Skip to content


ऊ प्रकृतिमा छैन
म आफै बहकिन पुगे
खै किन पुगे थाहा छैन
तर थाहा छ !
तिमीले छोडेर गएदेखि—
यसरी नै बहकिने गर्छु ।
बाहिर सिमसिमे पानी परेको,
जस्तामाथिको झरझर आवाजले
मन अतिनै भावुक बनाइदियो ।
थाहा छ ढुकढुकी ?
तिमी मेरो स्पन्दन थियौे
यो मुटुको स्पन्दनले, सधै तिम्रो याद दिलाउछ,
र दिलाइरहन्छ ।
मन भित्र सजाउन नपाउँदै,
मनको किनारबाट अलग्गिएर गयौ तिमी
कसैकी प्यारी बनेर टाढा—टाढा भयौ तिमी ।
सँगै घुमेका ती डाँँडा अनि भञ्ज्याङहरूमा
तिमीलाई खोजिरहन्छु,
तर !
तिमी बतास बनेर उडिदिन्छेउ
तिमीले दिएको स्पर्श मात्रै थाहा पाउछु
तर तिमीलाई देख्न पाउँदिन ।
सबै परिवर्तन भयो ढुकढुकि,
ऋतु बदलियो र त
वसन्त सकिएर वर्षा आयो,
खडेरी परेको ठाउ, हरियो भयो,
पात झरेको रुखमा, नयाँ पालुवा पलाए
तर ! मेरो मनमा चैत्रको खडेरीमाझै,
आगो दन्केको छ ।
निभाउँने कोही छैन ।
प्रकृतिलाई सोध्ने गर्छु,
रुखबिरुवालाई सोध्ने गर्छु,
तिमीसँग गएकि मेरी ढुकढुकि कहाँ छिन् ?
अहिले कस्ति छिन् ?
उनीहरूले सितलता दिँदै भन्छन्
“तिमी उसको याद मेटिदेऊ
भक्कानिएर रुन खोज्छु,
तर !
प्रकृतिले मसँगै आँशु चुहाउन थाल्छ
दुवै रुँदा रुखले आँशु पुछिदिन्छ ।
छोडेर गएका सबै साथी आए
तर ! तिमी आइनौँ हैँ
मेरो मनभित्र आगो सल्काएर,
कहाँ गयौ तिमी ?
फेरि प्रकृतिलाई सोध्छु कहाँ छिन उनी ?
उसले रुदै भन्छ “ऊ मसँग छैन”
ऊ प्रकृतिमा छैन ।
हो ऊ प्रकृतिमा छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *