Skip to content


“तिमी पनि मलाई मायाँ गर्छौ र ?”

उनी चिढिन्थिन दुवैपट्टिका अोठ जोडेर चोसो पसार्थिन मलाई उनको यो रुपले नै मोहनी लगाउथ्यो सारै सुन्दर देखिन्थिन उनी यो पोजमा । त्यसैले म चिढ्याउन छोड्दैनथे ।

यो श्रावण महिनामा बास्ने झ्याउकिरीले हामीलाई डिष्टर्ब गर्दैनथ्यो । चिया बगानको अन्त्यतिर र चापेको घना जँगल सुरु हुनुपूर्वको खाली डाँडा हाम्रा क्याबिन थिए । दूर दराजबाट आउने चराहरूका आवाजमा माधुर्यता घोलिएर कान पवित्र हुन्थे ।

मानौ सँसारमा कुनै स्वर्ग नाम को चिज छ भने त्यही हो जस्तो भान हुन्थ्यो तल्तिरको मुलबाटोमा बख्खुलाएका सेर्पिनीहरू सुगुरलाई चारो तथा पात्लेका पात र स्याउला भेला गरेर खाङ्रेभरी भरी बोकेर बजारतिर तेर्सीन्थे । भने बिर्खे टोपी लगाएका अधबैशे पुरुशहरू दाउरा काठ र सिबिलाई थाङ्रा बोकेर लर्किन्थे । भर्खर उठ्न थालेका चियाका बोट र नसिका बडेमान रुखहरू बिच पटक्कै तालमेल देखिँदैनथ्यो ।

उनी अर्कै जिल्लाकी थिइन पढ्नको लागि मात्र त्यहा आएकी । हामी होस्टलमा बस्थ्यौ ।

शनिबारको छुट्टीसँगै हामी त्यसै गरी घुम्न निस्किन्थ्यौ बेलगाम वायुपङ्खी भएर । म ती दिनहरू याद गर्छु जब घुम्न जाने बेलामा पानी पर्थ्यो – यदि मैले छाता बोकेको छु भने उनी आफ्नो छाता बिग्रिएको बहानामा बोक्दैनथिन र म पनि त्यसै गर्थेँ । एक दिन दुवै जनाले छाता बिग्रिएको अभिनय गर्दा ३ घण्टा असिन्धरे पानीमा भिजेको र ज्वरोले दुवै जना थलापरेको याद आउछ । ज्वरो निको भएर कलेज जाँदा दुवैको आँखा जुधेका थिए र दुवै जना हाँसेका थियौ उन्मुक्त भएर ।

हाम्रो पिरती त्यो जमानाको अब्बल थियो सायद ।

पुरानो पिढी पिरतीमा विश्वासै गर्दैनथे र नयाँ पिढी पिरतीलाई कामवासनामा दाँज्दथे ।यदी हाम्रा अविभावकले हामीलाई त्यस्तो अन्तर्जातीय सम्बन्ध छ भन्ने मात्र सुईको पाए हाम्रो तगारो बन्ने पक्का थियो र युवा साथीहरूले थाहा पाए कक्षाकोठामै ब्यईजती हुने पक्का थियो । पुरातनवादी निकृष्ट सोच बोकेर बसेको कालो समाज र नयाँ बिकृत सोच बोकेर निस्किएका युवा पिढि को फ्युजन थियो हाम्रो पिरती ।

हामी कक्षाकोठामा मौन हुन्थ्यौ मानौ हाम्रो एकापसमा चिनजान छैन ।

कसैले हामी माथि सँका गर्न सक्दैनथे । पढाई दुवैको सामान्य राम्रो थियो ।

दिन बित्दै गए समय घुमिरह्यो अबिराम ! पढाई पनि सकियो । दुवैजना भारी मन लिएर १२ को परिक्षाको अन्तिम दिन बिदा भयौ। उनलाई लिन उनका भाइ आएका थिए भाइलाई “मलाई धेरै सहयोग गर्ने मेरो साथी” भनेर मेरो परिचय दिइन । माथि पुगुन्जेल मैले हेरिरहेँ भाइ अगाडि थियो उनी जेब्रा झोला झुण्ड्याएरपछि पछि थिइन । घरि घरी फर्केर हेर्दै र भाइलाई छलेर मलाई हात हल्लाइरहेकी थिइन । उनी क्षितीजबाट बिलय भइन । कति बेला आशुले परेली नाग्यो मैले पनि पत्तो पाइन ।

गाउमा स्नातक पढाई हुने कलेज थिएन हाम्रो दोस्रो भेट दोस्रो यात्रा धनकुटटामा हुने सँझौता भएको थियो । तद्अनुरुप उच्चशिक्षाकालागि फेरि हाम्रो उतै समिकरण भयो ।

अब समाजबाट हामी टाढा थियौ । हामी दुई पङ्क्षीलाई उड्न कुनै सक्तिले रोक्दैनथ्यो ।

चुलिबनका सल्लाको सुसाइसँगै हामी घन्टौ भावबुक गफ गर्थ्यौ । हामी प्राय रमाइला गफ गर्दैनथ्यौ भविष्य को बारेमा गहिरो चिन्ता गर्थ्यौ । मेरो कोठामा उनी प्राय आउदैनथिन म कहिलेकाही उनको कोठामा जान्थेँ । दुईजनाको ठुलो फोटोफ्रेम सजिएको थियो दुवैजनाका कोठाको भित्तामा । हामी आधुनिक युग बाँचिरहेका युग्म भएपनि कतिपय कुरामा हामी कट्टर थियौ । सल्लेरीमा दिनदहाडै टङकिस गरिरहेका जोडीले हामीलाई आकर्षित गरेन कहिलयै । न त चुलिबनतिर देखिने अत्याधुनिक जोडीहरूले नै । कामुक भएर न कहिल्यै मैले उनको हात समाएँ न उनले कहिलयै अगालो मारीन । हामी बिचमा कामबासना थिएन ।

दिनहरू बित्दै गए ।

सारै गरिब जिन्दगी हुन्छ मानीशको विद्यार्थी अवस्थामा सीमित खर्चले आवश्यकता परिपुर्ती हुदैहुदैनन । खर्च व्यवस्थापन सबैभन्दा ठुलो चुनौती हुन्थ्यो मलाई ।

म आर्थिकरुपमा कँगाल हु जस्तै लाग्थ्यो त्यो बेला । उनको खुसीको लागि साना साना गिफ्ट किन्ने पैसा हुदैनथ्यो मसँग । उनका त बाबुले बिदेशबाट पैसा पठाइरहन्थे ।

उनी राम्री थिइन केटाहरूले आँखा लाउनुलाई म नराम्रो मान्दैनथेँ । त्यतिबेलासम्म पनि हाम्रो सम्बन्ध बारेमा कमैलाई थाहा थियो ।

—————————————————————————————————-

पहिलो सेमेष्टर सकिने बेलातिर अचानक हामी बिच मनमुटाब सुरु भयो मेरा साना साना कमजोरीहरूलाई उन्ले उपहास गरेजस्तो लाग्न थाल्यो मलाई ।

केटाहरू उनको बारेमा खुलेरै कुरा गर्दथे म पनि सँका को दृष्टिले हेर्न थालेँ ।

उनको नाम लिएर केटाहरू भल्गर सपना सुनाउथे । क्यान्टिनमा हो हल्ला गर्दै मेरै साथीहरू उनीसँग घुम्न गएको डिनर गरेको फिलिम हेरेका जस्ता कुरा गर्दा म चियाको गिलाश रित्तिदा पनि घोरिएर सुनी मात्र रहन्थेँ । केही सत्यता छ कि जस्तो पनि लाग्थ्यो ।

शनिबारको दिन थियो साथीहरू मिलेर तमोरमा र्याफ्टीङ जाने ।

योजना बनाएछन सबै जोडी जोडी जाने । मैले लिष्ट हेर्दै गए उनको जोडीमा मेरो नाम थिएन उनी अर्कै रुपेस भन्ने साथीको जोडी थिइन । मैले बिमति जनाएँ । तर त्यो लिष्टमा उनले साइन गरिसकेकी थिइन । अन्ततः म गइन ।

दरार बढ्दै गयो । उनलाई मेरै साथीहरूसँग हाँस्दै हिडिरहेको देख्दा म भक्कानिन्थे ।

सहिद दिबसको दिन छिन्ताङमाको सहिद पार्कमा बिशाल कार्यक्रम थियो । सबै जना जाने भयौ । हामी एउटै बसमा परियो उनको छेउको सिट खाली थियो म बस्न खोजेको उनले कोही मानिस भएको इसारा गरिन । त्यो मेरै आत्मीय साथी थियो । म बसबाट ओर्लिएँ र सरासर कोठामा गए उनका याद रुपी सारा ग्रिटिङ, गिफ्ट, नोट आदि सबै एउटा झोलामा राखेर उनको कोठामा गएँ र उनकै साथीलाई थमाएर मोबाईल अफ गरेर म गाउ गएँ । कलेज बिदा छ भनेर म १५ दिन जति गाउमै बसेँ । अन्तत ; हामी छुटियौ उनले मलाई सम्पर्क गर्न हजारौ कोसिस गरिन्, खबर पठाइन कलेजमा भेट्दा बोलाइन,”केही भन्नु छ” भनिन । म बोल्दै बोलिन सबै ईग्नोर गरेर हिडेँ उनको बारेमा कसैले केही सुनाउन लाग्यो भने म सट अप भनिदिन्थे सुन्नै सुन्दैनथेँ ।

र मैले कलेज सकिनासाथ गाउ गएर बिहे पनि गरेँ ।

उनी आजसम्म अविवाहित छन बिहे गर्दिन भन्छिन रे ।

मैले नबुझेको कुरा दोश कस्को थियो त ?

_______________

तोयानाथ पौडेल
हाल मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *