Skip to content


‘कुखुरी काँ ! कुखुरी काँ !!’ खोरबाट बाहिर मुण्टो निकाल्दै बासेको भाले फर्केर पोथीलाई भन्छ। ‘देखिस त बुढी यी सब मानिसहरूको काम मेरै कारणबाट त पुरा हुन्छ नि। यी निद्रामा मस्त मूर्खहरूलाई समयको महत्त्व के थाहा।’

‘अँ होला, तिमै कारणले त संसार चलेको होला नि? बिहान एक छिन सुत्न पनि नदिई कति फतर-फतर गरिराको,’ पोथीले झर्को मानी।

‘अनि के त? अझ सुन्छेस, घाम पनि म बासेपछि नै उदाउँछ नि,’ उसको फतर-फतर जारी रह्यो।

‘धेरै घमण्ड नगर मानिसहरूको आहारा बन्दा थाहा पाउलाऊ।’ पोथी सम्झाउन थाली।

‘साँच्चै बुढी मलाई त यी मानिसहरूदेखि त रिस उठेर आउँछ। हामीलाई सँधै रात पर्नासाथ खोरमा थुनेर राख्छन। खोर भित्रै पुरा जिन्दगी बित्ने भो हाम्रो त।’ उसले मनको तीतो पोख्यो।

‘सँधै गलत अर्थ मात्र नसोच न। यो हाम्रो सुरक्षाको लागि त हो नि। राती बिरालो, फ्याउरो, न्याउरीहरूको डर हुँदैन र। तिनीहरूबाट सुरक्षाको लागि त खोरमा राखेका हुन नि। दिनभर त खुल्लै अघिपछि पोथीहरू लगाएरै हिँडछौ। आफ्नो सुरक्षाको लागि यति पनि सहन सक्दैनौ त।’ पोथी गम्भिर भई।

‘यी मानिसहरूलाई आज राति मैले जान्या छु।’ यति भन्दै भालेले दृढ निश्चय गऱ्यो।

‘उल्टो-पाल्टो नसोच है मैले भन्देको छु। फेरी पछुताउनु पर्ला।’ पोथीले सचेत गरी।

त्यस राति भाले सुतेन ऊ मन मनै सोच्न थाल्यो। मैले बासे पछि मानिसहरू उठ्छन, काम गर्न थाल्छन, मैले बासेपछि घाम लाग्छ। घामलागे पछि उनीहरूले खोर खोलिदिन्छन। अनि म पनि त चाँडै फुक्का हुन्छु अनि यिनीहरूलाई काम बढी गर्नु पर्छ। यस्तो सोच्दै मध्यरातदेखि नै उ बास्न थाल्यो।

न मान्छे चाँडै उठे, न घाम चाँडै उदायो। धेरै बेर पछि जब पुर्बको लालिमा चढ्दै गयो मानिसहरूले भाले बहुलाएछ भन्दै गाइँगुँइ गरेको सुनियो र एउटा बलिष्ठ हात उसको गर्दन सम्म आइपुग्यो। केही घण्टामै मानिसहरूको कचौरामा भाग लाग्यो।

उता पोथी भन्दै थिई – ‘मैले त भन्दै थिएँ नि उल्टो पाल्टो नसोच भनेर। बिचरा! पछुताउने पनि समय पाएनन!’

२०७१ असार २२ सौराहाद्वार, रत्ननगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *