Skip to content


तिम्रो प्यार अती भएर कहिले पोखेछु मन्का कुरा।
उल्टै यो दिलमा बसेर किन हो रोप्यौ तिमीले छुरा।।
तिम्रो निम्ति भनेर यो हृदयमा राखेर तिम्रो छवी।
काँ छाडेर गयौ र आज दिनमा खै भो उज्यालो रवी।।

चोखो प्रेम गरेर यो नजरमा मैले लुकाको थिएँ।
भन्देऊ न मलाइ नै हृदय त्यो कैले दुखाको थिएँ।।
वैली फूल झरी गए कुसुमले छायाँ हटाई गए।
मेरै मित्र बनेर बादल अझै आँशू खसाई गए।।

निर्मोही किन आज भेल बिचमा छाडेर जाँदी भयौ।
मेरो प्यार चिहानमा किन त नी गाडेर जाँदी भयौ।।
मेरो आश निराश निर्झर भयो तिम्रो खुशी फैँलिदा।
तिम्रो आश खुशी बढोस् अझ निकै मेरो खुशी वैलिँदा।।

यौटा गीत यतै कतै विरहको गाएर जाओ चरी।
सुन्दै आँशु खसाउँला म यसरी साऊन बर्षे सरी।।
मेरो जीवन रातझैँ धमिलिँदा हाँसेर टारीदियौ।
मेरो प्यार भुलेर अन्त कसरी त्यो प्रेम सारी दियौ।।

तिम्रो याद अझै भो र कहिल्यै मेटेर मेटिन्न त्यो।
बोली त्यो महझैँ सुनेर मन यो कैले अघाउन्नथ्यो।।
मेरो प्यार बुझेर त्यो वनचरी हाँस्दै नहाँस्ने अरे।
जोडी ढुक्कुरले खुलेर पिरती गाँस्दै नगाँस्ने अरे।।

First published : 2014-04-27 17:04:30 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *