वार्ता वार्ता भन्दै
वार्ता गरिरहेछन्
वार्ताका लागि पनि वार्तै गरिरहेछन्
उफ ! आफ्ना लागि बोलीहरू
अर्काका लागि गोलीहरू
संक्रमण चियाएर
उदात्त नबन तिमी
दिशाहीनता डुक्रेर
प्रफुल्ल नहाँस तिमी
यो स्वतन्त्रता सत्ते !
तासमा पाएको
फोसाको जितौरीजस्तो पो भएकोछ
अर्काको जीतमा दाँत ङिच्याउँदै
हाँस्नुपर्ने हामी हँसारूहरू
हारमा रोइ लागेर
रूनै पर्ने हामी रोइलाहरू,
स्वतन्त्रताको
बैना भयो
दुमु नराखी
आस्था किनबेच गर्यौ नि
बल्ल थाहा’पायौ
कसैले उज्यालाको परिभाषा
भलिभाँती किर्ते गरेछ
र आफ्ना नाममा
नामसारी पो गरेछ ।
टीकाथली –४, ललितपुर ।
हालः मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, रामेछाप ।
