह भएन
हरेक हप्ता नयाँ हप्ता हुन्छ
तर कहिल्यै सोमवार पहिले आएन
हरेक महिना नयाँ महिना हुन्छ
तर कहिल्यै मसान्तबाट शुरु भएन यो
हरेक २ महिनामा परिवर्तन हुने ऋतु
नयाँ नै भएर आउँछन्
तर पालुवा शिशिरमा पलाएनन्
फूल ग्रिष्ममा फूलेनन्
हरेक नयाँ बिहानमा
हाम्रो दिनचर्या शुरु हुन्छ
अनवरत एकैनाशले
अनि चर्चा मात्र नयाँ वर्षको ?
आखिर के छ यो नयाँ वर्षमा ??

नयाँ वर्ष त्यहाँ छ
जहाँबाट हामी बेचिएका छौ
नयाँ वर्ष त्यहाँ छ
जहाँबाट हामीजस्तै मजदुरहरू
शोषित र शासित छन्
नयाँ वर्ष तिनीहरूले मनाइरहेका छन्
जसले हाम्रो पसिनाको रेमिट्यान्समा
मोज गरिरहेका छन्
र सम्झौता गर्दैछन्
हाम्रा सन्ततिहरूको भविष्यको
वर्षैभरी नयाँ वर्ष मनाउने मानव तस्करहरू
दिनैपिच्छे पर्व मान्ने दलालहरू
जति राजस्व डकारेर पनि नपुग्ने भ्रष्टहरू

यो नयाँ वर्ष तिमीहरूको
अन्तिम नयाँ वर्ष हुनेछ
जब लेखिनेछ नयाँ विधान
जब बन्नेछ कानून जनताको पक्षमा
त्यसपछि
आगामी हरेक दिनहरू
गरिब, दुखी र श्रमजीवी वर्गका लागि
नयाँ वर्ष हुनेछन्
हर्षोल्लासपूर्ण
सुखद् र शान्तिपूर्ण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *