Skip to content

सम्झनाको तरेलीमा पारिजात दिदी


केही दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरूको नामावली सोचिरहेको थिएँ । धेरै साहित्यकारहरू त दिवंगत भइसक्नु भएकाले अब को चाहिं बाँचिरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब रहेनन् भनेर फेसबुकमा एक पत्रकार बहिनीले लेखेको पढेपछि मेरो नामावलीमा एक नाम थपियो भनेर मनमा चिसो पस्यो । बिगत केही महिना अघि मात्र कवि ईश्वर वल्लभको निधनले दिवंगत हुनेहरूको नामावलि लम्बिएको महशुस गरेको थिएँ । अब त धेरै साहित्यकारहरू केवल संझनाको तरेलीमा मात्र बाँकि रहे ।

केदारमान ब्यथित, केशवराज पीडाँली, विनोदप्रसाद धिताल, जनकलाल शर्मा, डा. ईश्वर बराल, विजय मल्ल सबै गए यो संसारलाई छोडेर । तर मलाई लेख्न प्रेरणा दिने पारिजात दिदीको संझना मेरो मानसपटमा गहिरो छाप बसेको छ । करिब २६ वर्ष अघि “सिम्मा” नाटकको प्रदशर्नीको सिलसिलामा दार्जिलिङ्ग आउनुहुँदा भेटेको पारिजात दिदी, सायद एक साहित्यकारभन्दा बढी मेरो लागि अभिभावक हुनुहुन्थ्यो । पारिजात दिदीलाई लिएको अन्तरवार्ता नै मेरो प्रथम साहित्यिक यात्राको थालनी थियो, अपितु त्यो यात्रा लामो समयसम्म लम्बिन सकेन विभिन्न कारणवश । सम्झना अँझै पनि आलो छ । दिदीले हस्ताक्षर गरेर दिएको शिरिषको फुलको अंग्रेजी अनुवाद ९द्यगिभ ःष्mयकब०का किताब पाउँदा खुसीले धेरै साथीहरूलाई देखाएको । हुनत मेरो जीवनको पहिलो जागिर नै पारिजात दिदीको सिफारिसमा भएको हो तर पनि जागिरले दिदीसँगको सामिप्यता पक्कै ल्याएको होइन । मैले लेखेका पारिजात दिदीको प्रसंगहरू कुनै नौलो होइनन् र हुन पनि सक्दैनन् तर कतिपय कुराहरू सायद समय सापेक्ष हुन्छ भनेर मैले लेख्न प्रयास गरेको हुँ ।

प्रायः हप्तामा एक दिन गफ गर्नका लागि जाने बानी बसिसकेकाले होला पारिजात दिदीको घर वा स्कुल भनौं मेरो निम्ति सधैँ खुल्ला थिए । दिदीसँग बसेर घण्टौं साहित्यिक गफ गर्नु मेरो निम्ति दिनचर्या थियो । अरुले लेख्न आँट गर्न नसकेका कुरा कुनै डर र त्रास विना लेख्न सक्नु दिदीको खुबी थियो । प्रसंग एउटा त्यस्तै छ । स्व. लैनसिंह बाङ्गदेलले एउटा रसियाली कथालाई आधार बनाएर लेखेको मुलुक बाहिर उपन्यासका बारेमा लेख्न कसैले आँट गरेनन् किनकि बाङ्गदेल त्यसबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति थिए । त्यो रसियाली किताब मसँग भएकाले मैले धेरैलाई त्यस विषयमा लेख्न आग्रह गरें तर कोही मानेनन् । तर पारिजात दिदीले मेरो प्रसङ्ग जोड्दै त्यो चोरी साहित्यमाथि लेखे एउटा पत्रिकामा तर पछि त्यस विषयलाई अघि सारेर चर्चाको विषय बनाउन कसैले चाहेनन् ।

आफ्नो लेख्ने विषय बस्तुमा अध्ययन गरेर मात्र लेख्न पर्छ भन्ने मान्यता थियो पारिजात दिदीको । परिभाषित आँखाहरू लेख्दाको प्रसङ्ग म अहिले पनि भुल्दिन । यो उपन्यास लेख्ने क्रममा दिदीले प्रायः जसो यसको विषयबस्तु माथि चर्चा गर्नुहुन्थ्यो । धेरै गाह«ो प्रसङ्ग वा विषयवस्तु आएमा त्यस विषयको बिज्ञहरूसँग सल्लाह लिने गरेका कुराहरू गर्नुहुन्थ्यो ।

पारिजात दिदीको हक्कि स्वभावको कारणले धेरै मानिसहरू दिदीसँग लेख माग्न वा अन्तरवार्ता लिन आँट गरी हाल्दैन थिए । मिलनसार त थिइन् दिदी तर चाकडी र चापलुसीबाट धेरै पर । नरेन्द्रराज प्रसाई दाइलाई एउटा पुस्तकको निम्ति पारिजात दिदीको अन्तरवार्ता चाहिएको थियो । तर दिदीले उहाँसँग सोझै अन्तरवार्ता नदिने भनेपछि म मार्फत करिब १ घण्टाको अन्तरवार्ता दिनुभयो । सायद त्यो रिकर्ड भएको चक्का प्रसाई दाइसँग अहिले पनि सुरक्षित होला ।

मलाई अँझ पनि संझना छ त्यो कोठाको जहाँ दिदीसँग मैले धेरै क्षण बिताएँ साहित्यिक गफ गरेर । अनावश्यक मान्छेहरू आएको मन नपराउने पारिजात दिदी सीमित मान्छेहरूसँग मात्र गफ गर्न मन पराउनुहुन्थ्यो । विश्व साहित्यको राम्रो अध्ययन गर्नुहुने दिदी उहाँ कै सिफारिसमा मैले चिनियाँ लेखक लु सुनको कथा, फ्रान्सेली साहित्यकार जाँ पल सात्रको किताब पढ्ने अवसर पाएँ । रसियाली लेखकहरूको उपन्यास र कथा पढ्न रुचाउने पारिजात दिदी प्रगतिवादी साहित्यको उपदेशात्मक आख्यानभन्दा माथि उठेर वर्तमान समाजको चित्रण गरेको पाउँछौं दिदीका कथाहरू र उपन्यासमा । पारिजात दिदीले नै सुझाव दिएको आधारमा मैले पिटर जे कार्थकको “प्रत्येक ठाउँ प्रत्येक मान्छे ” उपन्यास दोहोर्याई पढें ।

मैले लिएको एउटा अन्तरवार्तामा दिदीलाई कुन कुन विश्वस्तरीय साहित्यकारहरूसँग प्रभावित हुनुहुन्छ भनेर सोधेको प्रश्नमा दिदी भन्नुहुन्थ्यो “एउटा एउटा कृतिहरूलाई लिएर म विश्वस्तरीय धेरै साहित्यकारहरूसँग प्रभावित छु; जस्तै एमिली ब्रोन्दे, भिक्टर ह्युगो, मोराभिया, एमिल जोला, दोस्ताबस्की, गोर्की, ओब्रोब्स्की, थाङमी, लुसुन, आइन राइड, एलेक्स हेली, प्रेमचन्द, मुलुकराज आनन्द, विभूति भूषण वन्धोपाध्याय आदि । नेपाली साहित्यमा भने त्यस्तो लेखक उभ्याइसकेको छैन ” । सोही अन्तरवार्तामा पारिजात दिदीलाई मुकुट पत्रिकामा प्रकाशित कविता “जीवन एक वेवारिस मृत्युको मुचुल्का”मा व्यक्त गरिएको एक हरफ ‘एउटा लाससम्म नअटाउने एक चोक्टा ढिस्कोको निम्ति मलाई मर्नु छैन माटोको निम्ति‘ बारेमा सोधिएकोमा दिदी भन्नुहुन्थ्यो “यो कविता मैले जीवनको अति विसंगत पक्ष भोगिरहेको बेला र विसंगत मनस्थितिको चपेटामा परेर लेखेकी हुँ । आफ्नो बिगत भ्रमपूर्ण विचारहरूको निम्ति म तपाँईहरू समक्ष आत्मालोचना गर्छु ” । आफ्नो कविता प्रति यस्तो आत्मालोचना गर्ने सायद कमै कविहरू होलान् नेपाली साहित्यमा । यो अन्तरवार्ता दार्जिलिङ्गबाट प्रकाशित “हिमालचुली”मा २०३९मा छापिएको थियो । पारिजात दिदी कै अनुमतिबाट मैले २०४९मा सम्पादन गरेको “आस्था” साहित्यिक पत्रिकामा पूनः प्रकाशित गरेको थिएँ । त्यही पत्रिकामा पारिजात दिदीको एउटा मुक्तक छापिएको थियो । मुक्तक भए पनि त्यस भित्र देशमा विद्यमान स्थितिलाई राम्रो चित्रण गरिएको थियो ।

“ वसन्त सधैं झैं आएकै हो
समयमा रंगी–चंगी फुलहरू फुले कै छन्
हाँगाहरूमा मात्र फुल सजाउने हातहरू वाँधिएछन्
मात्र दृश्य हेर्ने आँखाहरू नजरबन्द भएछन् ।
गलैचा बुनेकै छन्
झार पात र मसिना फुलहरूले चराहरू चिरविराए कै छन्
बिहानीको संकेत दिएर केवल टेक्ने कोमल पाइलाहरू पानी कोरलि फुलिरहेछन् ” ।

जन आन्दोलन भाग एकमा पारिजात दिदीले खेलेका भूमिका धेरै जसोको मनमा अँझै पनि आलो संझनाको समयमा बाँकी नै छ । सांसारिक आवश्यकता हुँदाहुँदै पनि दिदीले देखाएको साहसको धेरैले कदर गरे तर सम्बन्धित निकायबाट दिदीप्रति कुनै सद्भावना देखाइएन । दिदीले २०४६ साल भर भूमिगत रुपमा चलाएको पत्रिका इन्द्रेणी साहित्यका केही अंकहरू मसँग अहिले पनि सुरक्षित छ । अग्रस्थानमा लेखिएको सम्पादकिय, कविता र लेखहरूले भरिएको उक्त पत्रिकाका अर्का सम्पादक थिए– हरिगोविन्द लुँइटेल । संयुक्त जन–आन्दोलनको घोषणा र विरोधका तालिकाहरू छापिएको त्यो पत्रिका भूमिगत रुपमा मैले पनि धेरै प्रचार–प्रसार गरेको थिए ।

पाक कला र फुल रोप्नमा धेरै शौेकिन पारिजात दिदी शिकार र कुस्ती खेललाई घृणा गर्नुहुन्थ्यो । मैले नगेन्द्रराज प्रसाई दाइको निम्ति लिएको अन्तरवार्तामा दिदीले आफ्नो लेखन सम्बन्धी एउटा रहस्यको गाँठो फुकाउनु भएको थियो । शिरिषको फुल लेख्न अघि पारिजात दिदीले चार वटा उपन्यास लेख्नुभएको थियो जो क्रमशः संघर्ष, मानव अन्तरयामी, वरपिपल र शारदा थिए । तर सन्तोष नलागेर सबै जलाइएका थिए ।

साहित्यले राजनीतिको केही बोझ बोकिदिनु पर्छ भन्ने विचारकी पारिजात दिदी आफैंलाई राजनीतिक दस्तावेज लेख्ने साहित्यकार होइन भन्नुहुन्थ्यो । कहिले पनि पद र पैसाको निम्ति कसैको पछि नकुद्ने पारिजात दिदी नेपाली साहित्यक जगतमा एउटा उदाहरणीय व्यक्तित्व हुन् – एक युग स्रष्टा ।

–शरद प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *