Skip to content

घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू

  • by


हिन्दूहरूको महान् पर्व बडादसैँमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठहरूमा पूजा-अर्चना गरिन्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि पनि अनेकौँ धार्मिक विश्वास एवं किंवदन्तीहरू जोडिएका छन् । घटस्थापनाको दिनदेखि सुरुवात गरिने मठमन्दिरको सङ्क्षिप्त परिचय –

श्री गुहृयश्वरीः-

काठमाडौँ उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ । यो स्थानमा सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा-आराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ । यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ भक्तजनहरूले कलश स्थापना गरी पूजा-आराधना गर्छन्

श्री जालपादेवी ः-

नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा यी देवीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको मानिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महìव रहेको छ । यहाँ घटस्थापनादेखि नै भक्तजनहरूको घुइँचो लाग्छ ।

श्री भैरवी ः-

काठमाडौँ जिल्लाको गोकर्ण क्षेत्रमा यस मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम विषकुम्भहरूले पूजा-आराधना गरेको मानिन्छ । बडादसैँको अवसरमा घटस्थापनादेखि नै श्रीभैरवीको विशेष पूजाआजा गरिन्छ ।

श्री दन्तकालीः-

यो मन्दिर सुनसरी जिल्लाको धरानमा रहेको छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । यस स्थानमा पनि बडादसैंको अवसरमा घटस्थापनादेखि नै विशेष पूजा-आराधना गरिन्छ ।

श्री छत्रेश्वरी ः-

सल्यान जिल्लाको छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अंग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइँदैन । यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो ।

कमलाक्षी ः-

सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ ।

श्री गलेश्वरी ः-

म्याग्दी जिल्लाको राहुघाटमा

कालीगण्डकीको किनारमा रहेको यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।

श्री ज्वालापादेवी ः-

यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा अवस्थित छ । यस स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको मानिन्छ ।

श्री वागेश्वरी ः-

बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो ।

यसबाहेक काठमाडौँ शोभा

भगवती दक्षिणकाली भद्रकाली नुवाकोटको भैरवी, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती आदि मन्दिरहरूमा पनि घटस्थापनादेखि नै भक्तजनहरूले देवीहरूका पूजा-आराधना गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *