मूटूरोगी भएकै कारण मिसेज मलार्डलाई श्रीमानको मृत्युको खबर सावधानीपूर्वक सुनाइएको थियो।
बहिनी जोसेफिनले उसलाई शब्द-शब्दको आवरणमा केही सूचना गरेकी थिई। उसको श्रीमानको साथीले मृतकहरूको सूचीमा ब्रेन्ट्ली मलार्डको नाम पढेको र टेलिग्राम आएपछि मात्र मिसेज मलार्डलाई समाचार सुनाउने जिम्मा उसकै बहिनीलाई सुम्पिएको थियो।
उसले त्यो सत्यलाइ सुन्ने हिम्मत बिस्तारै जुटाई र फगत एकपटक बहिनीको काँधमा डाँको छोडेर रोई। जब त्यो पीडाको बज्र बिलीन भयो, ऊ आफ्नो कोठामा कसैलाई पस्न नदिई एक्लै गई।
खुल्ला झ्यालको सम्मुख आराम-कुर्चीमा शारीरिक थकान मेट्न बस्दा लाग्थ्यो थकानले उनको अन्तरआत्मासमेतलाई गाँजेको थियो।
ऊ देख्न सक्थी अगाडिको बिशाल चौक अनि वरपरका रूखहरूका हाँगाहरू सबै बसन्त ऋतुको नवजीवनले भरीएका थिए। मन्द बतास चलिरहेको थियो। सडकमा फुटपाथे व्यापारी भट्याउँदै थियो। टाढा कतै कसैले गाइरहेको गीतको मधुर ध्वनी गुञ्जीरहेथ्यो, अनि अनगिन्ती भँगेराहरू छानाको वरीपरी चिरबिर गरिरहेथे।
नीलो आकाश उसको पश्चिमपट्टीको झ्यालको वरीपरी थुप्रिएका बादलहरूबीच कता-कति लुकामारी खेलीरहेथे।
ऊ, गतिहीन, रूपमा टाउको आराम-कुर्चीको कुशनमा अड्याएर रूँदा रूँदै निदाएको बच्चा झैँ घुँक्क-घुँक्क गर्दै पल्टिरहेकी थिई।
ऊ एक यौवना थिई, गोरो शान्त मुहार भएकी, अनुहारमा कान्ति झल्कन्थ्यो। तर यतिखेर उसका आँखाहरू कता-कति लुकामारी खेल्दै गरेका नीला आकाशका टुक्राहरूलाई एकतमासले हेर्दै थिए। त्यो हेराई परावर्तनको हेराई थिएन त्यो त कुनै बुद्धिमत्तापूर्ण विचारको हेराई थियो।
लाग्थ्यो केही ऊ भएतिर आउँदैथियो र ऊ सायद त्यसैलाई पर्खीरहेकी थिई। के थियो त्यो? उसैलाई थाहा थिएन; त्यसको नामाङ्कन गर्नाको लागि पनि त्यो रहस्यमयी तथा मायावी थियो। तर ऊ त्यसलाई अनूभुत गर्दै थीई, आकाशबाट घर्सँदै, आवाज, गन्ध, रङ्ग वरीपरी छर्दै उसलाई भेटन आतुर।
अचानक उसको मूटूको धडकन बढ्न थाल्यो। उसले अब बुझी कि जे आउँदैथियो त्यसले उसलाई पूर्णरूपमा ग्रहण गर्न चाहन्थ्यो र ऊ त्यससँग उसको बाहुबल जस्तै कमजोर आफ्नै इच्छाशक्तिले भ्याएसम्म मुठभेड गर्न उद्दत भई। केहीबेरमै जब ऊ शिथील भई उसको श्वासबाट एकै शब्द पटक-पटक उच्चारीत भयोः “मुक्ती, मुक्ती, मुक्ती!” उसको उन्मुक्त एकटक हेराई अनि अनुहारमा देखिएको त्रास एकाएक हरायो। उसका आँखा तेज भए। उसको धडकन बिस्तारै बढ्यो, र पुरा शरीरमा जीवन सञ्चारीत भयो।
ऊ आफैँलाई सोध्न थाली के साँच्चै त्यो असिमीत खुशी थियो जुन उसमा यतिखेर प्रवाहित भएको थियो। एक प्रष्ट अनि उच्च मनोबलले उसले आँकलन गरी त्यो क्षण साधारण रत्तीभर थिएन। उसलाई थाहा थियो कि ऊ फेरी रूनेछे जब ऊ ती मायालु हातहरू मृत्युको पाशमा बाँधिएको देख्नेछे; त्यो अनुहार जसमा उसले स्नेह भन्दा अर्को कुनै भाव देखेकी थिईन अहिले फुस्रो र मृत हुनेछ। तर उसले आफ्नो अगाडिका वर्षौँवर्षसम्मका भोग्नुपर्ने अनेकन तीक्त क्षणहरूलाई प्रष्ट देखी र ती क्षणहरूलाई हाँसी-खुशी अँगाल्न ऊ तयार भई।
आगामी वर्षहरूमा उसँग कोही हुने छैन; ऊ आफैँ, नितान्त एक्ले बस्नेछे। अब कुनै दृढ इच्छाशक्तिले ऊ रत्तीभर डगमगाउने छैन न कसैमाथि आफ्नो व्यक्तिगत इच्छाशक्ति थोपर्नुपर्ने छ न कसैको इच्छाशक्तिले ऊ डगमगाउनेछे। एक दयालु या निष्ठुर चाहना उसको त्यस क्षणको चमकको अगाडि कुनै अपराध देखिन्थेन।
अनि अझ ऊ उसलाई माया गर्थी – कहिलेकाँही। कहिलेकाँही त गर्दीनथी। त्यसले के फरक पार्थ्यो र! माया, त्यो अपरिमीत रहस्यले, आत्मानुभुतीको निर्वाण प्राप्त उसलाई के नै गर्न सक्थ्यो र?
“मुक्त! शरीर र आत्मा मुक्त!” ऊ अझै गुन्गुनाउँदै थिई।
जोसेफीन बन्द ढोकाको अगाडि कि-होलबाट भित्र हेर्दै घुँडा मारेर भित्र जान अनुनय गर्दै बसेकी थीई। “लुइस, बिन्ती छ ढोका खोल – तिमी आफ्नो स्वास्थ्य बिगार्दै छौ। भगवानको लागि लुइस, ढोका खोल।”
“तिमी जाउ। म आफ्नो स्वास्थ्य बिगार्ने छैन।” हैन; ऊ त त्यो खुल्ला झ्यालबाट आईरहेको जीवनामृत पिउँदै जो थिई।
उसको कल्पना उसको अगाडि लडाबुडी खेल्दै थिए। बसन्त ऋतु, ग्रीष्म ऋतु, अनि सबै प्रकारका दिनहरू उसको आफ्नो हुनेछ। उसले एक श्वासमा आफ्नो लामो जीवनको कामना गरी। हिजोमात्र ऊ आफ्नो जीवन कतै लामो हुनेछ कि भन्ने भयले भित्र-भित्रै काँपेकी थिई।
उसकी बहिनीको धेरै बेरको आग्रह पछी उसले ढोका खोली। उसको आँखामा चञ्चल उत्साह तथा तेज थियो अनि ऊ नजानिदो रूपमा कुनै महायुद्ध विजय पश्चातकी देवी जस्तै अगाडि बढी। बहिनीको कम्मरमा हात राखी र भऱ्याङ ओर्लन थाली। रिचार्ड तल उनीहरूलाई नै पर्खी बसीरहेको थियो।
त्यतिबेला कोही जगेडा साँचोले मूल ढोका खोल्दै थियो। ऊ ब्रेन्टली मलार्ड नै थियो, यात्राबाट अलि थकित, ऊ आफ्नो झोला र छाता बोकेर भित्र छिऱ्यो। ऊ दुर्घटनाको दृश्यभन्दा टाढा थियो, अझ उसलाई दुर्घटनाको बारेमा थाहा पनि थिएन। ऊ अचम्भित जोसेफीनको अकस्मात तिब्र चित्कार; तथा उसकी श्रीमतीको दृष्टीबाट उसलाई ओझेल पार्ने रिचार्डको प्रयासलाई हेर्दै थियो।
डक्टरहरू जब आए उनीहरूले मृत शरीरको जाँच पश्चात यो निष्कर्ष निकाले कि उसको मृत्युको कारण थियो अत्यधिक खुशी जुन घातक हुन्छ।
मूल लेखक केट चोपिनको लघुकथा The Story of an Hour (1894) को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
First published : 2014-07-25 22:08:50 +0545

एकदेव भाइ कथाकाे अनुवाद
एकदेव भाइ कथाकाे अनुवाद कलालाइ हेर्दा अनुवाद गर्ने कला निकै खारिएकाे देखियाे । तर
जब डक्टरहरू आए उनीहरूले भने कि ऊ मूटूरोगको कारणले मरी – अत्याधिक खुशी जुन घातक हुन्छ।
याे नेपाली भाषाकाे वाक्यकाे प्याटर्न अनुसार गलत भयाे । यस्तो हुनु पर्छ ।्
डाक्टरहरु जब अाए उनीहरुकाे भनाइ के थियाे भने ऊ वास्तवमा राेगकाे कारणले मरी अत्यधिक खुसी जुन घातक हुन्छ ।
याे भन्दा पनि अझ राम्रो पार्न पनि सकिन्छ यस वाक्यलाइ ।
अत्याधिक शब्द गलत हो कदापि नलेख्नु होला । अत्यधिक मात्र हाे ।
तपाइँको साथी
धन्यवाद होम जी।
अाखिर यो
धन्यवाद होम जी।
अाखिर यो समूहमा तपाइँ नै हुनुहुन्छ जो कम से कम सबैका रचनाहरू पढेर दुइ शब्द भने पनि लेख्नु हुन्छ। कहिलेकाँही यसो सम्पादक ज्यु पनि झुल्किनुहुन्छ। यहाँको सुझाव शिरोपर गरेर परिमार्जन गरेको छु।
सुझावको लागि धन्यवाद।
उही तपाइँको भाइ
एकदेव
मलाई यति धेरै नफुर्क्याउनु
मलाई यति धेरै नफुर्क्याउनु होला ।
काल्पनिकता गजब छ । उल्था पनि
काल्पनिकता गजब छ । उल्था पनि स्तरीय लाग्यो ।
धन्यवाद सम्पादक ज्यु।
धन्यवाद सम्पादक ज्यु।