Skip to content


जिल्ला वन कार्यालयको पियन धनवीरको कार्यालयले उसको विगतको तीस वर्षको कार्यकालमा धेरै हाकीमहरू, मन्त्रीहरू तथा रेञ्जर तथा फोरेस्टरहरू बेहोरिसकेको थियो।

निर्वाचन पछि बनेको सरकारमा त्यही जिल्लाका नेताले वन मन्त्रालयको जिम्मेवारी पाए। धनवीरले पनि हाकिमहरू, तथा वनरक्षकहरूको नयाँ डफ्फालाई स्वागत गर्ने मौका पायो।

“धनवीर हामी सबैले आ-आफ्नो काम पूर्ण इमान्दारीका साथ गर्नु पर्छ।” वन रक्षकको मुखबाट सुनेपछि धनवीर सोच्न थाल्यो वन रक्षक त यस्तो पो हुनुपर्छ।

हाकीमले पहिलो बैठकमा चोरी शिकारीलाई निरूत्साहित गर्ने कार्ययोजना प्रस्तुत गरे। धनवीर सोच्न थाल्यो हाकीम त यस्तो पो हुनुपर्छ।

“वन्यजन्तु हाम्रो पर्यावरणको अभिन्न अङ्ग हो। चोरी शिकारी नियन्त्रण गर्न सरकारी तवरबाटै पहल गरिनेछ।” वन्यजन्तु संरक्षण सप्ताहको समापन कार्यक्रममा मन्त्रीको भाषण सुनेपछि धनवीर सोच्न थाल्यो मन्त्री त यस्तो पो हुनुपर्छ।

वन्यजन्तु संरक्षण सप्ताहको समाप्तिपश्चात जिल्लाको एक तारे होटलमा खानपान आयोजना गरियो। मन्त्रीले हाकिमलाई बोलाएर निर्देशन दिए। हाकिमले वनरक्षकलाई इशारा गरे वन रक्षकले धनवीर भएठाउँ आएर भन्न थाल्यो – “धनवीर मन्त्रीज्युलाई ढिलो भइसक्यो रे अनि अलि गुप-चुप पनि राख्नु पर्छ, जो पायो त्यहीलाई पठाउनु पनि भएन जाउँ हिँड तिमी र म भान्छामा मासु तयार गर्न होटल मालिकलाई सहयोग गरौँ।”

धनवीर वनरक्षकको पछि-पछि भान्छातीर लाग्यो। भान्छामा बँदेलको सुकुटी, मृगको मासु तयार गरिँदै रहेछ। धनवीर सोच्नथाल्यो पर्यावरणको संरक्षण यस्तो पो हुँदोरहेछ।

सौराहाद्वार, २०७१ बैशाख १६

2 thoughts on “पर्यावरण (लघुकथा)”

    1. एकदेव

      धन्यवाद लामा राज जी ।
      धन्यवाद लामा राज जी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *