त्रेतायुग अयोध्याका रघुबशीं राजा दशरथका जेष्ठ पुत्र मर्यादापुरूषोत्तम श्रीरामको जन्म चैत्र शुल्कपक्ष नवमीमा, पुनर्वसु नक्षत्र कर्कट लग्न, सूर्य मेष राशि रहेको बेला मध्यान्ह बाह्र बजे रानी कौसल्याको कोखबाट भएको थियो। भगवान श्रीबिष्णुको अबतारको रूपमा पृथ्वीमा अवतरण भएको मानिएका राजा श्रीरामबाट अन्याय अत्याचारको पराकाष्ट नाघिरहेको लंकाका राजा मानिने राक्षसी प्रवृतिको रावणलाई वध गरी धर्म, शान्ति र सु-शासनको पाठ समस्त पृथ्वी मानव जातिलाई दिएका थिए। यसर्थ युगौंदेखि श्रीरामको जन्म जयन्ती सारा हिन्दूधर्मावलम्वी लगायत ॐकार परिवार अन्तरगत सबैले मनाउदै आइरहेका छौ। मर्यादा पुरूषको रूपमा परिचित श्रीरामको शासनकाल न्याय, शान्ति, सम्बृद्दि र मानव विकासको पराकाष्ट उपमा रामराज्यको रूपमा लिने गरिन्छ।
रामनवमीको दिन हिन्दूहरूको आराध्यदेव श्रीरामचन्द्रको जन्म दिन नेपाल, भारत, बंगलादेश, बर्मा लगायका हिन्दूहरू रहेको ठाउँमा बढो धुमधामले मनाउने गरिन्छ। भारतको अयोध्या नगरीमा श्रर्द्धालु भक्तजन भेला भई विशेष रूपले बिधीविधान अनुसार सरयु नदीको तटमा प्रातःकालबाट स्नान गरी राम मन्दिरको दर्शन गरी पूजा मनाउने चलन रहेको छ। भारतीय भूगोलमा नवौ दशौ शताब्दीपछि एसियामा मध्यपूर्वबाट आगो झैं फैलिएको मुसलमान धर्म संस्कृतिले तत्कालीन अयोध्या मन्दिरलाई भत्काइ बाबरी मज्जिद बनाएको थियो। यसै बहानामा भारतमा हिन्दू मुस्लिमको सामाजिक दन्द चर्केको थियो। यसको प्रभाव नेपालसम्म पुगेको थियो। त्यस समयमा केही मुस्लिम उग्र ग्रुपले पुरानो पशुपतीनाथको मन्दिरलाई भत्काउने चेष्टा गरेका थिए। पछि बृषव भानुदेवले पुनर्निमार्ण गरी तामाको छाना हाल्न लगाएको सुन्नमा पाइन्छ।
श्रीरामपुजाको ब्रतकथा प्रसङ्ग बनबास समयको अबधीमा घटेको घटना लिएर बनाइएको छ। एक सुत कात्ने बृद महिला र मोताको मालाको साथै लोभी राजाको बारेमा बताइएको छ। गरिबीबाट उन्मुक्तिको लागि बृद महिलालाई श्रीरामद्वारा प्रदान गरिएको मोतीको बृक्ष लोभी राजाले आफ्नो दरबारमा लगी सार्दछन। लोभी राजालाई श्रीरामको करुणा रहेन र मोताको बृक्षमा मोती फलेन। मोती नफली वापस त्यस बृद महिलाकोमा फर्काउदा श्रीरामको करुणा र दयाले पुन मोती फलेको र बृद महिलाको उपकार भएको कथा राम नवमी ब्रत कथामा गरिएको छ। श्रीरामनवमीका व्रत गर्नेको ज्ञान, बुद्धि, श्रर्द्धा, भक्ती र पवित्रतामा बृद्धी हुने विश्वास गरिन्छ।
आजको यस पवित्र दिनको महान उपलक्ष्यमा समस्त इष्टमित्र, सगीसाथी र आफन्तमा श्रीरामको आशीर्वादको कामना गर्दछु, शुभदिन।
