मत नोकर हुँ, मेरा प्रिय बालसखा तिमी मेरा साना मालिक
ढुङ्गा त दुवै ढुङ्गा हौँ, म बगरको तिमी पुज्य सालिक
जन्मजात विपुल सम्पत्तिक धनी हौ तिमी म कङ्गाल
केवल दश नङ्ग्र मेरा सम्पत्ती खिइँदैछन हरेक साल
तिमी युगका सारथी हौ साथी भविष्यका कर्णाधार
म त बालश्रमिक हुँ साथी, उज्यालो युगको अन्धकार ।
मेरा औँलाहरू साबुनको फिँजसँगै जुठो गिलास भित्र नाच्न व्यस्त हुँदा
तिम्रा औँलाहरू कम्प्युटरको किबोर्डमा अभ्यस्त हुन्छन्
तिमी अध्ययन गर्छौ साथी म श्रम
तिमी यथार्थ साथी म भ्रम
तिमीलाई संस्कारले पत्याएको छ साथी मलाई समाजले लत्याएको छ
त्यसैले तिमी फूलको सुवास हौ साथी म जिउँदो लास
युगको उपहास, उन्नती र प्रगतिको अपवाद
मरो वर्तमान अस्तव्यस्त छ, बाग्मतीको किनार जस्तै
फोहोरको डङ्गुर अनि मलमुत्रले मैलिएको घुर्मैलो बगर तर
तिमी धनाढ्य छौ तिम्रो वर्तमान अनी भविष्य उज्ज्वल छ, चम्किलो छ
तिम्रो घरको स्नानकक्षको सङ्गमरमर जस्तै टलक्क छ जहाँ
हरेक दिन म हार्पिक लगाएर ब्रसले घोटीरहन्छु
तिमी एउटा बालकको भविष्य निर्माणमा, म अर्को बालकको भविष्य अर्पण गरिरहेछु
आफ्नो झुपडी भत्काएर तिम्रो महलमा इट्टा थपिरहेको छु ।
बधाई छ बाल मित्र तिमीलाई तिम्रो उत्तरोत्तर प्रगतिको कामना
सामन्ती संस्कारले जरो गाडेको यो समाजले
हामी जस्ता दरिद्र बालकहरूको अधिकारको सुरक्षा गर्दैन
बाल अधिकारको पक्षमा
अनि बालश्रमको विरूद्ध हुने सभा सम्मेलन
अनी गोष्ठी तथा सेमीनारमा करोडौँ खर्च गरिन्छ
तर भोकाएको एउटा बालकले एकमुठ्ठी अन्न पाउँदैन
शरीर छोप्ने बस्त्र पाउँदैन अनि बस्ने बास पाउँदैन
तापनि
म त भाग्यमानी छु, मित्र
श्रम गरेरै भएपनि एकपेट खान पाएको छु
पुरानै भएपनि वस्त्र लगाएको छु
भऱ्याङमुनिनै भएपनि रात बिताउने आश्रयस्थल पाएको छु ।
– बिराज खनाल
– कक्षा १० युनिक एकाडेमी, रत्ननगर चितवन

यो कविता तपाइँकाे हो कि विजय
यो कविता तपाइँकाे हो कि विजय खनालको हो एकदेवजी ? केही सन्देह भयाे । कविताले निकै नै मर्ममा नै छोएको र वर्तमान समाजकाे उचनिच पक्ष र बालश्रमशाेषणकाे खुब सुन्दर चित्रण गरेको देखियाे ।
यो कविता बिराज खनाल भन्ने
यो कविता बिराज खनाल भन्ने कक्षा १० मा पढ्ने भाइले एक प्रतियोगितामा वाचन गरेको कविता हो। उक्त प्रतियोगितामा यही कविताका साथ उनी प्रथम भएका थिए।
बिराज भाइको कविता
साह्रै सुन्दर र मार्मिक लेख्ता रहेछन् बिराज भाइले । साँच्चै नै प्रथम हुन लायक रहेछ कविता ।