Skip to content


चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभीइरहेका थिए।

पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ वरपर यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”

दोश्रो कविले मुख खोल्यो – “मेरो भित्री श्रवण शक्तिबाट मैले गोधुली साँझमा सुनिने चराहरूको मधुर चिरबिर सुनिरहेछु। त्यस सङ्गीतको माधुर्यले मेरो हृदय यसरी कैद गरेको छ जसरी कमलको पत्रभित्र मौरी कैद हुन्छ।”

तेश्रो कविले आफ्ना आँखा बन्द गरेर आफ्ना दुबै हात माथि फैलाउँदै भन्यो – “म तिनीहरूलाइ आफ्ना यी हातहरूले स्पर्श गरिरहेछु। म ती पँखेटाहरू अनुभव गरिरहेछु मानौँ सुतिरहेकी परीहरूको मन्द श्वास मेरा औँलाहरूलाइ स्पर्श गरिरहेछन।”

चौथो कवि नजिकै गयो र कप आफ्नो हातमा लिँदै भन्यो – “दुःखको कुरा मित्रवर! म यहाँहरूले भन्नुभए जस्तो दृष्टि, स्पर्श र श्रवणमा निकै कमजोर छु। म न त यस मदिराको बासना देख्न सक्छु, न यसको मधुर सङ्गीत सुन्न सक्छु, न यसका पँखेटाहरूको स्पर्श गर्न सक्छु। म त यहाँ मात्र मदिरा देख्छु जसलाइ म पिउन चाहन्छु ता कि म मा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस र यहाँहरूको उचाईमा पुग्न सकुँ।”

अनि उसले त्यो कप उठायो र अन्तिम थोपासमेत नराखेर घट-घट पियो।

ती तीन कविहरू, आश्चर्यचकित हुँदै उसलाई हेरेको हेऱ्यै भए, अनि उनीहरूको आँखामा अतृप्त साथै नरमाइलो किसिमको घृणाको भाव प्रष्ट देख्न सकिन्थ्यो।

खलिल जिब्रानको लघुकथा Poets को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
२०७१ जेठ ७ गते बुधबार

2 thoughts on “उचाइ (अनूदित लघुकथा)”

  1. एकदेवजी धन्यवाद । नेपालीहरु
    एकदेवजी धन्यवाद । नेपालीहरु यस प्रकृतिका लघु कथाहरु लेख्न किन सक्तैनन् तपाइँ मलाइ सुझाव दिनुहोला ।

  2. होम जी धन्यवाद प्रतिक्रियाको
    होम जी धन्यवाद प्रतिक्रियाको लागि । मैले धेरै नेपालीहरूको बानि मात्र लेख्नको लागि लेख्ने देखेको छु। धेरै नेपालीहरू कथा, लघुकथा, अादि लेख्छन तर अरूले लेखेको देखेर, कहिलेकाँहि इर्ष्या, कहिलेकाँहि लेख्ने हुटहुटीले डोर्याउँछ सायद।

    केही लेखकहरू यस्ता पनि छन जसले उम्दा लघुकथाहरू लेख्नुहुन्छ। नामै लिनुपर्दा राजन कार्कि, होमर श्रेष्ठ, नारायण तिवारी तथा डा. कपिल लामिछानेका लघुकथाहरू मलाइ मन पर्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *