Skip to content

हे सखी ! आभासनै नपाई ती हातहरू छुटेछन्


घरवार बिहीन छन्
मेरा सोचहरू
संसार खोज्दै छन्
अभिष्ट त्यो आकाश कस्ने
यी भुजाहरूमा तागतका
ती भिटामिन गोलि सकिएर
लंगडो खोच्च्याउदै
थाकेर सुस्केरा बिसाउदै
बसेका छन्
औशी पूर्णेमा जोतारो खोलेका
गोरु भएर

हरेक पल प्यारीको सम्झना
यो मुटुको प्रत्येक धड्कनमा
परदेशी को यो परदेशमा
अनिद्राका सपनाहरूलाई साटेर
भोक प्यासको लगामलाई
पटुकाले कसेर
खोच्च्याउदै छु प्यारी
खोच्चाउदै छु
सम्झनाहरु निरन्तर साटेर प्यारी
यो मानव मरुभूमिमा
यो मरुभूमिमा

सम्झन्छु
धेरै पहिले नै ती हातहरू छुटे
त्यो बालशुलभतासँगै आमा
धेरै पहिले नै त्यो गाउँ छुट्यो
सहर पसें बाबा
बाबा ती सिरुबारीहरू छुटे
गाइ चरण छुट्यो
भन्ज्यांग र सिमहरू
काका काकी छुटे
मामा माइजू तल्ल घरे माथ्लाघरे
सबै छुटे यो महत्वकान्क्षामा

असारे रोपाइ छुट्यो
तीज छुट्यो दशैं छुट्यो
रंगको रंगीन मदमस्त होली छुट्यो
प्यारी त्यो सुन्दर मोहकता छुट्यो
सबै छुट्यो सबै छुट्यो

गाउँ नै हास्थ्यो मेरो खुसीमा
गाउँ नै रुन्थ्यो त्यो दुख:मा
हे सखी ! सबै छुटे सबै छुटे
ओछ्यान पर्दा तल्लाघरे काकीले
तात्तातो ल्याएको मिश्री- पानी
बिसेकमा माथ्लाघरे आमैले
पठाएको त्यो कुराउनी
दिदीले पकाएको रायो
सबै छुटे सबै छुटे
गोठालोमा रिठ्ठेको हाँसो
सबै छुटे सबै छुटे
यो ठुलो मानव बस्तीमा
यो मानव मरुभूमिमा
यो मरुभूमिमा

हे सखी !
दुख: एक्लै बाँडेर रुदैछु प्यारी
खुसी एक्लै साटेर कहिले कहीं रुन्चे हाँसो हस्छु
दुख : एक्लै बाँढे एक्लै रोएँ
खुसी एक्लै साटे एक्लै हाँसे
नत दुख : बाड्न पाएँ
नत सुख साट्न सकें
हे सखी ! सबै छुटे सबै छुटे
हे सखी !
आभासनै नपाइ ती हातहरू छुटेछन् !!
================
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
क्यालिफोर्निया च्याप्टर

2014-04-17 01:38:25 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *