Skip to content

प्रतिक्षा नयाँ बिहानको


एउटा बिहान सुरुवात हुन्छ
पूर्व क्षितिजमा उदाएको घामसँगै
संगै सुरुहुन्छ
पट्यार लाग्दो दिन
र उल्झनहरूको चाङै चाङमा
थिचिएको मस्तिकमा
अकस्मात एउटा झडका लाग्छ
मानौ त्यो झडका कुनै हाईभोल्टको
बिधुतिय तरङ भन्दा कम छैन ।
उठने बित्तिकै शरिरका अन्य ज्ञानिन्द्रिय चल्दा नचल्दै
मस्तिकका हजारौ फिट लामा मस्तिक बाहिनीहरू चल्नथाल्छन
आज पनि पुग्नुछ कति कति मान्छे किन्ने उद्योगहरूमा ।
सखार आँखाहरू दौडिन्छन पत्रपत्रिकामा प्रकाशित बिज्ञापनहरूमा
मानौ आँखाको रफ्तार सयमाईल प्रति किलोमिटरको गतिमा दौडिरहेछन,
बस यसैगरि दौडिरहेछ जिन्दगि
एउटा उज्यालो दिनको खोजिमा ।
हो बर्षौदेखि आफूलाई अब्बल प्रमाणित गर्ने
कागजि खोस्टाहरू काखिमा च्याप्दै
फाटेको चप्पल,पुरानो खुम्चिएको सट र कता कति छिद्रापरे जस्तो पाईन्ट भिरि
एउटा सपना बोकेर
साहुले बन्धकीमा राखेको त्यो पाखोबारि
फीर्ता गर्ने सपना
आमाले लगाएको पुरानो धोतिफेर्ने अनि
बुवाको लागि एकजोर नयाँ दौरा सुरुवाल र टोपि फेर्ने आशमा
पाईलाहरू अघि बढछन मान्छे किन्ने उद्योगमा
देखाउछु आफ्ना किताबि ज्ञानका दसिहरू
तर हिजो आज उद्योगमा नयाँ मापदण्ड तयार भएको रहेछ
जहाँ जुन ठाँउमा पनि एकै कुरा सोधिन्छ
कसलाई चिन्छस,को छ तेरो ठुलो मान्छे,
पैशा कति दिन सक्छस अनि कुन पार्टिको हो
सदस्यता लिएको छ कि छैन
यस्तै यस्तै नयाँ नयाँ मापदण्ड
अनि रहर रहर बनिदिन्छ
सपना सपना बनि दिन्छ
जब घाम बिस्तारै पश्चिम क्षितिजबाट लुक्न लाग्छ
घर फर्कन्छु
बुबा आमाका आँखाहरूले मौन प्रश्न गरिरहेका हुन्छन
म क्लान्त गलित र थकित शरिर लिएर
कोठा भित्र प्रवेश गर्छु
आमा बुवाले मेरो मौनताबाट जवाफ पाईसक्नुभएको हुन्छ
म भने टोलाउदै पुन
नयाँ बिहानको प्रतिक्षामा हुन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *