Skip to content


मान्दछु
भौतिक रूपमा हामीबीच समानता होला
तर वैचारिकतामा हामी भिन्न छौं
तिमी क्षेत्रीयता हेर्छौ,
म राष्ट्रियता हेर्छु–
तिमी राष्ट्रियता हेर्छौ
म विश्व हेर्छु,
मान्दछु तिमीभित्र देशभक्ति छ
देशका लागि तिमी मर्न तयार छौ
तर म
म देशको त्यो सीमाभन्दा बाहिर छु
जसले मानवतालाई बन्दी बनाएको छ
यो नेपाल
यो भारत
यो चीन
यो………..
तिम्रो सीमाङ्कन होइन ?
तिमी र ममा यति नै भिन्नता हो,
तिमी भौगोलिक विभाजन गर्छौ
र म अविभाजित
तिमी विश्वलाई कित्ता कित्तामा हेर्छौ
तर म अखण्ड
विश्व मेरो देश हो
मेरो देश विश्व हो ।

तिम्रो धर्म के ?
मेरो धर्म के ?
हाम्रो धर्म के ?
तिमी आप्mनो धर्मलाई ठूलो मान्दछौ
तर म एउटै धर्म मान्दछु– मानवता ।
हो, मानवता मेरो धर्म हो
मानवता मेरो मर्म हो,
मान्दछु हाम्रो रीति–रिवाज, चाल–चलन पृथक होला
तर हाम्रो समानता
हामी मानव हौं
र हाम्रो धर्म मानवता
हाम्रो विचार पृथक छ
किनकि
तिमी एक विष्णु,
तिमी एक बुद्ध
तिमी एक मोहम्मद
तिमी एक जिसस क्राइष्ट पुज्दछौ
तर म सबैलाई एक मान्दछु
तिम्रो र मेरो पृथकता यही हो ।
तिमी वेद, पूराण, बाइबल अनि त्रिपिटक भिन्न मान्छौ
तर म ती सबै एक ठान्दछु
के विष्णु ? के बुद्ध ? के मोहम्मद ? के क्राइष्ट ?
सबै हुन् विश्वका मोती
के वेद ? के कुरान ? के बाइबल ? के त्रिपिटक ?
सबै हुन् ज्ञानका ज्योति ।

हमीबीचको भिन्नता यही हो
तिमी आफूलाई चार भित्तामा बाध्न खोज्छौ
तर म स्वतन्त्र आकाशमा हुन्छु ।
तिमी सीमित भूगोल हेर्छौ
विभाजित मानव हेर्छौ
तर म विश्व हेर्छु ।
अनि अविभाजित मानव देख्छु ।
तिमी वर्ण, जाति, राष्ट्र, भाषाको भित्ता कोर्छौ
तर म सगोल हेर्छु ।
तिम्रा लागि
तिमी तिम्रो भाषा, तिम्रो राष्ट्र, तिम्रो धर्म श्रेष्ठ छ
तर मेरा लागि मानवता सर्वश्रेष्ठ छ ।
तिम्रो र मेरो भिन्नता यही हो
तिमी विभाजित छौ
तर म अविभाजित छु ।

– भावना क्षितिज
महेन्द्रनगर

1 thought on “हामी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *