पानीमा बाँचेको हाम्रो जीवन (त्रिचन्द्र ‘प्रतीक्षा’)


वैज्ञानिक तथ्य अनुसार पानीलाई (H2O) भनिन्छ । अर्थात् पानी हाइड्रोजन र अक्सिजनको एक यौगिक हो । यस यौगिकमा आयतनको हिसाबले हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग हुन्छ । यी दुई ग्यासको गुण एकदमै छुट्टाछुट्टै हुन्छ । सहि रुपमा भन्दा शुद्ध अवस्थाको पानीको कुनै रंग, गन्ध र स्वाद हुँदैन ।

पानी पिउनु एउटा बानी मात्र नभएर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यकसमेत हो । ‘हाम्रो शरीरले गर्ने जे काम पनि पानीको स्वस्थ आपूर्तिमै निर्भर हुन्छ ।’ वीर अस्पताल लिभर युनिटका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. अनिलकुमार मिश्र भन्छन् ‘उचित मात्रामा दिनहुँ कीटाणुरहित स्वच्छ पानी पिउनाले जलअल्पता रोक्छ, शरीरको सफाइ हुनुका साथै घाउ भर्ने प्रक्रियासमेत तीब्र हुन्छ ।’ डा. मिश्रका अनुसार मुटुका रोगी, उच्च रक्तचाप र खुट्टाको तल्लो खण्ड सुन्निएका रोगीले भने बढी मात्रामा पानी पिउनबाट बच्नुपर्छ । विशेषगरि मृगौलाको समस्या भएका, मुख्यतः मृगौला प्रत्यारोपण गरेकाहरुले बढी पानी पिउनु अघि चिकित्सकको परामर्श लिनुपर्छ ।

तर स्वस्थ व्यक्तिले पिसाबको रंग गाढा पहेंलो नहुन दिन पानी खाइरहनुपर्छ । मृगौलालाई राम्ररी काम गर्न स्वस्थ व्यक्तिले नियमित अन्तरालमा बढी मात्रामा पानी खानुपर्छ । पानीले नाइट्रोजन, किटोन र युरियालाई हटाउनु सहयोग गर्छ । युरोलजिस्ट प्रा. डा. भोलाराज जोशी भन्नुहुन्छ, ‘मृगौलालाई सही रुपमा काम गर्न दिनहुँ पर्याप्त मात्रामा शुद्ध पानीको आवश्यकता हुन्छ ।’

हरेक प्राणीको शरीरमा पानी निश्चित मात्रामा रहेको हुन्छ र रहनु पनि पर्दछ । एक स्वस्थ्य मानिसको शरीरमा औसत ६५ प्रतिशत पानी हुन्छ । यदि मानिसको शरीरमा भएको पानीको यस मात्रामा १२ प्रतिशतसम्म मात्र कमी भएमा त्यो व्यक्ति जीवित रहन सक्दैन । हेर्दा ठोस र कडा जस्तो लाग्ने हाम्रा हड्डीहरूमा २२ प्रतिशत, हाम्रो दाँतहरूमा १० प्रतिशत पानी हुन्छ । दाँतको कोशिकाहरूमा पानीको मात्रा सबैभन्दा कम हुन्छ । यसैले शरीरका अन्य भागहरूभन्दा दाँत कोशिकाहरू सर्वाधिक कडा हुन्छन् । हाम्रो छालामा २० प्रतिशत, मस्तिष्कमा ७४।५ प्रतिशत, मांसपेशिहरूमा ७५।६ प्रतिशत, दिसामा ८२।७ प्रतिशत र रगतमा ८३ प्रतिशत पानीको मात्रा हुन्छ ।

शरीरमा भएको पानीको मात्रा लिंग र स्वास्थ्य अनुसार घटी–बढी हुने गर्दछ । स्त्रीहरूको शरीरमा हरेक पुरुषहरूको तुलनामा पानीको मात्रा कम हुन्छ किनभने स्त्रीको शरीरमा यस्तो बोसो कोशिकाहरूको मात्रा अधिक हुन्छ, जसलाई पानी प्रिय लाग्दैन । एक जवान युवा पुरुषमा त्यसको कूल वजनको ६५ प्रतिशत पानी हुन्छ भने एक जवान स्त्रीको शरीरमा उसको कूल वजनको ५२ प्रतिशत मात्र पानी हुन्छ । त्यस्तै पानीको यो मात्रा पुरुषहरूमा ५४ देखि ७० प्रतिशत र स्त्रीहरूमा ४५ देखि ६० प्रतिशतको बीच पनि हुन सक्दछ । कमचोर व्यक्तिको शरीरमा पानीको मात्रा उसको कूल वजनको ७० प्रतिशत हुन सक्दछ ।

तथ्यांकअनुसार दिनहुँ हाम्रो शरीरबाट २।३ देखि २।८ लिटर पानी विभिन्न अंग हुँदै शरीरबाहिर निस्किन्छ । मृगौलाबाट पिसाबको माध्यमले डेढ लिटर, दिसाको माध्यमले ०।१३ लिटर, छालाबाट पसिनाका रुपमा ०।६५ लिटर र सासको माध्यमले फोक्सोबाट ०।३२ लिटर पानी शरीरबाहिर जान्छ ।

शरीरमा भएको पानीको यो मात्रा उमेरको वृद्धिसँगै घट्दै जान्छ । बूढाहरूको अपेक्षा युवाहरूलाई र युवाहरूको अपेक्षा बालकहरूलाई धेरै पानीको आवश्यकता पर्दछ । नवजात शिशुको शरीरमा त पानीको मात्रा ७५ देखि ८० प्रतिशतसम्म हुन्छ । यसैले शिशुहरूलाई दूध खुवाउनु अघि पानी खुवाउनु पर्दछ । खासगरी गर्मीमा यस्तो गर्नु धेरै जरुरी छ । वृद्धाहरूको शरीरमा अन्यको अनुपातमा पानीको कमी केवल पाँच प्रतिशत मात्र हुन्छ । यसैको कारण बच्चाहरू र युवाहरूको छालामा जुन चमक रहन्छ, त्यो वृद्धाहरूको छालामा हुँदैन ।

मानव शरीरमा पानी दुई रुपमा रहेको हुन्छ । एक कोशिकाहरूको भित्र र दोस्रो कोशिकाहरूको बीचमा । शरीरमा रहेको कुल पानीको पाँचौं भाग त हाम्रो रगतमा हुन्छ । भिन्न–भिन्न व्यक्तिहरूमा पानीको प्रतिशत अलग–अलग हुनुको कारण के हो भने जसको शरीरमा बोसोको मात्रा जति बढी हुन्छ, पानीको प्रतिशत त्यति नै कम हुने गर्दछ ।

पानी आम रासायनिक पदार्थ हो, जुन मानवलाई जीवित रहन आवश्यक छ । खानाबिना एक सातासम्म बाँच्न सकिए पनि पानीबिना भने एक साताभन्दा बढी बाँच्न अप्ठ्यारो हुन्छ । औसत एक वयस्क व्यक्तिको शरीरमा ३५ देखि ४० लिटर पानी सधैं बनिरहेको हुन्छ । प्रतिदिन हाम्रो शरीरबाट कमसेकम २।३ देखि २।८ लिटरसम्म पानी विभिन्न बाटो भएर बाहिर निस्केर जान्छ । जो व्यक्ति धेरै पानी पिउँदछ, त्यसको शरीरबाट प्रतिदिन मलमूत्र र पसिनाको रुपमा धेरै पानी शरीरबाट बाहिर निस्कन्छ, जसबाट रगतमा पानीको मात्रा कम हुन थाल्दछ । यस्तो हुनासाथ मस्तिष्कको जल आपूर्ति केन्द्र ‘हाइपोथैलेमस’ मा संकेत पुग्दछ र हामीलाई प्यास लाग्ने गर्दछ । हाम्रो शरीरबाट बाहिर निस्कने पानीको पूर्ति केही हदसम्म खानामा रहेको पानीद्वारा हुने गर्दछ, किनभने हाम्रो खाद्य पदार्थहरूमा पानी बढी मात्रामा हुने गर्दछ । दूध, फलफूल, साग–सब्जी आदि खाद्य पदार्थहरूमा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्म पानी नै रहेको हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एक व्यक्तिलाई दिनहुँ न्युनतम १५ लिटर शुद्ध पानीको आवश्यकता पर्छ । डब्लुएचओकै अनुसार सुरक्षित पानीले बर्सेनि १४ लाख बालबालिकाको झाडापखालाबाट हुने मृत्युबाट जोगाउँछ ।

[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *