Skip to content

ध्रुबे, मेरो मनको ध्रुबतारा

बाक्लो चस्मा, गन्न मिल्ला जस्तो छिट्फूट दारी । गम्भिर, अझ भनौ चीर सोचमा हराएको मान्छे। आकस्मात हिजो मध्य रातमा टुप्लुक्क उदायो किरात बनौटको हट्टा-कट्टा आकृती, मेरो बाल सखा !
हामी सँगै खेलेर हुर्कियौ । एउटै थालमा खाना समेत खाएको सम्झना ताजै छ । बाहुनको बच्चा हुनुको कारण भान्छामा बर्जित या घरमा नपाक्ने तर मेरो प्रिय पक्वान, कोदोको कालो ढिँडो र कुखुराको मासु सँगै खाएको सम्झना ताजा भएर आयो मेरो मनसपटलमा । ऊ मेरो औधी नजिकको बालसखा हुनुको कारण भौगोलिक रुपले साँध जोडीएको घर, टोले केटाहरुमा धाक रवाफ जमाउन उपयोगी, बलिस्ठ बाहु भएको मेरो रक्षा कवच । अझै तेस माथि समाज-परिवारको मान्यता-बाहुनको बच्चा हुनुले जन्मजात पढाईमा अब्बल हुनुपर्ने मनसिकता बिपरित ऊ अब्बल थियो ! हामी सँगै परिक्षाको तयारी गर्दा दुबैको अंक उत्तम आउथ्यो । अलग-अलग तयारी गर्दा दुबैको खत्तम ! यसैले पनि हामीमा सकारात्मक प्रतिस्पर्धा थियो । त्यही मेरो बाल सखा आज गम्भीर छ मेरो सामुन्ने ! कता हराए खै उसका चनचलता, ओठको हाँसो र ठट्टेउलो मिजास ? बिहान सक्खारै देखी मेरो अद्ययन कक्षमा शोक मौनता साँधेर हराइरहेको छ, सेता कागजको पानाहरुमा थरी थरीका अक्षर भएर ।

पूर्खेउली सम्पती यथेस्ट नभए पनि हात मुख जोर्न धौधौ भने थिएन उसको परिवारमा ! म पनि धनाध्य परिवारको त कहाँ हो र । तर पूर्खेउली खरदार डिट्ठाको शानले हाम्रो परिवारको नाम अदबले हो कि श्रद्धाले हो, आदर साथ लिइन्थ्यो । शायद त्यसैले पनि हामीलाई नजिक पारीरहेको थियो समय-परिस्थितीले । उस्को बिद्रोही स्वभाब, काममा उत्रीहाल्ने कृयाशिलताले हाम्रो टोलीलाई टोल वरीपरीको आदर्श केटाकेटी मानिन्थ्यो । गाउँ टोल्मा बिह-ब्रतबन्धमा हात सघाउने देखी प्रौढ शिक्षा अथवा भित्ते पत्रीका सन्चालन सम्ममा हाम्रो टोलीको सकृयता रहन्थ्यो । यथार्थमा नायक ऊ थियो – ध्रुबे । तर बिडम्बना हाम्रो जात र कुलको बर्गीय काँचुली ओढेकोले कथित माथिल्लो बर्ग खुशीपार्न ध्रुबको नायकत्वलाई गाउँलेहरुले म तिर सारेर बखान गर्थे । मेरो पनि के नै जान्थ्यो र, आडम्बरमा मख्खै पर्थेँ ।
गाउँमा पनि परिवर्तन बढ्दै थियो । शहरको इन्कलाब- मध्य काठमान्डौ बाट उत्तर पुर्बी काँठ, तारेभीरको काखैतिर रमाएको मेरो गाउँमा पनि बेला-बेला पश्ने गर्थ्यो आँधिको झोक्का जस्तै ! तेस माथि हामी त अगुवा किशोर अनी मेरो पनि मन्ले मानेको नायक ध्रुब । उस्ले घरअबाटै शुरु गर्यो चेतनाको मशिहा । रैतीका थान्कोमा बस्न रमाउने आफ्नै पिताको तनमा चेतनाको कोइला ठोस्दै गयो । लादिँदै थिचिँदै आएको बुढो बाबु जोतिनैमा आफ्नो कर्म देख्थ्यो, उस्का आफ्नै हलगोरु जस्तै !

मेरा लागि यी सबै रमाइलाका लागि थिए, कर्ता म थिइनँ । ध्रुबमा त समाज परिवर्तनको भूतनै सबार थियो । अब भने बिस्तारै अफ्ठ्यारो महसुस गर्न थालेँ मैले । ध्रुबको उपलब्धीलाई हत्याउने लालच पनि म मा थिएन नत आफ्नै ठुलोबाउ पर्ने अग्रजका बिरोधमा बर्गिय समानताका लागि बिद्रोह गर्ने हिम्मत ! मेरो कायरताले मलाई त्यहीँ पहाडको फेदीमा अड्कायो । तर मेरो मनको ध्रुब तारा एकाएक हरायो मेरो समिप बाट । शायद म सँग पनि निक्कै चित्त दुखाएछ र त मुग्लान पस्नु अगाडि कुनै सल्लाह सम्बादको आवश्यकता देखेन उस्ले म सँग ।

समयको प्रबाह गतिशिल छ । सधैं बिरामी र कम्जोरीले गाल्ने पिलन्धरे बाहुनको बच्चो भनिएको म भन्दा पनि अहिले मेरो आँखा अगाडि शोकमग्न निश्चल जीब, म भन्दा पनि पिलनधर लाग्यो मलाई । बिल्कुल निरोगी , आजतक औषधीको नाममा सिटामोल पनि नखाएको – औशधी बिज्ञानको लागि चुनौती लाग्ने उसको शरीर किन यत्ती निश्तेज छ ? बेचैन छ ?? म आँफैँ बिरामीको अनुभव गर्न थाल्छु उसको बर्तमानमा । उसको ध्यानलाई नबिच्क्याउनेगरी सक्दो सतर्कतासँग नजिकै गएर उभिएँ । मेरो अध्ययन कक्षको आँखिझ्यालबाट एक टक क्षितिज पारी गाडीएक थिए उसका चिम्सा अनी कान्ती हराएका आँखाहरु । उद्देश्य बिहिन, कामना बिहिन !

उसको अवस्था प्रति दया लाग्यो अनी उसको बिगत बारे त्यतीकै कौतुहलता पनि । मेरो नजरबाट हराएको अनि गाउँबाट हराएको ध्रुबतारा बिलय भएको त थिएन निराकारमा । कतातिरको सफर निस्क्यो उ ? ऊ भित्रको नायकत्वले कति चम्कायो मेरो बालसखा ध्रुबेलाई ? लेख्दै पन्छाउँदै गरेका कागजका पानाहरु बिस्तारै केलाएर उठाएँ । ऊ त्यहीँ छ तर मन कता उडेकोहो कुन्नी मेरो कृयामा कुनै प्रतिकृया छैन उसको । मानौ, ऊ ध्यानमा हराएको शाक्य मुनी बनिसकेकोछ ।
कतै राम्रा अक्षर, कतै आक्रोश पोखिएर कलमको निप भाशिएको प्वाल, कतै दुई लाइन मै भरिएका पन्ना त कतै बान्की परेका अक्षर र बान्की मिलेका लाइनबाट खचाखच बर्णन । वास्तवमा यो उसको सम्पूर्ण बिगत दर्शाउन पर्याप्त मनोबिज्ञानले भरिएको उत्कृष्ट पाण्डुलिपी थियो मेरो हातमा । देब्कोटाले पाएका भए मदनको नायकत्वमा सशक्त बनाएर उभ्याउँथे होला ध्रुबलाई ।

” यो पत्रले तिमीलाई आस्चर्य जनक तथ्यहरुमा घिसार्ने छ । समबेदनाका घाऊहरुले चहर्याउने छन । सफलताका पाटामा थोरै पनि सन्तुलन गुमाउँदाको पारीणामले ल्याएर पछार्ने चट्टानी बज्रपातको तड्पन महसुश हुनेछ । ती जे-जती छन, अनबिज्ञ छौ जस्तो त लाग्दैन, साक्षी छौ तिमी प्रत्तेक प्रहरको । तर पनि आज मेरो मनलाई चङ्गा छिनेको धागो जस्तो स्वच्छन्द बिछ्याउन चाहन्छु सेता कागजमा दस्ताबेज बनाएर ।…..”

ध्रुबको “तिमी” को थिइन, मलाई थाहा छैन । तर उसको पत्रको लेखनको श्री गणेश तिनै पात्रको सम्बोधनबाट भएको थियो । बाल सखा ध्रुबको जोशिलो पनको त म मुक्त प्रशम्शक नै थिएँ । तर मेरा आँखा यहाँ टक्क अडिए : “…चङ्गा छिनेको धागो जस्तो स्वच्छन्द बिछ्याउन चाहन्छु..।” कति गलेछ त्यो जब्बर ध्रुबे । धागो चुँडेको चङ्गा जस्तै निर्बाध थियो उसको जीवन । तर ठीक बिपरितमा बर्बराउँदै छ- चङ्गा छिनेको धागो जस्तो आफ्नो मनलाई बेपर्बाह धर्तीमा बिच्छाइदिन चाहन्छ ऊ । मानसिक बेदनाबाट पनि पोखिँदै छ ऊ : बेपर्बाह लत्रेर खस्ने धागोको उद्देश्य बिहिन स्खलन तिर डोहोर्याएर आफूलाई ।

” औकात भूलेर महल रोज्ने म थिइन, बर्ग समानताको लागि बोलेर नथाक्ने सम्मोहक शैली थियो तिमीमा । अरुका आत्मा मारेर, रगत बगाएर क्रान्ती गर्ने परपिडक बहादुरी थिएन म मा । परिवार भित्रैबाट अत्याचारमा हुर्किएकी तिमी र तिम्रो भीषण क्रान्तिकारी बिचारका घुम्टोले मलाई पनि क्रुरता सिकायौ तिमीले । तारेभिरको ककारोमा हुर्केको म, छापामार शैलीको भूमिगत जीवन त खासै कठिन थिएन मलाई । शहरी घरानामा हुर्केकी, तिमीलाई सहरिया सुख सयलले दिएको फूल जस्तै कोमलता भित्रै पनि कसरी गुम्सिएकी थियौ तिमी । पहिलो पटक सुन्दा त मेरा पैँताला मुनिबाट जमिन भासिएर बेचैन परेको थिएँ म । शायद त्यसैले कडा भन्दा कडा निर्णय लिने क्षमताको बिकास बड्दै थियो तिमी भित्र । पुरुष समाजको प्रताडन, त्यो पनि परिवार भित्रैबाट रक्षाको बदलामा शैतानी व्यबहार ! कोमल मनलाई निमोठेर काठोरता हाबी हुँदै थियो तिमीमा । म भने तिम्रा बिचारमा झनझन पग्लिदै गएँ मैन जस्तै । ”
उस्का जीवन कथाका गेडी त बग्रेल्ती फैलँदै थिए, तर उस्को बर्तमानले टोकिरहेको थियो मेरो मन । देश बदल्न हिंड्ने लम्फू, एउटी नारीको समबेदनाले पराश्त बनेर फर्केको ? कल्पना जगत बाट फेरी चेतनामा वोर्लिएको मेरो मन भन्छ : हैन यती मात्रले त गल्ने होइन है ध्रुब । ” उस्का पिडामा ज ति गला अवरुद्ध थिए, तेस्पछिका घटनाक्रम बुझ्न अझैधेरै गुणा अधैर्य थिए मेरा मनहरु । छापामारका कला कौशलदेखी पार्टी स्कूल र अनुशासन सम्मले भरिएका थिए पन्नाहरु ।
मैले देखेको ध्रुब न त यस्तो दार्शनिक बिचारको धनी थियो न त यति गहिरो लेखनको ज्ञाता ।
जिन्दगी धेरै भोगेछ । चट्टान फूटेर खोलामा बग्ने ढुङ्गो, बगर पुग्दा सम्म कति आकर्शक आकारमा बदलिन्छ, उसको बिचारमा प्रस्ट थियो त्यो चमक । तर मुहारमा बिल्कूल बिपरित रेखा-भावहरु, उस्ले जिएका पलहरु , घटना – पारीघटनाहरुका यति सम्मोहक प्रस्तुती थिए, उस्ले महान क्रान्ति पनि गरेछ । प्रचुर सन्तुस्टिको मनमोहक पलहरु पनि भोगेछ तिनै नायिका सँग । भारतका सिमला र दार्जलिङका आनन्दका यात्रा बर्णन पनि उल्लेख थिए ।
उस्को ध्यान भँग भएर मेरा कौतुहलमा बाधा आउने डरले अझै रफ्तार बढाउँदै गएँ उस्का अक्षरहरुमा ।
निडर, नेत्रित्वदायी अनि मिलनशार स्वभावले निकै बादलाब ल्याएछ उस्को मतहत्को बाटलियन मा । हुन पनि साह्रै पवित्र उद्देश्यबाट प्रेरित थियो उस्को गन्तब्य । सानो डफ्फामा त नियन्त्रण राख्न सजिलो हुन्छ । तर अहिले त उस्को अभियान यति बिस्त्रित भईसकेको थियो कि सफा मुहानमा हिलो मिसाएर स्वार्थको बल्छी थाप्नेहरुको पनि बाक्लै भिड लागिसकेको थियो उसको अभियानमा । बार बार छिर्कीको सामना गर्दै सन्तुलन जोडेको रहेछ उस्ले। कदापी बिचलित रहेनछ ऊ । उस्को व्याख्यामा परीभासित सत्रुहरुसँग त ऊ काफी थियो प्रतिरक्षा गर्न । निमुखाका खातिर सँघर्शको नारा घोक्ने उस्कै “आफ्नाहरु” देखी बिरक्तिन थालेको रहेछ ऊ । समाजमा चेतना भर्ने उस्को जादुमयी व्यबहारको बिपरित बैन्क लुटेर आर्थिक अपचलन गर्ने, स्वछ्छन्दबादी सेतो डकैतीको खिलाफमा बोलेर आफ्नै शहकर्मीबाट खेदिएको रहेछ ऊ । बैयक्तिक इबी र इर्श्या पोख्नेहरुबाट पनि तारोमा परेछ ऊ । आफ्नी नायिकाबाट बारम्बार सुन्दै आएको नारी शोषणबाट आक्रोशित र खुम्चिएको ध्रुब, नारी अस्मितामा खेल्ने उसैका वरीपरीका दलालबाट पनि वाक्क दिक्क भईसकेको रहेछ । सक्ती सँगर्शका जुँगा लडाईँ फलस्वरुप उसैका नेता महासयहरु समेत उसका लागि खतरा बनेर उभीने भईसकेका रहेछन उस्का बिरुद्ध । “पक्षमा बोल्यो भने सबैका देउता, चित्त बुझेन, सबैको सफाया !”

यी सबै कुरा छपामारका जीवनमा सामान्य होलान । मेरो चाहीँ मनै कुँडिएर आयो । आक्रोश पोखिएर मुट्ठी कसिएछन समाएका कागज्का पनाहरुलाई कुच्याउँदै । थाहा छैन मेरा यी अर्थहिन आक्रोश कस् माथि लक्षित थिए ? त्यही निस्तेज ध्रुबेको भाग्य कोर्ने बिधाता प्रती कि जिन्दगीका प्रचूर सम्भावना छोडेर कसैको प्रगतीको सिँढी बनेको टिठ लाग्दो यो नियती रोज्ने ध्रुब प्रती ??
अथवा उस्का वरिपरी घेरा छोपेका समाज चुस्ने उडुस रुपी ढोङीहरु प्रती, जसले निमुखा मान्छेहरुलाई मानव ढालको रुपमा दुरुपायोग गर्दै अथाह आर्जन गर्नेहरुसँग ? या त उस्ले आफुलाई भन्दा धेरै विश्वाश गरेको घायल बगिनी जस्तै उस्की सङीनी सँग ???

कति कुरा त समाज रुपान्तरणको स्वप्निल मोह सँगै पचाएछ । कती कुरा आन्तरिक बिद्रोहमा पछार्दै र पछारिँदै आएछ । तर आज मोह भँग हुनुको कारण उस्कै आँखा अगाडि भएको एउटा बालहत्या रहेछ , जस्को ऊ अत्मग्लानी पीडित साक्षी रह्यो । हत्यारा थीइन उस्को क्रान्तीको आदर्श चरित्र अनि उसैकी नायिका ! क्रान्तिको पारीभाशामा त्यो फगत बलिदान थियो, तर ध्रुबको मनले माफि नगरेको हत्या थियो त्यो । त्यसैबाट बिक्षिप्त मन लिएर श्वास बोकेको निर्जिब प्राँडी बनेर फिर्तेको रहेछ ऊ ।

बाल्यकाल देखी नै चुल्बुले र तेज उस्की नायिकापात्रले आजै मात्र आफ्नो दोशिलाई सफाया दिन सफल भएकी रहिछन धेरै लामो प्रतिशोध साँचेर । दुर्भाग्य त्यो ब्यभिचारी पिताको एउटा निर्दोश बालख पनि निर्जीब भएर ढलेछ सफाया मिसन भित्र ! सबै तर्फबाट मोह भँग हुँदै अगाडि बढेको ध्रुब लाई यो हत्याले साह्रै पोलेछ, उठ्नै नक्सक्ने गरी थला पारेर । ” एउटी नारीको बदलाको भावनाले कोपिलामै ढल्यो होनहार एउटा भबिस्य । ” माफि गर्न सकेन आँफैलाई हत्याको सक्षी बसेर । यो नै सुरुवाती घटना थिएन नत अन्तिम घटना हुने लक्ष्यण थियो उस्को अभियानको बिधमान मोड हेर्दा । मात्र उस्ले अराजकताको पराकास्ठा देख्यो । निरन्तर अराजकताको कसी !!कदापी सुखी रहन सक्दैन अब ऊ ति नायिका सँग, त्यो समाज र उस्का वरीपरीका पात्रहरुबाट । सबै सुन्दर उपलब्धीहरु यसै गरी ढल्न थालेको महसुस गर्न थाल्यो, स्वार्थ उधत आक्रोश – इर्श्या र स्वछन्दता बाट । बार-बार धिक्कार्यो आँफैलाई, सबैलाई ।
“ढोङीहरुबाट हुन सक्दैन देशको कायापलट ! न त स्वार्थ उद्धत अन्धो आतंक बाट । ” ऊ पश्ताचाप मा जलेर हारेछ । विश्वाश मा घात परेर हारेछ। त्यो निर्दोश बालकको भूत बाट हारेछ । छापामारका बिसंगती बाट हारेछ । छल कपट्का शकुनीहरुबाट हारेछ । मेरो मन्को ध्रुब तारा पक्षघात ग्रस्त मन बोकेर अस्ताचल सूर्य जस्तै निस्तेज – निर्बल हारेछ ।
कठै ती ध्रुबहरुका सपना !! खै कहिले कस्ले र कसरी बदलने होला मेरो देश ?

अस्तु
२०१३ सेप्टेम्बर २९
टोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *