पद्यका कविता, गीत, गजलभन्दा गद्याख्यान विधाका कथा र उपन्यासको बोलवाला चलिरहेको वर्तमान साहित्यिक सन्दर्भमा पाठकीय माग बमोजिम नै लेखकहरू कथा सिर्जनामा आकृष्ट भइरहेछन् । कविता भन्नासाथ नाक खुम्च्याउने प्रकाशकहरू पनि कथाका किताबहरू भने टपक्कै टिपेर थपक्कै छापिरहेछन् । उपभोक्तावादी, व्यवसायिक दृष्टिले बजार भएरै लेखक र प्रकाशक कथातिर यसरी एकोहोरिएका होलान् ! नेपाली कथा प्रकाशनको क्रममा अर्को कथासङ्ग्रह थपिएको छ —सुलोचना । बेलवारी—४, मोरङका कथाशिल्पी केशु विरहीको ‘सुलोचना’ भित्र जम्मा १५ थान कथाहरू सङ्गृहित छन् ।
पहिलो कथा ‘शरणार्थी ’मा स्वपरिचय र देश लुटिएको भुटानी शरणार्थीको चोटिलो पीडा छ । दसैँमा आफ्नो घर जान लालायित अबोध छोराको जिज्ञासामूलक प्रश्नहरूले समस्यामा जेलिन विवश बाबुको मनोदशा साँच्चै हृदयबिदारक र कारुणिक लाग्छ । दोस्रो ‘प्रवास’ कथामा घरबारी बन्धकी राखेर ऋणमा टुप्पी डुबाउँदै वैदेशिक श्रमबजारमा कामविहीन भएका अलपत्रे युवकको कोक्याइलो विवशता छ । मेनपावरका दलालको ठगीमा परेर थुप्रै नेपाली युवाहरू विदेशमा विजोग भएका यस्ता दुर्घटनाहरू यथार्थको वृत्तभित्रकै कुरा हो । ‘द्वन्द्वको घाउ’ र ‘जनयुद्घ’ कथामा दशवर्षे द्वन्द्वका त्रासदी र कालजयी घाउहरू छन् । सरकारी फौज र विद्रोही दुवैतर्फको दोहोरो चेपुवा (मार)मा परेका जनजिन्दगीका स्थायी चोटहरू अजर र अमर भएर रहेका छन् । सरकार र विद्रोही दुवै पक्षबाट पत्रकारमाथिको तत्कालीन ज्यादतिको सग्लो शव्दचित्र हो कथा ‘अपहरण’ । ‘अन्तरद्वन्द्व’मा छोराको चाहनामा पतिले पत्नीलाई सौता हालेर एउटा शान्त र सुन्दर परिवार लथालिङ्ग र भताभुङ्ग भएको विरसिलो परिवेश छ भने ‘बंशीलालको चिया पसल’ फुर्सदिला गफाडीहरूको अखडा र मित्रताको चौतारीसमेत भएको औसत कुरा छ । चल्तीका सबै चिया पसलका विशेषता नै यस्तै हुन्छन् । परदेशिएका पतिका पत्नीहरू घरदेशमा बिग्रिरहेको वर्तमान अवस्थाका विपरित परदेशिएकी पत्नीका पति घरदेशमा पथभ्रष्ट भएपनि छोरीको मुख हेरेर पतिसित सम्झौता गर्न विवश नारीको कथा हो ‘सम्झौता’ । ‘दाइजो’, ‘दसैं हो कि दशा ’ र ‘बोक्सी’ विकृति र विसङ्गतिका विरुद्घ शङ्खघोष गरिएका कथाहरू हुन् । दाइजोले पतिसितको सम्बन्ध तोडिदिएको छ भने दसैंमा छोराछोरीका डिमाण्डले बाबुलाई उठ्नै नसक्नेगरी थला पारेको दुरवस्था छ । तथाकथित बोक्सीका नाममा महिलाहिंसा भएर समाज भ्रष्ट भइरहेको कहालीलाग्दो अवस्था अँझै पनि कायमै छ । अन्धविश्वास र कुसंस्कारका विरुद्घमा कथाकारले सकारात्मक दृष्टिकोणका माध्यमबाट यस्ता कुरीतिहरूको दोहोलो काढ्ने काम गरेका छन् ।
शहीदका सपनाहरू कुल्चने र उनीहरूको बाटोलाई बहिष्कार गर्ने मात्र होइन शहीद परिवारको कुनै वास्ता नगर्नेहरूको भव्य शहीद दिवस गोहीको आँसु जस्तो, मात्र ओठेभक्ति भएको कुरा पुष्टि हुन्छ ‘शहीद दिवस’ कथामा । ‘जनआन्दोलन’ कथामा हिजोकै सामन्ती, फटाहा र प्रतिगामी तत्वहरूलाई सभामा अतिथि बनाउँदै सम्मान गरिरहेको तीतो यथार्थ छ । जुन हाम्रो संस्कारजन्य प्रवृत्तिभित्रै परिरहेको कुरा हो । ‘परिचय’मा आफ्नै विधवा बुहारीको विवाह(दोस्रो) गरिदिने क्रान्तिकारी ससुराको साहसिलो कदम छ । जुन कार्यलाई समाजले तत्काल नपचाए पनि बिस्तारै स्वीकार हुँदै जान्छ । सङ्ग्रहकै नाम बोकेको ‘सुलोचना’ कथामा छोरा नपाउँदा सुखद प्रेमविवाह पनि नारी—आत्महत्याको संघारमा पुगेको मनोवैज्ञानिक दबाब छ । पितृसतात्मक संकीर्ण सोचको उपजमा सम्भावित दुर्घटनाको आकलन गरिएको छ यो कथामा ।
अत : ‘सुलोचना ’ भित्रका केशु विरहीका कथाहरू क्रान्तिकारी र वैज्ञानिक चेतले ओतप्रोत छन् । अधिक कथाहरूमा सामाजिक रुपान्तरणको रापिलो रन्को पाइन्छ । सामाजिक विकृति, विसङ्गति, अन्धपरम्परा र रूढीवादप्रति पेचिलो प्रहार छ । बाल मनोविज्ञानलाई केन्द्रविन्दु बनाएर मनोवैज्ञानिक कथाहरू बुनिएका छन् । सामयिक स्वरहरू बुलन्द भएर कथाहरू सम्प्रेष्य र प्रभावकारी लाग्छन् । ‘सम्झौता’ जस्ता केही कथाहरूमा विरहीले नवीन प्रयोगको प्रयास पनि गरेका छन् । पीडित र निरीह पात्रको पक्षमा वकालत गर्ने यी कथाहरू जीवन र समाजप्रति सकारात्मक सोच राख्दै अग्रगामी पथमा लम्किएर चम्किएका छन् । प्रगतिवादी चिन्तनले आलोकित कथाहरू ५ पृष्ठदेखि १७ पृष्ठसम्मकोआयाममा फैलिएका छन् । कथाकार चिन्तनको गहिराइमा पुग्न नसक्नु र पाठकलाई कौतुहल उत्सुक मानसिकतामा ढाल्न नसक्नु कथाका दुर्बल पक्ष हुन् । व्याख्यात्मक पाराको निबन्धात्मक शैलीले कथाहरू परिस्कृत र बान्किला हुनबाट बञ्चित छन् । कथानक र भावको पुनरावृत्तिको दोष लाग्ने सम्भावना पनि यथेष्ठ देखिन्छ । लेखकको पहिलो कथासङ्ग्रह भएकाले आधुनिक समकालीन कथाहरूको अध्ययन, मनन, चिन्तन र निरन्तर साधनाले कथाकार खारिन, माझिन र टल्किन सक्ने सम्भावना बलियो छ । नेपाली कथा—साहित्यमा ‘सुलोचना ’ मार्फत् केशु विरहीको यो उपस्थितिलाई पाठकहरूले स्वीकार गर्ने आशा गर्न सकिन्छ ।
कृति : सुलोचना (कथासङ्ग्रह )
कथाकार : केशु विरही
प्रकाशक : शब्दहार क्रियशन्स, भक्तपुर
प्रकाशन : २०७१, असार
पृष्ठसङ्ख्या : १६६+८
मूल्य : रू.२००।—
रामविक्रम थापा
केशु बिरहीका रचनाहरू (मझेरीमा): https://www.majheri.com/taxonomy_vtn/term/1964
