Skip to content


दुर्गम जिल्लाको एउटा विकट गाउँ । यही विकट गाउँको अकर पहरो फोरेर बाटो खन्ने र मोटर गुडाउँने जनचाहना । वडा नागरिक मञ्च हुँदै गाउँ परिषद्बाट सडक निर्माणको योजना पारित् । इलाका स्तरीय योजना तर्जुमा गोष्ठीबाट पास भएर जिल्ला परिषद्बाट पनि पारित् । जिल्लाबाट मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगको रातो किताबभित्र उक्त सडक निर्माण योजना ।

केन्द्राभिमुख हुँदै प्रतीक्षारत गाउँले जनता । खसेन साँढेको फल यो वर्ष । आगामी आर्थिक वर्षमा बजेट आउँने माथिको आश्वासन । अर्को आर्थिक वर्षको पहिलो चौमासिक झरी र दसैँ—तिहारमै बित्यो । प्रतीक्षाको लठारोमा पिङ खेलिरहे गाउँलेहरू । दोस्रो चौमासिक पनि हिउँदे जाडोले खर्लप्पै खायो । झिनो आशाका गाउँलेहरूले तेस्रो चौमासिकमा उपभोक्ता समितिलाई जिल्ला सदरमुकाम पठाए । ‘बजेट आउँदैछ रे !’—आश्वासनको पोको लिएर गाउँ फक्र्यो उपभोक्ता समिति ।अब भने लगभग माया मार्ने अवस्थाका विवश गाउँलेहरू ।

तेस्रो चौमासिकको अन्तिम महिनाको मध्यान्हमा खबर आयो । असारको पन्ध्र गते उपभोक्ता समितिलाई जिल्ला सदरमुकाममा बोलाइयो । आधा रकमको चेक थमाउँदै आदेश दिइयो—‘ काम सकेर यही असार मसान्तभित्रमा सडक योजनाको फरफारक गराउँनु !’

हातमा चेक लिएर हाकिम र लेखापालतिर हेर्दै उपभोक्ता समितिका अध्यक्ष बोले —‘मात्र पन्ध्र दिनमा यत्रो काम सम्पन्न गरेर फरफारक गर्न कसरी सम्भव हुन्छ हजुर ?’

“जानुस् ! बिल, भर्पाइ र आवश्यक कागजातहरू मिलाएर ल्याउँनुस् । बाँकी काम सबै यहीँबाट फत्ते हुन्छ !”

रामविक्रम थापा
कृष्णगर्त, खोटाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *