Skip to content


सारा छन्द मिठास भो मधुसरी कस्तो मिठो मोहनी ।
याहाँ छन्द चल्यो उता गगनको चम्केछ त्यो चाँदनी ।।
कोहो भन्छ र बोल्छ कोयल कतै आखीर त्यै छन्द भो ।
तेही छन्द सुनेर आज वनमा हावा उतै मन्द भो ।।

लाग्दा घाउ चल्यो भने विरहमा यै छन्द भो ओखती ।
मेरा कान सुनेर छन्द जहिले खै यी अघाए कती ।।
बग्छीन् छन्दमहाँ अझै नि सरिता डाकी मलाई पनी ।
मै त्याँ हुन्छु किनारमा र उसले पौडेर जाऊ भनी ।।

रात्रीको नभ छन्दले चमकियो नौलाख तारा भरी ।।
यौटा छन्द मिठो उता लहरमा छल्किन्छ रारा भरी ।।
प्यारीको छ नशालु त्यो नयनका नानी घुमे छन्दमा ।
यो संसार भुलेर पो युवकले गाला चुमे छन्दमा ।।

छन्दै छन्द यसै गरी अरुणिमा पस्केछ थाली भरी ।
यस्तै छन्द छ मोहनी अधरमा वैँशालु लाली भरी ।।
कस्तो जादु टुना र मन्तर गरी बाँधेछ यो छन्दले ।
मेरा पीर भुलाइदेउ अब ता बस्थे म आनन्दले ।।

उर्लीयो किन छन्दले हृदयमा आनन्दको सागर ।
आऊ छन्द तिमी यता जिवनमा उत्साह नौलो भर ।।
हाँसी खेल न जीन्दगी रहरको बाँचौ सँधै छन्दमा ।
मीठो छन्दसरी रमाउँ दुनियाँ,लान्छौ र के अन्तमा ।।

2014-04-27 12:18:58 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *