असल मित्रहरूसँगको अनायास बिछोडले सधैँ नै पीडाको नमिठो चोट छाडेर जान्छ । यस्तै पीडाको अनुभव गराएको छ मित्रद्वय रूद्र खरेल र अग्नि शिखाको असामयिक तथा अप्रत्यासित बिछोडले। आस्था र प्रतिबद्धतामा सतिसालझैँ अडिग र सरल जीवन शैलीका प्रतीक लाग्ने यी दुई प्रगतिशील साहित्यकार-पत्रकार मित्रलाई छोटै समयमा एकपछि अर्को गुमाउनुपर्दा मजस्ता धेरैमा बिछोडको पीडाबोध हुनु स्वाभाविक थियो ।
प्रायः ढाड दुखेको गुनासो गर्नुहुने रूद्र खरेल सुरुमा त्यसैको उपचारार्थ अस्पताल भर्ना हुनुभयो । समयमै रोगको पहिचान नहुँदाको परिणामबाट मृत्युको मुखैसम्म पुग्नुपर्ने हाम्रो सनातन विडम्बनाले उहाँलाई पनि छाडेन । फलस्वरूप कहिले हाड र नसा, कहिले मेनिन्जाइटिस र अझ कहिले मेलोमाइनको आशङ्कामा चिकित्सकीय प्रयोगशालाको गिनिपिग बन्नुको बाध्यता दोहोरियो । यही बाध्यताले हामीबाट रूद्रजीलाई समयले यति चाँडै खोसिदियो । त्यही चिकित्सकीय परीक्षणमा लामो समय अस्पतालको शय्यामा अचेत अबस्थामा हेर्दै र्फकँदै गर्दै आएको म र मजस्तै धेरै मित्र-शुभचिन्तकहरू अन्तिम दिन निकै आशावादी थियौँ, उहाँलाई होस आएको देखेर तर के थाहा, लगभग सात घण्टा अगाडि पूर्ण होस र चेतनामा भेटेर, अस्पष्ट आवाजमैँ भए पनि केही कुराकानी गरी फर्केपछिको त्यो अवस्था मात्र निभ्ने बेलाको बत्ती रहेछ। अघिल्लो साँझ भेट्दा लागेको थियो- मृत्युसँगको लामो सङ्घर्षमा उहाँले विजय प्राप्त गर्नुभएको छ । पाइप छिराइएको स्वरनलीबाट प्रस्ट आवाज निकाल्न नसक्दा पनि उहाँ केही भन्न खोजिरहनुभएको थियो । आफू संलग्न संस्था, काम र सहकर्मीहरूका बारेमा जानकारी लिने तीव्र उत्कन्ठा देखिन्थ्यो त्यस अवस्थामा पनि। भाउजू (श्रीमती खरेल) र मैले धेरै नबोल्न अनुरोधै गर्नुपरेको थियो त्यति बेला, र उहाँको स्वास्थ्यलाभपछि ती सबै काम हामी सँगै बसेर पूरा गर्ने विश्वास प्रकट गर्दै फर्केको थिएँ म। तर के थाहा, त्यो त निभ्ने बेलाको बत्ती पो रहेछ । त्यसरी भेटेर फर्केको केही घण्टापछि नै उहाँलाई गुमाउनु परेको अपि्रय खबरको पीडा साँच्नै नै असहृय थियो मेरा लागि ।
त्यो असहृय पीडाको खाटो नबस्दै त्यस्तै अपि्रय र असहनीय अर्को खबर सुन्नुपर्यो- मित्र अग्नि शिखाको असामयिक निधनको Û केही दिन अघिमात्र एउटा कार्यक्रममा भेटिएका मित्र अग्निलाई त्यसरी अप्रत्याशित रूपमा गुमाउनु परेको पीडा झनै असहृय थियो । हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्यालको शालिक अनावरण कार्यक्रममा हेटौँडा पुगेको म बिहान साढे पाँच बजे नै कृष्ण राई र रामेश्वर फुयाँलजीबाट पाएको त्योे खबरले जीवनमा सबैभन्दा बढी मर्माहत बनेको थिएँ ।
यी दुवैभित्र आस्था र लेखकीय धर्मका मेरा निकट र पि्रय त थिए नै, कतिपय सन्दर्भमा प्रेरक तथा आडभरोस र मार्गदर्शकका र शुभचिन्तक पनि थिए । शुकदेव नेपालदेखि अग्नि शिखासम्मको यात्रामा अग्निजीसँग मेरो लामो परिचय रहृयो Û २०२९/३० सालतिर त्यतिबेलाका नेसनल कलेज -हालको शङ्करदेव क्याम्पस) हाम्रो परिचयको पहिलो साक्षी थियो । बाँच्ने बाध्यताको जागिरपछि हामी दुवै त्यहाँ रात्रि कक्षामा बीएका सहपाठी थियौँ । त्यही कलेजको वाषिर्क प्रकाशन जमराले हामी दुईकाबीच सहपाठीभन्दा दरिलो साहित्यिक सम्बन्धको रेखा कोरेको थियो । कलेज जीवनपछि केही वर्ष हराएका हामीलाई एउटै थलोमा उभ्याउने काम गर्यो जनमत सङ्ग्रह अगाडिको उत्साह साहित्यिक गोष्ठीले । यो सहयात्रालाई निकट बनाउनमा प्रेस चौतारीले थप सहयोग गर्यो । यो कालखण्डमा उहाँसँगको सहकार्य सहयोगपूर्ण, आत्मीय र समर्पण प्रेरित रहृयो र त्यो अविस्मरणीय कालखण्डका रूपमा मेरो मानसबिम्बमा सुरक्षित छ । उहाँकै साधिकार आग्रहका कारण उहाँका सम्पादन कालभरि नै नियमित स्तम्भकार रहेँ म सम्बोधन साप्ताहिक र एक्काइसौँ शताब्दीमा- विक्रान्तको नयाँ चोला भिरेर ।
अग्नि शिखासँग मेरो जति सहकार्य र सम्बन्ध रहृयो रूद्र सरसँग भने त्यति नै लामो रहन पाएन । उहाँसँगको निकटतम सहकार्यको अवसर रमेश विकल साहित्य प्रतिष्ठानले जुटायो । प्रतिष्ठान स्थापना हुनुअघि बारम्बार लौन विकल दाइको नाउँमा केही गरौँ उहाँ जीवित छँदै भनेर नथाक्ने धेरै साथीहरूले त्यसपछि कुनै चासो देखाउने समेत आवश्यकता ठान्नुभएन तर रूद्र सर सुरुदेखि अस्पतालको शय्यामा मृत्युसँग सङ्घर्ष गरिरहँदा समेत मन, वचन र कर्मले समेत समर्पित देखिनुभयो । यो अनुभव मेरा लागि अविस्मरणीय प्रेरक बन्ने छ ।
रूद्र खरेल र अग्नि शिखा दुवैलाई सधैँ नै सहयोगी, प्रेरक र आफ्नो विचार तथा सिद्धान्तलाई जीवनदर्शनमा ढाल्न अति नै प्रतिबद्ध पाउँदै आएको हुँ मैले । नेपाली कम्युनिस्ट आन्दोलनमा अलिकति अघि-पछिको संलग्नता रहेका यी दुई व्यक्तित्व जीवनपर्यन्त जनपक्षीय विचार र सिद्धान्तप्रति इमानदार र अटल आस्थावान् रहे । न कुनै विचलन देखियो विचारमा न त परिवर्तन देखियो सरल जीवन शैलीमा नै दुवैमा देखिएको अर्को समानता व्यवहारमा अत्यन्त सहयोगी, मिलनसार र स्पष्ट वक्ता हुनु पनि पर्ने हो सायद। अत्यन्त विनम्र तर विचारमा सतिसालझैँ अडिग, अवसरवादी र पाखण्डी चरित्रका खरो आलोचक मात्र होइन, जनमुक्तिका गायक जुनसुकै दलीय आस्था र सिद्धान्तका प्रति पनि समान आदरको भावना थियो दुवैमा।
दुवै संलग्न हुनुहुन्थ्यो, आ-आफ्ना विचार निकटका राजनीतिक दलहरूमा तर दुवैजना आफू संलग्न दलभित्र होस् वा बाहिर तिनमा विद्यमान गुटपरस्त अवसरवाद, बदलिँदो जीवन शैली र बुर्जुवावादी सोचप्रति सधैँ चिन्तित र प्रखर आलोचक हुनुहुन्थ्यो । पार्टी अनुशासनले जहाँपायो त्यहीँ त्यसको अभिव्यक्ति सम्भव थिएन सायद तर पनि हामीजस्ता साथीहरूका बीच उहाँहरू सधैँ त्यस्ता प्रवृत्तिले निम्त्याउन सक्ने दुर्घटनाप्रति अत्यन्त चिन्तित देखिनुहुन्थ्यो । प्रगतिवादी लेखन र पत्रकारिताका यी दुई व्यक्तित्व राजनीतिमा मात्र नभएर साहित्यमा पनि त्यस्तो गुटगत चर्चाको मोहमा कहिल्यै परेको देखिएन । विज्ञापनको बजार र गुटगत साहित्यिक पहिचानभन्दा अलग रहेर असल र वास्तविक पाठकको मायामा बाँच्नुमा गर्व गर्ने यी दुवै स्रष्टाको उचित मूल्याङ्कन वर्तमानले नगरे पनि भविष्यले त गर्ला नै। जीवनलाई “हतारोसँग हामफाल्ने छाँगो” ठान्ने खरेलले त आफ्नो परिभाषालाई जीवनकै यथार्थ बनाउनुभयो नै, अग्निले पनि किन त्यत्तिको हतारो गर्नुपरेको होला, कसलाई सोध्ने
