Skip to content


दिनभरीको भागदौड सकेर खाना खाइवरी बैठककोठामा पसेँ। कक्षा एकमा अध्ययन गर्ने छोरी नजिकै आएर बसी उसको हातमा एउटा पुस्तक थियो जसमा रोबोटको चित्र थियो।

“बाबा, यो चित्र के को हो?” बालसुलभ बोलीमा उसले मलाइ सोधी

“यो रोबोटको चित्र हो छोरी।” छोरीको जिज्ञासा मेटाउने प्रयत्न गरेँ।

“अनि बाबा यो त मान्छे जस्तै देखिन्छ त? टाउको हात खुट्टा सबै छ त?” फेरी प्रश्न आयो।

“हो छोरी यो मान्छे जस्तै देखिन्छ। मान्छे ले जस्तै कामहरू पनि गर्छ।” मैले पनि जवाफ फर्काएँ।

“अनि यसले के खान्छ त?” प्रश्नहरूको पोको फुक्यो।

“हामीले खाना खाए झैँ यसको ब्याट्री फेरी चार्ज गर्नुपर्छ।” सकेसम्म म पनि जवाफ दिइरहेँ।

“ए बुझेँ हाम्रो खाना भने जस्तै यसको ब्याट्री हुँदो रहेछ। हामी र रोबोट उस्तै उस्तै हैन बाबा?”

मैले अाफैँलाइ नियालेँ र छोरीलाइ भनेँ “फरक छ छोरी रोबोट ब्याट्री चार्ज हुनासाथ काम गर्न तयार हुन्छ तर हामीलाइ भने आराम गर्नुपर्छ।”

२०७१ जेष्ठ ९ गते शुक्रवार

First published on : 2014-05-24 03:27:42 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *