Skip to content


´हेर हेर यो नकचरी, बावुआमा पनि कस्ता होलान्!´धेरै मान्छेबीचमा एउटी महिला कड्‍किन् ´बेलैमा बिहा नगरी बढेकी छोरी घरमै पालेर राखेपछि यस्तै हुन्छ।´ बाटो हिडिरहेकी मलाई पनि त्यस भीडले तान्यो। ´त्यही त, यसले त हामी सबैको नाकै काटी नि ´–हेर्दा भद्र देखिने एक महिलाले थपिन्। ´यसलाई गाउँ निकाला गर्नुपर्छ ´– सबै महिलाले एकै स्वरमा कोहोलो मच्चाए। यत्तिकैमा एक जना पुरुष बोले – एकछिन त पर्खिनुस्! यसमा यी नानीको मात्र हैन त्यो फटाहाको पनि त दोष छ´। त्यसपछि घटनाको वास्तविकता बुझ्न उत्सुक भएर नजिकै उभिएकी एकजना दिदीलाई सोधेँ – दिदी यहाँ के भएको? उनले भनिन् ´हेर्नु न नानी उभिरहेकी केटी छ नी! हो, त्यसले हाम्रो गाउँमा पढाउन आएको मास्टरसँग लसपस गरिछ। ऊ सरुवा भएर अहिले तराईतिर गयो। यो चाहिं त्यही मास्टरको बच्चा पेटमा लिएर बसेकी छ। लाज पचेकी नकचरी…।´ उनी भन्दै गइन्।
एकछिन बसेर सुनेँ। महिलाहरू ´प्रेममा धोका पाएर´ बसेकी बिचरी ती युवतीलाई गाली गर्दै हल्ला मच्चाइरहेका थिए। पुरुषहरू चाहिं उनको इज्जत गर्दै समाधान खोज्दै थिए। यो अवस्था देखेर गाउँका महिलाप्रति दया लागेर आयो। महिलाको त्यो हालत एउटा पुरुषले बनाएको छ, त्यो पुरुषको गल्ती बारे तिनीहरू मौन छन्। तर जो प्रेमको बदला धोका पाएर बसेको छ, जसको अधिकार खोसिएको छ, एउटा क्रुर पुरुषको कारण जसले आफ्नो अस्मिता गमाउनुपरेको छ, उसैलाई नानाथरी अपशब्द बोल्दै महिलाहरू व्यर्थको हल्ला गर्दै चिच्याइरहेका छन्।
यो सब अशिक्षाको कारण भएको हो भन्ने प्रष्ट देखिन्थ्यो। यही अशिक्षाको कारणले त पुरुषहरूले समाजमा आफ्नो एकाधिकार जमाउन सफल भइरहेका छन्। हामी महिलाहरु ´अधिकार अधिकार´ भनेर कराउछौँ तर आफ्नो भएको अधिकार पनि सदुपयोग गर्दैनौँ।
सोचेँ – पुरुषहरु ´ज्ञानी र शिक्षित´ हुन्छन् ,´गल्ती नै गर्दैनन्´ भन्ने भ्रम हामीमा भएकैले हामी पुरुषपीडित भएका हौं। महिलामाथि भएको अत्याचारमा कसरी महिलालाई मात्रै दोषी देखेका? किन यी अबलामाथि यस्तो व्यवहार? यसमा दोष महिलाको मात्र छ र? उनको पेटमा बच्चा छ, के उनको मात्र गल्तीले भएको हो र? यहाँका पुरुष शिक्षित र भलाद्‍मी त देखिन्छन् तर पनि किन सही न्याय दिन हिच्किचाएका? एउटी महिलाको जीवन बर्वाद पारेर भाग्ने त्यो ´पापी पुरुष´ विरुद्ध किन कोही बोल्दैनन्? किन भन्न सक्दैनन् त्यो पुरुष दोषी हो भनेर? किन लुकाउन खोजिँदै छ सत्यलाई? ´साँचो प्रेम गरेकी´ यिनलाई प्रेमको नाममा सर्वस्व लुट्ने अधिकार त्यस पुरुषलाई कसले दियो? अझै सोचेँ – तर महिलाहरू आफैं तल पर्न चाहन्छन् भने पनि किन माथि उठ्न दिइन्छ र? मान्छेको जात न हो सबै स्वार्थी।´ ए! ढिला भयो जाऊँ´ –कुसुमले भन्दा पो झसंग भएँ। घर(ओखलढुङ्गा ) बाट काठमाडौं फर्कदा बीच बाटोमा झन्डै आधा घन्टा उभिएछु। साझसम्म कटारी नपुगे काठमाडौँको गाडी छुट्ने डरले मनको उत्सुकता मारेर बाटो तताएँ।
महिलावादी राजनितिकर्मीहरू राजधानीका तारे होटलमा महिला अधिकारको आवाज त उठाउछन्, ३३ प्रतिशत हैन ५० प्रतिशत अधिकारको कागज पनि गराउँछन् तर वास्तविकता कहिल्यै पनि बुझ्दैनन्। आफ्नो अधिकारलाई त सरंक्षण गर्न नसक्ने महिलाले लडेर अधिकार कसरी लिन सक्छन् होला? महिलामा शिक्षाको विकास हुने हो भने अधिकार दिइरहन पर्दैन भन्ने सबैले बुझ्न जरुरी छ। अशिक्षित महिलाको भीडमा शिक्षित महिला पनि अशिक्षित भएर बस्नुपर्ने बाध्यताले पुरुषको अगाडि महिला झुक्नुपर्ने भएको हो। अशिक्षित महिलालाई ३३ प्रतिशत अधिकारको खोक्रो भाषण सुनाउने हैन आफ्नो शतप्रतिशत अधिकार जोगाउन सक्षम बनाउनुपर्छ भन्ने कुर्सीमा बस्ने महिलावादी राजनितिज्ञले बुझ्न जरुरी छ। महिलालाई ३३ प्रतिशत अधिकार दिने कुरा सुन्दा हाँसो लाग्छ। महिलालाई अधिकार कसले दिन्छ? पुरुषले? महिलालाई अधिकार दिने पुरुष पनि महिला झै इश्वर कै बरदान त हो नि। पुरुष महिलालाई अधिकार दिने अनि हामी महिलाचाहिँ उसले दिएको अधिकार थापेर बस्ने! के हामी त्यति कमजोर छौ? समय उल्टिएर ३३ प्रतिशत अधिकार पुरुषलाई महिलाले दिने भनेर आयो भने के पुरुष अधिकार थापेर बस्छन् होला? अवश्य बस्दैनन्। हामी महिला चैं किन थापेर बस्छौँ? किन हामी यति निर्धो छौँ? किन हामी समानताको नारा लिएर उठ्न सक्दैनौँ? किन हामी पुरुषको पैतालामुनि सासलाई रोकेर बस्छौँ, किन उसको इसारामा चल्छौँ? एउटा कारण अशिक्षा हो भने गाँठी कारणचाहिं समाज र घरपरिवारको महिलालाई हेर्ने दृष्टि पनि हो। अनि हामी आफै पनि यसको अर्को कारण हौँ।
राष्ट्रको मूल कानुन बनाउने पुरुष नै बढी भएर हरेक न्याय पुरुषको पक्षमा हन्छ। यसको पछाडि राजनीतिमा महिलाको सहभागिता कम हुनु हो। अनि राजनीतिमा महिलाको सहभागिता कम हुनुको पछाडि राजनीतिक संरचना र परम्परावादी पुरुष प्रधान संरचनाको दोष हो। मेरी काकाकी छोरी बहिनी प्रितिका अहिले एघार कक्षामा पढ्दै छे। उसको ´ठूलो ´ इच्छा छ – सफल राजनितिज्ञ बनेर महिलाको सेवा गर्ने। ऊ सधै भन्छे – म पछि प्रधानमन्त्री हुन्छु र सबै महिलालाई पुरुषभन्दा माथि पार्छु।´ उसको यो लक्ष्यलाई सबैले हाँसोमा उडाउँछन्। उसको यो सपना पूरा गर्न उसलाई प्रेरणा कसैले दिदैनन्। परिवार समाजदेखि डराउँछ ´महिलाले राजनिति गर्दा इज्जत जान्छ , महिला बोले पोथी बासेको हन्छ ´–समाज यस्तै यस्तै बोल्छ। यस्तै प्रितिका जस्ता कैयौ महिला आफ्नो भावनाको कदर र सघंर्षलाई साथ चाहन्छन् तर राजनीति गर्न महिलालाई महिलाले नै साथ दिदैनन्। यही भएर त महिलाको राजनीतिमा ३३ प्रतिशत सहभागिता नारामै सीमित छ नि। अनि समाज पुरुषप्रधान नबनेर के बन्छ त?

2 thoughts on “लाज पचेकी नकचरी….”

  1. हो कारीश्मा जि हो !
    हजुरको

    हो कारीश्मा जि हो !
    हजुरको कथा पढ्दा मलाई भित्रै देखी के गरु के गरु भयो, हजुर ले मलाई गहिराइ सम्म पुर्याउनु भयो । सलाम छ हजुर लाई । भविश्य म पनि यस्तै स्वाद पाउने आशा गर्दछु ।

    पुकार तिमल्सिना
    काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *