सानु छँदा
हाँसको कथा
बाण निकालेको
औषधी उपचार
दयाको गाथा
मानवताको इतिहासमा
ती कथाहरू कितावको पानामा
टाँसिएर झुण्डिएका छन्
त्यो कथाको पात्रलाई
सबैतिर खोजें नियाले
खोजीको निरन्तरता
अनि सम्झिएँ
त्यो कपिलवस्तु त्यो बोधगया
सम्झनाहरू बढे
वामियानको बुद्धको कथा सम्झिए
मैले पढेको बुद्ध
सबैमा खोजें
त्यो दरवारमा बुद्ध थिएन
तरबारहरूमा कतै युद्धमा पो हो कि भनेर
बुद्ध झुटो पो हो कि भनेर
युद्धहरूमा खोजें
कतै बन्दुक बोक्योकी भनेर
रगतका ती आहालहरूमा खोजें
ती घाउहरूमा
खेतका गराहरूमा
रुखका फेदिहरूमा
जति खोजें बुद्ध भेटिएन
गेरु बस्त्रहरूमा
ती पित्तवर्णहरूमा
गुम्बाहरूमा – चमर अनि घण्टाहरूमा
बुद्ध जपेर बुद्ध बेच्नेहरूसँग
मैले बुद्ध सोधें
तिनलाई बुद्ध के हो थाहानै भएन
बुद्ध खोज्ने निरन्तरतामा
समाज सद्भावको लागि बुद्ध खोजें
मायाको लागि बुद्ध खोजें
अन्न्यायको को तरलतामा
त्यो जटिलता हटाउन बुद्ध खोजें
मनहरूमा मनभित्रका मनहरूमा
दयाखोजें बुद्ध खोजें
तर यो शहरमा यो गाउँमा
बुद्ध हरायो
अशंख्य खुड़कीलाहरू छिचलेर
कहीं कतै लुकेको छ कि भनेर
ती महापूराणहरूमा
हे बुद्ध ! तिम्रो मूर्तिमा
अगरबत्ती बालेर
बुद्ध हेरें बुद्ध खोजें – सहस्र मनहरूमा
खोइ बुद्ध भेटिएन
हल्ला चल्यो
खैला वैला भो
के बुद्ध अब भेटिन्न त
ओल्लो घर पल्लो घर
यो देश त्यो देश
बुद्ध हरायो
वामियानको पर्खाल ढालेर
बुद्ध छोप्नेहरू आज सफल भए
हिंसाको यो प्रकोपमा
अविश्वासको महामारीमा
अशान्तिको यो अग्नि ज्वालामा
तिम्रो अनुपस्थिति खट्केको छ
असत्यका विजय जुलुशहरू
व्यभिचारको लुटपाट
लुट्नेले लुटिरहेछ
धुत्नेले धुतिरहेछ
दयामाया टुटेको छ
मानवता को यो दोहनमा
तिमी हराएको यो बस्तीमा
तिमी लुकेको यो सहरमा
हे बुद्ध तिमी हराएको यो सहरमा
नाराहरूमा झण्डाहरूमा
तिमीलाई साटेर गर्जो टार्ने
कति कोशिसहरू नभएका होइनन
त्यसैले
खबरदार नारा लाउदैमा बुद्ध भेटिदैन
झण्डामा बुद्ध थोपेर बुद्ध भेटिन्न
मनभित्रबाट सुन्नु भएमा
बुद्ध खोज्न मनभित्रै खोज्नु पर्छ
खोइ कुनै मन भित्र बुद्धै छैन
हो पनि
भोको पेटले बुद्ध पाल्दैन
नाङ्गो आंगले बुद्ध छोप्दैन
समस्याहरूको तेजावी यो सहरमा
बुद्ध भेट्नेले पनि
बुद्ध सोद्धैन बुद्ध खोज्दैन
यो मनको कोलाहलमा बुद्ध बस्नै मान्दैन
अनि बुद्ध खोजेर पनि पाइदैन
त्यो दयाको पात्र मानवताको मूर्ति
मस्तिष्कको त्यो बुद्ध
न पूजा न पाठ न ढोंग न स्वाङ्ग
त्यो बुद्ध भेट्न त मन नै चाहिन्छ
मूर्ति पुजेर झण्डा बोकेर बुद्ध भेटिन्न
किनकि
यो सहरमा आगोको डल्ला खेल्नेलाई
बुद्ध चाइदै चाहिदैन
बुद्ध ती लप्काहरूमा पाइदैन पनि
बुद्ध त सरल मनहरूको
भित्रि मनमा खोज्नु पर्छ
खोइ ती मनहरू पाइदै पाइदैन
किन हो कोनि ती मनहरू
आजकल खुम्चिएका छन्
खुम्चिएको मनमा बुद्ध पस्नै मान्दैन
केही मनहरू आलिशानमा उग्राएका छन्
ती मनहरूले बुद्ध सोद्धै सोद्धैन
यहाँ यो सहरमा यो गाउँमा
धेरै तनहरू बुद्धभन्दा ठुलो
यो तापमा कुदेका छन् भोको पेटमा
दोहोर्याएर भन्दै छु
भोको पेटले बुद्ध मान्दैन
त्यो बुद्ध सुन्दैन
खुम्चिएका मनहरूमा बुद्ध पाहिदैन
उग्राएकाहरूलाई पनि बुद्ध चाहिदैन
अब
यो मन खुम्चिएको सहरमा
बुद्ध खोज्नै सकिएन
बुद्ध भेट्दै भेटिएन
त्यसैले जारी छ जरुरी सुचना
बुद्ध हराएको सुचना !
बुद्ध हराएको सुचना !!
कतै कसैले बुद्ध भेट्नु भएमा
तु. खबर गर्नुहोला
अनि आइन्दा ख्याल गर्नु होला
कतै बुद्ध भेटिएमा
हाइ हेल्लो गर्नु होला !!
===================
बुद्धम शरणं गच्छामी
===================
२५५८औ बुद्धजयन्ती -२०१४
यु एस ए क्यालिफोर्निया
First published : 2014-05-14 22:47:06 +0545
