Skip to content


पोतेको छु- पसिनाले यो माटोको कण-कण
भिजाएको छु- लछप्पै रगतले
अहोरात्र खटेर
बचाएको छु- मृत्युको मुखबाट
सिकाएको छु- जीवन बाँच्ने कला
जीवनको लय बिग्रेका मान्छेलाई
मजस्तै दीनहीन बेसहारालाई ।

सिंगो जिन्दगी सहर्ष दिएँ गाउँलाई
विवेकको मूल्य
श्रमको मूल्य
जीवन अस्तित्व
यति हो मैले मागेको ।

ओ मेरा प्रियजनहरू !
थाहा छ-
हुँदैन ढुंगाको मन र पग्लिँदैन
हुँदैन ढुंगाको देउता
र, छैन यसमा संवेदना ।

मात्र चिन्ता छ- यी अबोध लालाबालाको
मात्र चिन्ता छ- यो निरीह गाउँको
मात्र चिन्ता छ- यो कार्चोपी टोपीजस्तो देशको
थाहा छ मलाई
ढल्छ जुनै समय यो थकित देह
तेल निथ्रिएको बत्तीझैँ निभ्न सक्छ
म हारेँ यो निर्मम मृत्यु र गरिबीसँग
देशको सुन्दर चित्र कोर्दाकोर्दै
गाउँको अनुहार कुँद्दाकुँद्दै
रङ-रङका जीवनचित्र हेर्दाहेेर्दै ।

किन दुखिरहन्छ सरोगेट मदरजस्तो विद्रुप थिति ?
किन देखिरहेछु मात्र खरानी उडेको तुवाँलो दृश्य ?
किन दुखिरहेछु म ?
किन दुखिरहेछ क्यान्सर ?
जिन्दगीको भिख मागिरहेछु
बाँच्ने या मर्ने अधिकार देऊ- मलाई ।

अक्षम्य अपराध भयो मेरो
बसेँ- सीमान्तकृत दुर्गम गाउँमा
सायद भूल भयो
मलम लगाएँ- उत्पीडितहरूको घाउमा
यो गर्तमा टेकेर
तिरस्कृत तिरस्कारजस्तो
निष्प्राण कसरी बोलूँ
खोजिरहेछु यतिखेर
मात्र एक घुट्को जहर ।

म चित्रप्रसाद
अब छैन मसँग कुनै सपना
छैन कुनै विपना पनि
थाकेँ जिन्दगीको चित्र कोर्दाकोर्दै
र, बनाएँ लाचार मृत्युचित्र
सकिनँ- आँसु चाटेर बाँच्न ।

पूर्ण इन्फादा
नेपाल साप्ताहिक अंक: ६०५ | २०७१ श्रावण ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *