नयाँ वर्षको आरम्भ, नयाँ वर्षः कहाँ कसरी


विश्वका प्रायशः सबै मुलुकहरूमा इस्वी सन्को आधारलाई मानेर जनवरी एक तारिखदेखि नयाँ वर्षशुरू भएको मानिन्छ । तर हाम्रो देशमा विक्रम सम्वत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै बैशाख १ गतेबाट नयाँ वर्ष शुरू भएको मानिन्छ । नेपाली समाजमा हरेक सालको सौरमानको हिसाबले यस दिनदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षे यात्रा पूरागरी मीन राशीबाट पुनः मेष राशीमा प्रवेश गर्दछन् । सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम सम्वत् अनुसार यस दिनदेखि नयाँ वर्ष शुरू भएको मानिन्छ । बैशाख १ गतेलाई मेष संक्रान्तिको नामले पनि चिनिन्छ ।

विक्रम संवत्लाई चन्द्रशम्शेरले ज्योतिषीहरूको सल्लाहमा तिथि र बारहरूमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाख १ गतेदेखि प्रारम्भ गरी लेख्ने चलन चलाएका हुन् ।

यस्तै अर्को कथनअनुसार, नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजाको बारेमा किंवदन्तीहरू प्रस्तुत गर्दै बज्रयोगिनीबाट पारसमणि सहित आशीर्वाद प्राप्त गरेको नारायणहिटीको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन् । भने साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जस्को अध्यावधि बज्राचार्यवंंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् ।

इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्–΄विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी–चौबीसी, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो । भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धुमधामसाथ बिस्केटजात्रा मनाइन्छ भने तराईमा थारुहरू वैशाख शुरु हुने दिनदेखि नैं सिरुवाजात्रा मनाउँछन् ।’

त्यस्तै विक्रम संवत् प्रकृतिसँग संवन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपालभित्र नैं देख्न सकिन्छ । गोरखापत्र दैनिकको वैशाख १, २०६६मा प्रकाशित समाचार अनुसार– ‘हरेक वर्ष मेष संक्रान्ति, नववर्षका दिन वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ । सिराहाको लाहानदेखि चार किलोमीटर पश्चिममा वर्षमा एकदिन मात्र फूल्ने सलहेस फूल जस्मा एउटै मात्र माला जस्तो लामो झ्याम्म परेको लटरम्म फूल हो । अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिदै नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फूल्दछ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिदै भोलिपल्ट झर्ने गर्छ ।’ शायद, नेपाली नयाँवर्षको उपहार हुन सक्छ, हामीले यसलाई अलौकिक नै मान्नु पर्ने हुन्छ ।

विश्वमा नयाँ वर्ष मनाउने समयमा भिन्नता देखिन्छ । उसै गरी हरेक देशको नयाँ वर्ष मनाउने तौर तरीका परम्परा पनि भिन्न भिन्न देखिएका छन् । तर सबैको उद्देश्य भने मानव मात्रमा नयाँवर्ष मंगलमय होस् भनी शुभकामना व्यक्त गर्नु नै हो ।

नयाँ वर्ष मनाउने परम्परा कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा यकिन गर्न नसकिएता पनि एक अनुमान अनुसार पृथ्वीमा जतिबेलादेखि समयदेखि समयको गणना वर्षमानको आधारमा गर्न थालियो, त्यसैबेलादेखि नै नयाँ वर्ष मनाउने परम्परा आजभन्दा हजारौं वर्षपूर्व यूनानीहरूले चलाएको देखिन्छ ।

हरेक देश र समाजको जातीय परम्परा र मान्यता अनुसार नयाँ वर्ष मनाउने समय र तरीका भिन्दा भिन्दै भए अनुसार हाम्रो देशमा बिहान सबेरै उठी तीर्थस्थल वा जलाशयमा गएर नुहाई–धुवाई गरी विभिन्न देवस्थल वा शक्ति पीठहरूको दर्शन पूजन गरी चराचर जगतकै मंगल कामना गर्दै नयाँ वर्ष मनाउने गरेको देखिन्छ । त्यसैगरी कोही आपसमा शुभकामना आदान–प्रदान गरी सुखका साथ नयाँ वर्ष मनाउने गरेको देखिन्छ । यस दिन काठमाडौं उपत्यकाको भक्तपुर शहरमा लाग्ने विस्केट जात्रा र काठामाडौंकै टोखास्थित सपनतीर्थमा लाग्ने मेला राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

यस्तै विश्वका केही देशमा मनाइने नयाँ वर्षको तरीकालाई नियालौं

रोमन ग्रिक इन्साइक्लोपेडियामा पनि हर्ष र उमङ्गको साथ नयाँ वर्ष मनाउने परम्पराको उल्लेख गरिएको पाइन्छ । त्यसैगरी ब्रिटिस म्यूजियम लण्डनबाट उपलब्ध पुरानो अरबी शोध पत्रानुसार आजभन्दा हजारौं वर्ष पूर्व नील घाँटीको सभ्यताका मानिसहरू नयाँ वर्षको पूर्व सन्ध्याको राती एक सामूहिक भोजको आयोजना गरेर नयाँ वर्ष मनाउने गरेको पाइएको छ, जतिबेला उनीहरू आपसमा नाचगान बजानको साथमा नयाँ वर्षको स्वागत गर्ने गर्दथे ।

यसैगरी ब्रिटिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्यहाँका केही आदिवासीहरू पुरानो वर्षको अन्तिम दिन गाउँ, टोल, छिमेकमा सबै मानिसहरू एकै ठाउँमा जम्मा भएर आ–आफ्नो इष्टदेवताको त्यसमा पनि विशेषगरी सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ । त्यतिबेला उनीहरू अघिल्लो दिन सूर्यास्तको समयदेखि लिएर नयाँ वर्षको सूर्योदय नहुन्जेल सूर्यकै पूजा एवं उपासना गरेर नयाँ वर्ष मनाउने गरेको देखिन्छ ।

यस्तै इङ्गल्याण्डकै स्कटल्याण्ड–आयरल्याण्ड तथा वरिपरिका क्षेत्रहरूमा कालो कपाल हुने पुरुष तथा महिलाले सम्मान पाउँछन् । यहाँका निवासीमा यस दिन कालो कपाल हुने पुरुष तथा महिलालाई साक्षत् देवताको दूत मान्ने चलन पनि छ । उक्त नयाँ वर्षको दिन विशेषतया अग्ला र कालो केश भएका पुरुष तथा महिलाहरूको आफ्नो घरमा प्रवेशलाई शुभ प्रतिक मानिन्छ । नयाँ वर्षको प्रभातमा कालोवर्णका मानिस वा कालो वस्तुलाई देखेमा शुभ मान्दछन् ।

जापानमा नयाँ वर्षको बेला हरिया वृक्षहरू घर वरिपरि सजाउनुको साथै शुद्ध जल पिउने गर्छन् । जसलाई ‘‘नव जात जल’’ भन्छन् । नवजात जल पिउनाले उनीहरूको आयुमा वृद्धि र देशमा आरोग्य प्राप्त हुनेछ । यही दिन आफूभन्दा मान्यजनबाट आशिष लिने र अरूहरूको ऋण चुक्ता गर्ने गर्छन् । यस दिन चड्डा उडाउनुको साथै स–साना बालकहरूको अक्षरारम्भ गर्न यसै दिनलाई जापानीहरू शुभ मान्दछन् । नयाँ वर्षको यस पर्वलाई जापानमा ‘‘याबुरी’’ भन्दछन् ।

चीनमा रातभर जागा बसेर आमा, बाबु र गुरुलाई आदर भाव व्यक्त गरी आशीर्वाद प्राप्त गर्नुका साथै स्वादिष्ट भोजन ग्रहण गर्ने चलन छ भने नयाँ वर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका पटकाहरू पट्काउने गर्दछन् । भान्साको देवताको साथै पछिल्लो वर्षलाई बिदा दिएर फेरि त्यो देवताको आगमन भएकोमा नयाँ वर्षको अभिनन्दन दीपदानद्वारा स्वागत समारोहमा हर्षपूर्वक लाग्दछन् ।

थाइल्याण्डमा तथा सम्पूर्ण दक्षिण पूर्व एशियाका मुलुकहरूका निवासीहरूले आ–आफ्नो घरको सफा सुग्घर गर्ने, प्रत्येक घरमा दियो बाली दीपावली गरिन्छ । बौद्ध मन्दिरहरूमा गएर प्रार्थना गर्नुको साथै भिन्न भिन्न प्रकारको रुची लाग्दो खानेकुरा तयार पारी खाने, खुवाउने र नयाँ वर्षको मंगलमय कामना व्यक्त गरी महान वर्षको चाड मनाउने चलन छ ।

बर्माको बर्मेली समाजमा नयाँ वर्षको उत्सवलाई ‘‘विजान’’ भनिन्छ । घर र वरिपरि सजिसजाऊ पारेर आफन्तहरूमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्दछन् । सो दिन शान्ति र सद्वुद्धि प्राप्तिका लागि भगवान बुद्धको पूजा गर्ने चलन छ ।

मेक्सिकोमा नयाँ वर्षको उपलक्ष्यका दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ भने यसै दिन ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा यस दिन आफ्नो मन नपरेको कुरा जीवनसाथ भए तिनीहरूलाई छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने गरेको पाइन्छ ।

इरान र इराक सहित अरब देशहरूमा नयाँ वर्षको आगमन उत्सवलाई ‘‘नौरोज’’ भन्दछन् । गहूँ तथा जौको हरियो अंकुरा भएको भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती र रोटी राख्छन् । यी चीजहरूलाई उनीहरू ‘‘शुभ संकेत’’ को रूपमा लिन्छन् । राति दियो बालेर त्यसको प्रकाशमा उत्साहपूर्वक रमाइलो मनाउँछन् ।

कोरियामा नयाँ वर्षका दिन कन्याहरूलाई शृंगार पटार गरी गाउँको मुखियाहरूको अगाडि नचाउने गरिन्छ । त्यसपछि मुखियाले उनीहरूलाई आफूले चाहेको वरसँग विवाह गर्ने अनुमति दिने गर्दछन् । त्यतिबेला ती मुखियाहरूले गाउँका राजाको प्रतिनीधित्व गरिरहेको विश्वास लिइन्छ । त्यसपछि गाउँमा अर्थात् कन्याले मन चाहेको वरलाई वरण गरिसकेपछि त्यहाँ पुनः सामूहिक नाचको आयोजना गर्ने गरिएको पाइन्छ ।

जर्मनीमा नयाँ वर्षको उत्सव मनाउँदा पानी भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवक्ताहरूले विभिन्न प्रकारले भविष्यवाणी गर्दछन् । र, सोही समयमा उनीहरू मिलेर मिठाई बाँडिखाने गर्दछन् ।

आजकाल पाश्चात्य मुलुकमा शुभकामना लेखिएको कार्डहरूको आदान–प्रदान गरी नयाँ वर्ष मनाउने चलन बढ्दो छ । यो क्रम हाल भारतीय उपमहाद्वीपमा पनि चल्दै आएको छ । त्यति भएर पनि यहाँ परम्परागत रूपमा नयाँ वर्ष मनाउने चलन पनि उत्तिकै तीब्र छ । भ्याटिकन सिटीमा आज पनि क्रिसमसपछि नयाँ वर्ष नै हर्षोल्लासपूर्ण मनाउने पर्वका रुपमा मानिन्छ । भ्याटिकनहरू नयाँ वर्ष मनाउने क्रममा पहिलो दिन बिहान आकाशमा सेता परेवाहरू उडाएर र एक ठूलो केक काटेर भ्याटिकन सिटीको चर्चको परिसरमा हर्षोल्लासको साथ केक बाँड्ने गरिन्छ ।

फ्रान्समा नयाँ वर्षलाई वसिली दिवस को रुपमा मनाउने चलन छ भने पोर्चुगलमा साँढे जुधाएर रमाइलो गरिन्छ भने अष्ट्रेलियामा स्वर्ण मुद्रा, ब्रुश, चिम जस्ता शुभ वस्तुहरूको आदान–प्रदान गर्नुको साथै एक आपसमा उपहारहरू साटासाट गरेर मनाउने गरिन्छ । यस्तै अमेरिकामा यस दिन अभिनन्दन समारोह मनाउने चलन छ । न्यूजिल्याण्डमा ब्रिटिस परम्परा अनुसार नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन शुभकामना पत्र आदान प्रदान गर्नुको साथै अनेक किसिमको उत्सव मनाउने परम्परा पनि छ । उता इण्डोनेशियामा नयाँ वर्षको दिन नयाँ लुगाको प्रयोग गरिन्छ र एक अर्कामा श्रद्धा र सहयोगको भावले शुभकामना व्यक्त गरिन्छ ।

समष्टिगत रूपमाभन्दा जहाँ जसरी नयाँ वर्ष मनाउनु भनेको पुराना सबै कुराहरूलाई त्यागेर नित्य नवीनतम सोचाइ र उन्नति तर्फ अग्रसर हुनुपर्दछ भन्ने भाव हो, एक अर्कालाई शुभकामनादिनु, शान्तिको कामना गर्नु नै नयाँ वर्षको सन्देश हो भन्नुमा कुनै अत्युक्ति नहोला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *