Skip to content

फुङ्फुङ्गे झरना


हे झरना!
ए फुङ्फुङ्गे झरना !
तिमी झरना कहाँ हुन्थ्यौ र !
यदि तिमी कुनै ठाउँमा,
निर्ढुक्क जमेर बसेको भए
अग्लो भीरबाट नखसेको भए
तिमी अनुपम झरना हुने नै थिएनौ ।
अग्लो भीरको बाटो
अप्ठ्यारो भीरको बाटो
कहालींदै झर्यौ
छङ्छङ् गर्दै झर्यौ
फङ्फङ् गर्दै झर्यौ
निरन्तर-निरन्तर झर्यौ
कहालीनुको विवश्ता तिमीलाई थाहा छ
लछारिंदै बग्नुको ब्यथा तिमीलाई थाहा छ
पछारिनुको पीडा पनि तिमीलाई थाहा छ
तिमीलाई यो पनि थाहा छ कि,
मान्छेहरूले तिम्रो बिजोक देखेर
तिमीलाई कसैले सोध्दैनन्
तिम्रो ब्यथाहरू
धेरैले बुझ्दैनन्
दर्दले भरिएको तिम्रो यात्राहरू
खाली मान्छेहरूले तिमीलाई हेरेर जान्छन्
सम्झनाको लागि तस्विरहरू खिचेर लान्छन्
तिमीलाई हेरेर
तिम्रो समिप घुमेर
केवल रमाइलो गरेर जान्छन्
रमाइलो मानेर जान्छन्
तर किन उनीहरू,
दु:ख परेको बेला
चोट परेको बेला
जिन्दगीको कुनै कठिन मोडमा
यात्रा टुङ्ग्याउन खोज्छन ?
जीवन टुङ्ग्याउन खोज्छन ?
किन तिमी जस्तो
मान्छेले कुरा नबुझेको ?
हे झरना!
तिमी केही त भन
तिमीलाई हेरेर पनि
तिमीलाई देखेर पनि
धेरै मान्छेले कुरा बुझेका छैनन्
ज्युँन सिकेका छैनन्
तिमी केही त बोल
जीवन यात्रामा
विषम परिस्थितिहरू
अप्ठ्यारो बाटोहरू
सबै परीक्षाहरू हुन
विषम परिस्थितिहरू सामना गर्दै
अप्ठ्यारो बाटोहरू पार गर्दै
गन्तव्य तर्फ अघि बढिरहनु पर्छ
अन्त्य समाधान होइन भनेर भनी देऊ
तिमी बोल्नै पर्छ झरना
होइन भने मलाई सुटुक्क भन त
म नै भनिदिन्छु
सबै कुरा म नै लेखिदिन्छु ।
तिमी चाहिं झन अग्लो-अग्लो भीरको बाटो
निरन्तर झर्दै जाऊ
अनवरत बग्दै जाऊ
तिमीलाई मेरो शुभकामना !

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *