Skip to content


बेसार नुन तेल
सिदा सामल
किन्न गएको बजारमा
भिड भाड देखेर उभियो
माइक घंकदै थियो
भाषणहरु ठुलो स्वरमा
पालै पालो बज्दै थिए
इन्कलाव जिन्दावाद
जनताका अधिकारका आधारहरु
नाराहरु सुन्यो चाख लाग्यो
आँफु जनता हो भन्ने ग्यान थियो
हेक्का राख्थ्यो कतै परिवर्तनको
त्यो दिन आयो भने
यो बेसाहा लाई सजिलो हुन्छकी
त्यो अल्मलियो
ति मिठा मिठा क्रान्तिका बाणीहरुमा

भाग दौड मच्चियो
सबै भागे कुलेलम ठोके
लाठि हानाहान बन्दुक तानातान
गडयाम गुडुम आवाज आयो
उ ढल्यो
उसको जिउ भरि
बेसार नुन तेल पोखियो
छाम छुम गर्यो तातो बग्यो
भागा भाग तितर बितरमा
उ भुइमा लडेको लड़यै भो
उ फेरी उठेन
समाचार आयो
सत्ताले आतंककारी मरेको समाचार दियो
आन्दोलनले महान सहिद भन्यो
बिचरा त्यो मर्यो
अनाहकमै त्यो मर्यो

नत त्यो कुनै बिचारको बन्धक थियो
न त कुनै झण्डाको ओत थियो
त्यो सस्तो बेसाहाको खोजीमा
बजारमा भिड भित्र ठहरै भयो
नत उ नेता थियो
नत उ सत्ता थियो न उ
क्रान्तिको सिपाहीनै थियो

उ दुइ जोर आँखाहरुको
आशाको भविष्य थियो
एउटा फुल्दै गरेको कोपिलाको
त्यो माली थियो
पोहोर साल रातो सिउँदोमा
ल्याएकी मायालुको मायाँ थियो
उ आँधीमा पर्यो

केहि पछि खोइ कसैले सोधेन
राज्यले उसलाई खोजेन
आन्दोलनले त्यसलाई सोधेन
बिचारको शृंखलामा
उ ढल्यो उ त आँधीमा पर्यो

उ न कुनै पार्टीको थियो
न त उ कुनै जातिको थियो
उ जनता थियो
गरिव जनता थियो
समाचार आयो
आज सत्ताले एउटा आतंककारी मार्यो
बिचरा त्यो …….

घरमा बुढी आमाका आँशु सकिए
श्रीमती
त्यो रातो सिन्दूर पानीले पखालेर
सेतोमा बेरिएकि छन्
बाबुको आशाको
त्यो बंश विर्य को हरियाली
परम्परा त्यो बंशको
प्रारम्भ अगिनै भुइमा
रगताम्मे लथपथियो
त्यो मेटियो
निशब्द आँखाहरु टोलाई रहेछन
कतै आज बजार बाट छोरो फर्कन्छ भनेर

आज फेरी घरै अगाडिको बाटोमा
फेरी इन्कलाव गुञ्जियो
गड्यामम आवाज संगै
अर्को फेरी ढल्यो अरे
यसरी नै दिनहु
आँखाहरु सुक्ने गरि
गाउँ नै शुन्य भयो

परिवर्तन भयो
आज सत्ता चलाउने हरु
क्रान्ति गर्नेहरु
सुकिलो आँगनमा
एकै भएर सामल दाल साट्दै छन्
जुलुशमा हिड्नेहरु
रोजी रोटीको खोजीमा पर्देशिएका छन्
नत सत्ताले सोध्छ हिजो को मर्यो भनेर
नत क्रान्तिले खोज्छ
हिजो रगत कसको बग्यो भनेर !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *